पोखरा / पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले २८ औं राष्ट्रिय वन्यजन्तु सप्ताहअन्तर्गत मंगलबार सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा विद्यालयले प्रभातफेरि र वक्तृत्वकला कार्यक्रम आयोजना गरेको छ ।
‘वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सह–अस्तित्व’ नारा यो वर्ष तय गरिएको छ । वैशाख १ देखि ७ गतेसम्मको अवधिलाई वन्यजन्तु सप्ताहको रुपमा मनाउने गरिएको छ । पोखरा–४ स्थित विद्यालय परिसरबाट निस्केको प्रभातफेरि सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै विद्यालयमा पुगेर टुंगिएको थियो । विद्यालयका कक्षा ११ का जीवविज्ञान समुहका विद्यार्थीको संयोजनमा भएको कार्यक्रममा ‘वन्यजन्तु संरक्षणका लागि मानव वर्गको साझेदारी’ शीर्षकमा वक्तृत्वकला आयोजना गरिएको थियो ।
१० जना प्रतियोगीले भाग लिएको वक्तृत्वकलामा प्रतिक ढकाल प्रथम, कविन्द्र आचार्य द्वितीय, सृष्टि सुनार र सिम्रन पण्डित तेश्रो भएका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । त्यस अवसरमा विद्यालयका जीवविज्ञान विषयका शिक्षक हेमन्त ढकालले वन्यजन्तु संरक्षणमा भइरहेका प्रयास र चूनौतीबारे प्रस्तुति राखेका थिए । मानवीय, प्राकृतिक लगायतका कारणले वन्यजन्तुमाथि जोखिम थपिएको उनको भनाइ छ ।
बेलैमा जोगाउने प्रयासमा नलाग्ने हो भने भविश्यमा हाम्रा सन्तानले कतिपय बन्यजन्तु देख्नै नपाउने र चित्रमा मात्र सीमित हुने अवस्था आउने उनले बताए । उनका अनुसार १७ हजार ९७ प्रजातिका वन्यजन्तु नेपालमा पाइन्छन ।
विद्यालयका प्राचार्य किरण सापकोटाले समुदायमा वन्यजन्तु संरक्षणबारे चेतना फैलाउन आवश्यक रहेको बताए । ‘वन्यजन्तुको महत्व प्रकृतिलाई कतिसम्म आवश्यक छ भन्ने जानकारी दिनका लागि पनि जरुरी छ । धेरै युवापुस्तालाई वन्यजन्तुको महत्व र प्रकृति संरक्षणबारे ज्ञान छैन,’ उनले भने, ‘वन्यजन्तु नोक्सान हुँदा त्यसको असर प्रकृतिमा कस्तो पर्छ भन्ने बुुझ्न जरुरी छ ।’ विद्यालयले आगामि वर्षदेखि यस्ता कार्यक्रमलाई नियमित रुपमा गर्दै जाने बताए ।





