पोखरा/ गण्डकी प्रदेश सरकारले घोषणा गरेको पुरस्कार रकमको प्रक्रिया अर्थ मन्त्रालयमा नै अड्किएको छ । गण्डकी प्रदेश यु–१९ क्रिकेट टोलीलाई दिने भनिएको रकम एक वर्ष बढी समय हुँदा समेत अझै दिइएको छैन् । गत वर्ष सम्पन्न प्रधानमन्त्री यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीको यु–१९ महिला टोलीले स्वर्ण पदक हासिल गरेका थिए ।
तत्कालीन अर्थमन्त्री रामजी बराल (जिवन) ले आवेशमा आएर खेलाडीलाई ५० हजार रुपैयाँका दरले रकम दिने प्रतिबद्धता गरेका थिए । गण्डकीमा खेलकुद मन्त्रालय सहित खेलकुद परिषद हुँदा हुँदै अर्थमन्त्रालयले नै खेलाडीलाई सम्मान गर्दै रकम प्रदान गर्ने बताएको थियो । उक्त सम्मान पश्चात अर्थमन्त्रालय र तत्कालिन खेलकुद मन्त्रालयबीच चिसोपन सिर्जना भएको थियो ।
तत्कालीन खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले खेलकुदको काम अर्थले गरेको भन्दै अनसन्तुष्टि समेत व्यक्त गरेका थिए । यद्यपि, रकम अर्थमन्त्रालयबाटै विनियोजित हुने हुँदा उनले उक्त कुरा भुलेका थिए । तर अर्थमन्त्री बरालले भने घोषणा गरेको रकम समेत दिन सकेनन् । उनले आफ्नो कार्यकालमा खेलकुद मन्त्रालयले प्रतिवेदन नबुझाएको कारण अड्किएको बताएका थिए । उता खेलकुद मन्त्री मनाङेले भने आफूहरुले खेलाडीको सम्पूर्ण प्रतिवेदन पेश गरिसकेको तर अर्थ मन्त्रालयले नै वेवास्ता गरेको बताएका थिए ।
खेलकुद र अर्थमन्त्रालय बीचको द्वन्द्वका कारण खेलाडीले घोषणा गरेको पुरस्कार रकम पाउन सकिरहेका छैनन् । यो बीचमा प्रदेश सरकारले क्रिकेटकै करण केसी, अर्जुन कुमाल, सुवाष भण्डारीलगायत गण्डकीका खेलाडीहरुलाई सम्मान समेत गरेको छ ।
तर, पनि पहिलाका खेलाडीहरुले भने रकम नपाएको गुनासो समेत पोखेका छन् । एक खेलाडीका अनुसार रकम बारे पटकपटक ताकेता गरेपनि अहिलेसम्म कुनै खबर नआएको सुनाइन् । उनका अनुसार प्रदेश सरकार झुटो रहेको छ । आफूहरुले सम्पर्क गर्दा विभिन्न बहानावाजीमा आलटाल गर्ने गरेको उनको भनाइ छ । ‘हामीलाई पनि त गाह्रो छ नि । सबै खेलाडी सम्पन्न छन भन्ने होइन् । त्यहाँबाट रकम आयो भने केही हुन्छ कि भन्ने आशा बोकेका थियौं तर केही भएन,’ उनले भनिन्, ‘अहिले बनेको सरकार पनि ढल्दै छ भन्छन् अब पनि नपाउने जस्तो देखियो । दिनुनै थिएन भने किन भन्नु परेको थियो ?’
उक्त विषमा सामाजिक विकास तथा खेलकुदमन्त्री पञ्चराम गुरुङले अर्थ मन्त्रालयमा पुनः फाइल पठाएको बताए । उनले खेलाडीलाई दिने भनि घोषणा गरेको रकम दिने बताए । उनका अनुसार सम्भवत उनकै पालामा उक्त रकम दिइने छ । ‘हामीले हालैमात्र यु –१९ विश्वकपमा पुगेको नेपाली क्रिकेट टोलीमा रहेका गण्डकी प्रदेशका चार जना खेलाडीलाई रकम सहित सम्मान गरेका छौं तर तपाईँले जुन भन्नुभयो, त्यो पहिलाको सरकारले गरेको कुरा हो,’ उनले भने,‘म भन्दा अघिल्लो सरकारले किन दिनुभएन, कसरी दिनुभएन मलाई थाहा छैन् । तर रकम नपाएको कुरा मलाई पछि जानकारी भइसकेपछि मैले सोमबार नै निर्णय गरेर पठाइसकेको छु,अर्थ मन्त्रालयमा । सम्भवत्ः मेरै हातबाट भाइबहिनीहरुलाई त्यो रकम दिनपाउछु होला यो हप्ता भित्र ।’ उनले यो हप्तामा नभए पनि अब आउने मन्त्रीले उक्त रकम प्रदान गर्ने बताए । कार्यान्वयन भइसकेको कारण उनीहरुले पाउने रकम अवश्य पाउने उनको भनाइ छ ।
अर्थ मन्त्रालयले १४ जना खेलाडीसहित प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक लगायत गरी कुल १९ जनालाई सम्मान गरेको थियो । उता खेलकुद मन्त्रालयले यस अघि समेत १९ जनालाई ५० हजारका दरले ९ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी लाग्ने भन्दै टिप्पणी पठाएको थियो ।





