कसैको मायाले डोहो¥याउँदै कहाँसम्म ल्याइपु¥याउँछ, त्यसै भन्न सकिँदैन । नेपालको मायाले एक विदेशी नागरिकलाई करिब तीन दशकपछि नेपालसम्म दोहो¥यायो भन्दा अचम्म लाग्ला ! तीन दशकअघि पैदल हिँडेका गोरेटाहरु, तरेका खोल्सा अनि कटेका भञ्ज्याङहरु अझै ताजा छन् उनको मनसपटलमा । अटल हिमाल, हँसिला मुहार र मनमोहक प्रकृतिले उनी लोभिएका थिए । फेरि तिनै अनुभवहरु बटुल्न उनी दुईहप्ते अन्नपूर्ण पदयात्रामा निस्किएका थिए । बाटैमा भेटिएका उनीसँग बात मार्दै बाटो छोट्याउनुको मज्जा बेग्लै रह्यो ।
पुरानो पदमार्गलाई पछ्याउँदै लमजुङ छाडेर मनाङ प्रवेश गर्दा देखिने पहिलो गाउँ हो, ताल गाँउ । यो सुन्दर गाउँ देख्नासाथ ५१ वर्षीय इजरायली नागरिक ‘गाइ हालपरिन’ एकछिन सोचमग्न बन्छन् । २८ वर्षअघि आफ्नी प्रेमिकासँग अन्नपूर्ण फेरो पदयात्रा गर्दाको सम्झनाहरु एकाएक सम्झिन पुग्छन् अनि सुनाउँछन्,पदयात्रामा आएकी आफ्नी छोरी आएलेटलाई ।
‘त्यस समय अहिलेका जस्ता कंक्रिट होटलहरु थिएनन् । मात्र थिए, खरले छाएका ससाना छाप्राहरु । बेंसीशहरबाट सुरु भएको हाम्रो पदयात्राको चौथो दिनमा यही गाउँ आएर बास बसेका थियौं ।’
गाउँ पछाडिको झरना अनि गाउँ छेवैबाट बग्ने मस्र्याङ्दी नदी उस्तै लाग्यो उनलाई । मात्र बदलिएका थिए घरका संरचनाहरु । पहिला खरले छाएका र काठले बारेका स–साना होटलहरु हुन्थे । अहिले कंक्रिटले बनेका तलैतलाका होटलहरुले भरिएका थिए ।
इजरायली नागरिक हुन्,हालपरिन । इजरायलको नियम अनुसार १८ वर्षदेखि २१ वर्षसम्म उनी पनि सैन्य सेवामा आवद्ध भए । त्यसपछि थप २ वर्ष उनी सेनामै जागिर खाए । करिब ५ वर्षको कडा सैनिक शासनमा बस्नु चानचुने अनुभव थिएन । त्यसैले उनलाई पेशाको ह्याङओभर हटाउनु थियो । यता उनकी प्रेमिकाले पनि सैन्य सेवा सकाएर अन्य जागिरमा आवद्ध थिइन् । दुवैलाई केही लामो यात्रामा निस्कनु थियो । योजना फु¥यो, केही वर्ष सँगै देश विदेश घुम्ने ।
योजना त फु¥यो तर घुम्न जाने कता ? कुनै मेसो पाएनन् दुवैले । तिनताका न अहिलेका जस्ता स्मार्ट फोनहरु थिए न हरेक देश र त्यहाँका ठाउँहरुको जानकारी भरिने युट्युब र फेसबुकका भिडियोहरु । मात्र एउटा माध्यम थियो, किताबबाट जानकारी बटुल्ने । उनले ‘लोन्ली प्लानेट’को प्रसिद्ध पुस्तक पल्टाए । त्यसैमा पहिलोपल्ट नेपाल बारे पढे । यस अघि उनीहरु दुवै नेपालबारे अनविज्ञ थिए ।
नेपालको बारेमा धेरथोर जानकारी बटुलेपछि दुवैलाई हुटहुटी जाग्यो, पहिलो देश नेपाल घुम्ने । अनि आफ्नै आँखाले स्वर्ग हेर्ने । त्यसपछि उनीहरुको विश्व यात्राकै पहिलो गन्तव्य बन्यो – नेपाल ।
उनीहरु जहाजमा काठमाडौं आए । उतिबेला भर्खर अन्नपूर्ण फेरो पदयात्रा सुरु भएको थियो । उनीहरुलाई पनि काठमाडौंमा धेरैले यहीँ पदयात्रामा रम्न सुझाए । त्यसैले अर्को दिन उनीहरु सानो गाडीमा हानिएका थिए, राजधानीदेखि बेंसीशहर ।
