नवलपुर/ नवलपुरको कावासोतीका पशुमा ‘लम्पी स्किन’को संक्रमण देखा परेको छ । कावासोतीका किसानले पालेका केही पशुमा लम्पी स्किन रोग देखिन थालेको हो ।
सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण अहिले प्रकोपकै रूपमा फैलिएको कावासोती नगरपालिकाका पशु विकास अधिकृत डा. टेकराज पौडेलले जानकारी दिए ।
उनका अनुसार नगरका वडा नं. ७ , १३, १५ र १७ मा सङ्क्रमण देखापरेको छ । यकीन तथ्याङ्क नभएपनि फरक–फरक वडाका पशुपालक कृषकले गाईवस्तुमा रोगको लक्षण देखिएको गुनासा गरेपछि रोकथामका सुझाव–परामर्श र सामान्य औषधि निशुल्क उपलब्ध गराइएको पौडेलले बताए ।
पशुचौपायामा लम्पी स्कीन रोग देखा परेपछि किसान भने महामारीकै रुप लिने हो कि भनेर चिन्तित छन् । कावासोती १५ मा सुवेदी कृषि तथा गाई फर्म सञ्चालक गर्दै आएका कृषक रामप्रसाद सुवेदीले संक्रमणका कारण हुने क्षतिमा सरकारले कुनै उदारता देखाउन नसकेको गुनासो गरे ।
उनले कावासोतीका १७ वटै वडामा लम्पी भाइरसको संक्रमण फैलिएको दाबी गरेका छन् । आफ्नो गोठमा पालिएका पशुमा २ खालको लम्पी स्कीन देखिएको उनको अनुभव छ ।
एक प्रकारको लक्षण खुट्टाहरुरु सुन्निने त्यसपछि डावर, बिमिरा देखापर्ने, खाना नखाने प्रकृतिको छ भने अर्कोमा सुन्निने, डावर आउने लक्षण नभएको तर नाइटो सुन्निने त्यसपछि टुक्रा झर्ने र घाउ पर्ने लक्षण रहेको सुनाए ।
उनले नगरपालिकाको पशु शाखाले पोटास र चर्मिल दिनुबाहेक थप सेवामा चासो नदेखाउँदा कृषकले राहतको अनुभव गर्न नपाएको दुखेसो पोखे ।
संक्रमित पशु चौपायको ओसार पसार वा कृषक तथा पशु प्राविधिकहरु संक्रमित पशुको स्याहार–सुसार र उपचारका क्रममा सम्पर्कमा रहेपछि सरसफाईमा ध्यान नपु¥याइ अर्को पशुको सम्पर्कमा रहनु पनि संक्रमण फैलने माध्यम भएको डा. पौडेल बताउँछन् ।
उनका अनुसार लामखुट्टे, झिँगा, उपियाँ किर्नाले रोगी पशुलाई टोकेर निरोगी पशुलाई टोक्दा यो रोग सर्ने जोखिम उच्च हुन्छ । उनले गोठ वरपर किटनाशक विषादी छर्दै गोठको निर्मलीकरण गरेर संक्रमण फैलने दरलाई न्यूनीकरण गर्न सकिने सुझाएका छन् ।
उनका अनुसार लम्पी स्किन रोग नियन्त्रणका लागि ठोस उपचार र भ्याक्सिन विकास नभएकाले लक्षण अनुसार उपचार, सरसफाई र संक्रमित पशुलाई आईशोलेशन गर्नुपर्ने हुन्छ ।
लम्पी स्कीनको संक्रमणले पशुको शरीरका विभिन्न भाग तथा भित्री तहमा बिबिरा, गाँठागुठी देखिने, गिर्खा आउने, ज्वरो आउने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, सिँगान–र्याल आउने, खुट्टा सुन्निने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन कम हुने जस्ता लक्षण देखा पर्छन् ।
यो रोगले पशु मर्न पनि सक्छन् । तर, मृत्यु दर भने निकै कम हुने गर्छ । उनका अनुसार लम्पी स्कीनको संक्रमणले विस्तारै पशुमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँदा अन्य रोग लागेर पशु मर्न सक्ने बताए ।
संक्रमणका रुपमा फैलिएको लम्पी स्कीन नेपालमा पहिलोपटक २०७७ सालमा मोरङ र चितवनमा देखिएको थियो । यो संक्रमण नवलपुरको कावासोतीका पशुचौपायामा यसैवर्ष पहिलो पटक देखा परेको छ ।





