तनहुँ / उपनिर्वाचन भइरहेका तनहुँ-१, चितवन-२ र बारा-२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान जारी छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान जारी रहेको छ ।
तनहुँ-१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । मतदान गराउन ७ सय ६० कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँमा ९ जना उम्मेदवार छन् ।
चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन-२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् ।
कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन-२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र पर्ने १० वटा वडाहरू छन् । ४३ स्थानमा १३८ मतदान केन्द्रहरू रहेका छन् ।
बारा-२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख सरोजकुमार चौधरीका अनुसार बारा- २ का सबै मतदान केन्द्रमा ७ बजेदेखि मतदान सुरू भएको छ ।