‘उतिबेलाको सडक यात्रा अहिलेको भन्दा बढी चुनौतीपूर्ण तर एडभेन्चर थियो,’ उनी थप्छन्, ‘सडक नै बेंसीशहर आएर टुंगिएको थियो । बेंसीशहर वास्तवमा शहर थिएन, सानो गाउँजस्तो थियो । उतिबेला अहिलेका जस्ता कंक्रिट तलै तलाका सुविधासम्पन्न होटलहरु थिएनन् । स–साना खरले छाएका होटल र चिया पसलहरु मात्र थिए । शौचालय र बाथरुमको राम्रो प्रबन्ध कहाँ हुनु ? थरीथरीका परिकारहरु नभए पनि दालभात विशेष लाग्थ्यो । बे्रकफास्टमा भने सुक्का रोटी र तरकारी दिइन्थ्यो ।’
अहिलेका जस्तो मोटरको कालो धुवाँ र धुलो उतिबेला कहाँ देख्न पाउँथे र पर्यटकहरुले ? केवल देख्थे त सामानले भरिएका खच्चर र घोडाका लाम लस्कर । त्रिशुलीसँग भेट्ने हुटहुटीले बेतोडले बगिरहेकी मरस्याङ्दी, गनेर नसकिने लोभलाग्दा झरनाहरु र हेरेरै नसकिने अनगिन्ती चराचुरुङ्गीहरु, यी सब नियाल्दै अघि बढ्दा बाटो छोटिएको पत्तै हुन्थेन, उनी विगत सुनाउँछन् ।
मोबाइल फोनको जमाना थिएन तर उनले त्यतिबेला भने पुरानो क्यामरा साथमै बोकेर ल्याएका थिए । त्यसैमा २८ वर्ष अघिको नेपाल कैद गरेका थिए । ती तस्विरहरु अझै उनीसँग सुरक्षित छन् ।
२८ वर्षअघिका फोटाहरु मोबाइलमा हेर्छन्, त्यही ठाउँमा पुगेर उनी उही पोज दिएर फोटाहरु खिच्छन् । अनि तुलना गर्छन्, उहिले र अहिलेको नेपाल । मनाङ जिल्लाको प्रवेशद्धार अझै उस्तै रहेछ, फोटोमा प्रष्ट देखिन्छ ।प्रवेशद्धार उस्तै भएपनि बदलिएका थिए ठाउँहरु । मानिसहरुका रहनसहन, जनजीवन र जीवनपद्धतिमा धेरै परिवर्तनहरु भेटे उनले ।
यतिका वर्षमा पनि नबदलिएको नेपालीको आतिथ्यता, माया र हार्दिकता नै थियो । नेपालीको हँसिलो चेहरा, पाहुनालाई गर्ने स्वागत सत्कार र नेपाली मायामा उनले कुनै कमी भेटेनन् ।
सडक विस्तारले खुम्चिएको पदमार्गः
समय फेरियो । समयसँगै सबथोक फेरियो । गाउँहरु मोटरबाटाले जोडिए । अझ हरेक घरघरै आँगनैपिच्छे मोटर पु¥याउनै पर्ने हाम्रो मान्यता छ । डाँडाकाडा, भीर पाखा छिचोलेर आजको दिनमा मोटरहरु घरका आँगन टेकेका छन् ।
२८ वर्षअघि बेंसीशहरसम्म पुगेको मोटरबाटो आजको दिनमा मनाङको खाङसार पुगिसकेको छ । यो यतिमै रोकिने छाँटकाट छैन । मोटर बाटाहरु हिमाल ताक्दै छन् ।
उहिले उनले पदयात्रा गरेका भीरपाखा र जंगलको बाटोमा आजको दिनमा सडक बनेका छन् । पदयात्रा मौलायो । टि हाउस र होटलहरु थपिदै गए । उनीहरुकै थप सुविस्ताका लागि त्यहीँ सिँढीको पदमार्गलाई मासेर चाक्लो मोटर बाटो बनाएका छन् । पर्यटक हिँड्ने गोरेटोमा आजकल मोटर कुदिरहेका हुन्छन् ।
थकान मार्ने र भरियाले भारी बिसाउने ढुंगाले चिनेका चौताराहरु आजकल भेटिदैनन् । कतैकतै भेटिन्छन् त कंक्रिट विश्राम स्थलहरु । यी सब देख्दा भने उनलाई ननिको लाग्छ । पदमार्गले नै उकासेको यहाँको बस्तीले पदमार्ग नै माँसेर मोटर बाटो बनाएछन् । आजको दिनमा पर्यटकहरु सिधै पहिलो दिनमै मनाङको खाङसार पुगिदिन्छन् ।
