बागलुङ / धौलागिरि अस्पतालले ३ वर्षअघि ४ जनासम्म गर्भवती/सुत्केरी बस्न मिल्ने ‘सुत्केरी प्रतीक्षा घर’ बनाएको थियो । उक्त घरमा तातो/चिसो पानी, एसीका साथै भान्साकोठा र शौचालयको व्यवस्था छ । तर भवन प्रयोगविहीन छ ।
एक महिनासम्म सदरमुकाममा डेरा लिएर सुत्केरी हुने समय कुर्दा मात्रै बडिगाड गाउँपालिका-८ की कल्पना श्रीसले अस्पतालभित्रै प्रतीक्षा घर छ भन्ने थाहा पाइनन् । यो घर सञ्चालन भएको भए उनी निःशुल्क बस्न पाउँथिन् ।
यो घरबारे थाहा नपाएर उनीजस्तै ग्रामीण महिलाले सुत्केरी हुन सदरमुकाम र बजार क्षेत्रमा डेरा लिएर बस्ने बाध्यता अझै छ । सेवाबारे जानकारी नहुँदा प्रतीक्षा घर खाली भएको अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. अमित ढुंगानाले बताए । ‘न हामीले अस्पतालको सेवाबारे जानकारी दिन सक्यौं, न सेवाग्राहीले आएर सोध्नुभयो,’ उनले भने, ‘अहिले सेवाग्राहीले डेरा लिएर सुत्केरी हुनुपरेको समाचारले हामीलाई सचेत बनायो ।’ उनले आवश्यक पर्नेले आएर बस्ने र सुत्केरी हुनका लागि कुर्ने वा सुत्केरीपछि आउने समस्याका बेला बस्न पाउने बताए ।
अस्पतालका कर्मचारीले आवास बनाएको भवनलाई ३ वर्षअघि १० लाख खर्चेर मर्मत गरेपछि सुत्केरी प्रतीक्षा घर बनाइएको थियो । अहिले पनि वार्षिक ३ लाख रुपैयाँ बजेट यो भवनमा बस्नेका लागि विनियोजित छ । तर तीन वर्षमा ४ जनाले मात्रै सेवा लिएका छन् ।
‘सुविधासम्पन्न भवन छ, तर हामीले प्रचार गर्न नसकेकै हो,’ अस्पतालकी वरिष्ठ नर्स निरीक्षक देवी भट्टराईले भनिन्, ‘सेवाग्राहीले पनि खोजी नगर्दा प्रयोगविहीन भएको हो ।’ यहाँ बस्दा खाने कुराको जोहो गर्न अप्ठ्यारो लागेर पनि कतिपयले डेरा र होटल खोज्ने गरेको उनले बताइन् । ‘सुत्केरी बस्दा आगोमा सेक्ने, सहयोगी राख्ने चलनले पनि अस्पतालमा आएर बस्न नमानेका हुन् कि !’ उनले भनिन् ।
अस्पतालले सूचना जारी गरेर प्रतीक्षा घरलाई सञ्चालनमा ल्याउन पहल गर्ने तयारी गरेको एनेस्थेसियोलोजिस्ट ढुंगानाको भनाइ छ । दुई वर्षदेखि बागलुङकै कतिपय स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्र तहमा पनि सुत्केरी प्रतीक्षा घर बनेका छन् ।
सरकारी तथा गैरसरकारी क्षेत्रबाट यस्ता घर बनेका हुन् । निसीखोला गाउँपालिका-३ को बोहोरागाउँमा ५ लाख ५५ हजार खर्चेर भवन बनाइएको छ भने बडिगाड-२ को खरवाङमा ४ लाख खर्चेर दुई बेडको भवन सञ्चालनमा ल्याइएको छ । ती भवनमा बस्दा शुल्क लाग्दैन । बरु समयमा उपचार पाउने र जटिल समस्या हुने भए गर्भ परीक्षण गरेर समयमा अस्पतालमा रेफर गर्ने व्यवस्था हुने गरेको छ ।
धौलागिरि अस्पतालमा गत पुसदेखि चैतसम्म स्त्रीरोग विशेषज्ञ थिएनन् । अहिले भने दुई स्थायी चिकित्सक आएपछि अस्पतालमा शल्यक्रियासहितको सुत्केरी सेवा बढेको छ । ‘डाक्टरको उपस्थितिले अपरेसन सेवा पनि बढी भएका छन्, अब यो भवन प्रयोग गर्ने क्रम बढ्न सक्छ,’ वरिष्ठ नर्स निरीक्षक भट्टराईले भनिन्, ‘राज्यका निःशुल्क सेवाबारे प्रचार नहुँदा सेवाग्राहीले धेरै रकम खर्चन बाध्य भएका हुन् ।’