२८ दिने पदयात्रा खुम्चिएर हप्ता दिनः
२८ वर्षअघि लमजुङको बेसीँशहरबाट सुरु भएको पदयात्रा चामे, पिसाङ, थोराङ्ला भञ्ज्याङ, मुस्ताङ, बेनीको तातोपानी हुँदै, घोरेपानी, उल्लेरी हुँदै नयाँपुलमा आएर २८ दिनमा उनले टुंगाएका थिए । अहिले भने उनले त्यहीँ पदयात्रा १२ दिनमा सिध्याए । यहीँबाट प्रष्ट छ, सडक विस्तारले अन्नपूर्ण पदयात्रा तीव्र गतिमा खुम्चिएको छ ।
अव्यवस्थित सडक विस्तार, वैकल्पिक पदमार्गको अभाव र लग्जरी ट्रेकको मोडालिटीलाई व्यङ्ग्य गर्दै उनी भन्छन्, ‘कुनै दिनमा स्कोरपियोमा सरर अन्नपूर्ण फेरो भनेर ट्राभल कम्पनीले ब्रान्डिङ गर्न बेर छैन । एकै रातमा अन्नपूर्णलाई फन्को मारेर शहर फर्कनेहरुलाई त्यो महिना दिने पदयात्राको अस्ली स्वाद के थाहा पाउँलान् ?’
नेपाली दिदीलाई भेट्ने त्यो हुटहुटी :
उनी र उनकी प्रेमिकाले २८ दिने पदयात्रा सिध्याएर पोखरा आइपुगेका थिए । उतिबेलाको पोखरा त फुच्चे पोखरा थियो, उनी विगतमा फर्कदै भन्छन्, ‘अहिलेका जस्ता गगनचुम्बी भवनहरु थिएनन् । सफा ताल, खुल्ला चौरहरु र खुल्ला हृदयका पोखरेलीहरु त्यसबेलाका विशेषता थिए । अहिले त बाटो मात्र हैन, मानिसका मानसिकता पनि साघुरिसकेछ, शहरलाई एक फन्को मार्दा थाहा मिल्छ ।’
भाइटीकाको दिन । उतिबेला नेपालमा न इन्टरनेट थियो न फोनकै सुविधा । त्यसैले घर परिवारलाई सन्चो विसन्चोको खबर पठाउन उनले चिठी लेखे । हुलाक टिकट खोज्नलाई अहिलेको लेकसाइडतिर पुगे । उनीहरु टक्क अडिए, एउटा सानो किराना पसल अगाडि । त्यहीँ भेटिए कृष्ण काफ्ले ।
कृष्णको निधारमा सप्तरंगी टीका, घाँटीमा मखमलको माला देख्दा उनका मनमा कौतुहलता जाग्यो । कृष्णलाई उनले टीका लगाउनुको कारण सोधे । कृष्णले वृत्तान्तमा भाइटीकाको बारेमा बताएपछि उनलाई पनि यो चाडमा रंगिन मन लाग्यो । कृष्णकी श्रीमती उमाले उनलाई टीका लगाइदिइन् । उनको नाम ओखर फोरिदिइन । अनि लगाइदिइन् घाँटीमा मखमलीको माला । त्यहीँ दिनदेखि दुवै दिदी भाइको सम्बन्धमा गाँसिए ।
उतिबेला अहिलेको जस्तो मोबाइल नम्बर वा इमेल आइडी साटासाट गर्ने प्रविधि थिएन । पोखराको बसाइँ सकेर दुवैजना घुम्नलाई बनारस पुगे । त्यहीँबाट विभिन्न देशहरु घुम्दै दुई वर्षमा उनीहरु इजरायल फर्केका थिए ।
उनै नेपाली दिदी र भिनाजु भेट्ने बुबाको पहिलैदेखिको सपना थियो, उनकी छोरी एलियट सुनाउँछिन्, ‘नेपाल देश भन्नेबित्तिकै उनै नेपाली दिदी र भिनाजुको कुरा सँगै जोडिएर आउने गथ्र्याे । नेपाल आउने सपना त पूरा भयो तर बुबाको त्यो सपना पूरा हुने हो कि हैन भन्ने डर भने मनमै थियो ।’
२८ वर्षमा सबथोक बदलिसकेको थियो । कहाँको त्यो फुच्चे लेकसाइड अनि कहाँको आजको गगनचुम्बी घरहरुको लेकसाइड । चलायमान शहरले कतिलाई बिदाई गरे त कतिलाई स्वागत । कतै उनै दिदी भिनाजु पनि बिदाइमा परे कि, लेकसाइडको एक क्याफेमा कफी पिउँदै उनी सोचमग्न थिए । केही प्रयास गर्दैमा उनीहरुसँग भेट भइ पो हाल्छ कि भनेर झिनो आशा बटुलेर दुवै गए लेकसाइडका गल्लीहरुमा ।
हाल्पेरिनलाई अझै त्यो ठाउँको धमिलो सम्झना बाँकी थियो । त्यसैले दुवै जना त्यही गल्लीमा गए । अनि सुरु भयो, दिदी भिनाजु खोज्ने उनीहरुको मिसन ।
उनले ठ्याक्कै ठाउँ ठम्याउन सकेनन् । छेउछाउका धेरै पसलहरुमा चहार्दा पनि कसैले कृष्ण र उमासँग पु¥याउन सकेनन् । अन्तिम पटक एक जना बुढाले कुरिरहेको पसलमा पुगे । मोबाइलमा २८ वर्ष अघिको उनै उमाको परिवारको फोटो देखाउँदा उनले चिनेजस्तै प्रतिक्रिया देखाए । अनि उनैले पु¥याइदिए, जहाँ उनी र उनकी प्रेमिका २८ वर्षअघि हुलाक टिकट खोज्दै पुगेका थिए ।
सानो किराना पसल आज ठूलो ट्रेकिङकै सामानहरु पाइने पसल बनेको रहेछ । त्यहीँ कृष्ण काफ्लेलाई भेट्दा र विगत सम्झाउँदा कृष्ण पनि खुसीले रमाए । पछाडि रहेको घरमा उनले उमा दिदीलाई पनि भेटे । दिदी भाइ २८ वर्षपछि फेरि भेट हुँदा दुवैले खुसी साँटे ।
मानव निर्मित शहर, देश वा महादेशको सिमानाले कहाँ मानवबीच जोडिने सम्बन्धको सिमानालाई तोड्न सक्छ र ? यी दुई दिदी भाईको पूर्नमिलनले सिंगो संसार घर रहेको पाठ सिकाउँछ ।
नेपाल त फर्की फर्की आउनेछुः
हाल्पेरिन अहिले उमेरले पचास कटे । तीन छोरा र एउटी छोरीका बुबा, उनले यो पाँच दशकको समयमा धेरै उतारचढावहरु बेहोरे । दुई वर्ष देशको सैन्य सेनामा निवृत्त भएका उनले कम्प्युटर इन्जिनियरिङदेखि घर निमार्ण कन्सट्रक्सनमा काम गरे । सानैदेखिको उनको रुचि भने कार्पेन्ट्रीमा थियो । त्यसैले सन् २००३ मा उनले आफ्नै फर्निचरको उद्योग खोले । २० जनाभन्दा बढी कामदारहरु जोडिएको उनको उद्योग उनको शहरको नामी उद्योग रहेछ ।
आफ्नै व्यवसायमा लागेका उनी फुर्सद मिलाएर घुम्न रुचाउँछन् । देश विदेश विचरण गरिरहने उनको आदत अनुसरण गर्न योग्य छ । दोस्रो पटक करिव एक महिना नेपाल घुम्दा पनि उनको त्यो नेपाल घुम्ने, हेर्ने र बुझ्ने प्यास भने अझै घटेका छैनन् । थपिएका छन् बरु । त्यसैले बाँकी प्यास मेटाउन उनी नेपाल आइ नै रहने बाचा राख्छन् ।
नेपालप्रतिको अगाढ माया, प्रेम अनि सद्भाव बोकेर नेपाल बारम्बार टेकिरहने उनीजस्ता सुभचिन्तन पाहुनाहरुलाई भने हामीले धेरै न्यान दिन सकेका छैनौँ । हिमालको काखमा स्वच्छ हावा र सुन्दरतामा डुबुल्की मार्न आएका उनीजस्ता प्रकृतिप्रेमीलाई पदयात्रा भर धुँवा र धुलो मात्र खुलायौं कि ? अव्यवस्थित सडक विस्तार र पदमार्ग विस्थापन, कमजोर फोहोर व्यवस्थापन प्रणाली र अनावश्यक होटल व्यवसायीबीचको प्रतिस्पर्धालाई सुधार गर्नु पर्ने देखिन्छ ।





