मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

हरायो शिव शिखर सहकारीको शिवत्व

हरायो शिव शिखर सहकारीको शिवत्व


  • माधव चापागाई
  • बैशाख १० २०८०, आइतबार

बागलुङका जनताले जीवनको सक्रिय उमेरमा दौडधुप गरेर बुढेसकालमा सुख र खुशी किनौंला भनेर राखेको पैसा गुम्ने निश्चित भएको छ ।

नेपालको सहकारी इतिहासमा नयाँ आयामसहित सञ्चालित बहुद्देश्यीय सहकारी संस्था शिव शिखर हो । यस संस्थाले देशका तीन दर्जन बढी शहरहरुमा आफ्नो शाखा विस्तार गरेको छ । सामाजिक परम्पराअनुरुप शिव भन्नाले हिन्दू धर्मावलम्बीका प्रसिद्ध देवता देवाधिदेव महादेव, मङ्गल, कल्याण, आनन्द र शिखर भन्नाले उच्च स्थान बुझिन्छ । शिवत्वले सत्व अर्थात् सात्विक कार्यद्वारा प्राप्त इज्जतलाई बुझाउँछ । यसरी हेर्दा उच्च स्थानमा आसिन माता पार्वतीका अनुग्रही देवाधिदेव महादेवको परिभाषा दिन सकिन्छ । उद्योगधन्दा कलकारखाना र उत्पादित वस्तुको नाम सहज र सर्वसाधारण जनताको परिचित राख्नु व्यवसाय र विज्ञापन दुवै कार्यका लागि अपरिहार्य र फाइदाजनक छ । यस सहकारीको नाम निर्धारणमा सञ्चालक पक्षले निकै बुद्धि पुर्याएर नामकरण गरेको महशुस हुन्छ । तर, सञ्चालकहरुको कमजोरीका कारण त्यही संस्थाको शिवत्व हरण भएको छ ।

मानमर्यादा, इज्जत, गुण वा धर्मलाई शिवत्व अर्थात् शक्ति सामर्थ्य भनिन्छ । हो सञ्चालक पक्षले त्यही शिवत्व जोगाउन नसक्दा संस्थाले अमरता प्राप्त गर्न नसक्ने भएको हो । वर्तमानमा जस्तो तहसनहस अवस्था भविष्यमा पनि रहेमा सर्वसाधारण जनताले दीर्घकालसम्म अथाह दुख पाउने छन् । किनकि बागलुङका जनताले जीवनको सक्रिय उमेरमा दौडधुप गरेर बुढेसकालमा सुख र खुशी किनौंला भनेर राखेको पैसा गुम्ने निश्चित भएको छ ।

शिव शिखर बहुद्देशीय सहकारी संस्था बागलुङ बजारमा २०७६ मङ्सिर २८ गते निकै तामझामसहित सञ्चालनमा आएको हो । सुविधा सम्पन्न भवनमा गार्डेन मार्ट खोलेर एउटै छानामुनी सम्पुर्ण वस्तु उपलब्ध गराउने कार्य सहकारीले गरेको थियो । बागलुङको सहकारी र व्यवसायिक इतिहासमा नवीन शैली लिएर व्यवसाय प्रारम्भ गरेको उक्त सहकारी अहिले सुनसान भएको छ । कुनै बेला हजारौंको संख्यामा ग्राहकहरु पाउने र लाखौं रुपैयाँ बचत संकलन गर्ने सहकारी घाटामा छ अरे भन्ने कुरा सर्वसाधारणले थाहा पाएपछि यो अवस्था सिर्जना भएको हो ।

शिव शिखर सहकारी संस्था विगतका वर्षदेखि नै नेपालमा नाम चलेको सहकारी हो । देशभरमा ३७ वटा शाखा विस्तार गरेर सेवा सुरु गरेको यस सहकारीले बागलुङमा करिब ४४ सय जना सेयर सदस्य बनाएको थियो । बागलुङ बजारमा रोजगारी र व्यवसाय गर्ने बागलुङ्गेली जनताको करिब ३८ करोड रुपैयाँ डिपोजिट रकम र डेढ करोड बढी सेयर सदस्यताबाट प्राप्त संकलित रकम लिएर सहकारी संस्थाका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सुशील बानियाँ र सिईओ दिलानाथ गौतम नै सम्पर्कविहिन बनेका छन् । प्रबन्धक विष्णु प्रसाद भुसालले पटक पटकको सम्पर्क र ताकेतापछि २/४ जना पीडितहरुलाई चेक दिएका छन् तर, खातामा पैसा नभएपछि चेक सटिएको छैन ।

बागलुङ बजारमा विगत ३÷४ महिना अघिबाट शिव शिखरले अस्तित्व गुमायो भन्ने हल्ला सुनिदै आएको थियो । अहिले आएर त्यो भनाइले सत्यता पाएको छ । सोझा साझा सर्वसाधारण जनता सहकारी संस्थाहरु कानुनी रुपमा परिपक्व हुन्छन् भन्नेमा विश्वस्त थिए तर त्यो बुझाई गलत सावित गर्दै बानियाँले करोडौं पोको पारेर बाटो तताएपछि जनता निराश भएका छन् । पैसा फिर्ता आउने त परैको कुरा अहिले सहकारीमा भएका सामानहरु समेत सकिएकाले बचतकर्तालाई हात लाग्यो शुन्य भएको छ । उता रित्तो बनेको सहकारी सुनसान छ । लाखौं, करोडौं गुमाएका मानिसहरू शुन्यतामा रहेको सहकारी भवन हेरेर टोलाएका छन् ।

कति सेयर सदस्य, बचतकर्ता र अन्य सुबिधासहित दोब्बर रकम पाउने आशामा आफूसंग भएको रकम सहकारीमा बुझाएका मानिसहरुको मथिङ्गलमा विचलन आएको छ । जस्का कारण कति मानिसहरुको घरमा कलह उत्पन्न भएको छ । कति डिप्रेसनमै गएका छन् भने कति आफन्त, इष्ट मित्रको रकम जम्मा गरेर सहकारीका असल ग्राहक बनेका मानिसहरु तिरस्कृत र एक्ला भएका छन् ।

बागलुङको सहकारीको इतिहास हेर्दा स्थानीय स्तरमा २/४ घरको अन्तरमा स्थापना भएका सहकारीलाई पछि पार्ने पुर्वाग्रह राखेर गार्डेन मार्टसहित यो सहकारी स्थापना भएको थियो । अरु भन्दा भिन्न विशेषता लिएर जनता सापेक्षित (१३/१४ देखि १७%) सम्म ब्याजदरको प्रलोभन देखाउँदै आएको सहकारीहरुको पनि राजा सहकारी शिव शिखर अहिले बागलुङका जनताको लागि अभिशाप भएको छ । ‘नयाँ जोगीले धेरै खरानी धस्छ’ भन्या झै यो सहकारीले जनतालाई चर्को ब्याज दिइने र समयावधि अनुरुप दोब्बर÷तेब्बर रकम दिने भन्दै आश्वासन बाँड्यो । एउटै छानामुनि सबै सामान सहज रूपमा पाइने भनेर जनताको मन जित्यो । समयानुरुप आफ्नो उद्देश्य परिपुर्ति गरेपछि कुनै सहकारीको पनि विश्वास नगर्ने गरि जनतालाई विचल्ली पार्यो । अहिले आफ्नो श्रीसम्पत्ति गुमाएका जनतालाई ‘लोभले लाभ लाभले विलाभ’ भन्या झै भएको छ । प्रायः विदेशबाट छोराछोरी, नातिनातिनाले कमाएर पठाएको रकम र धेरै जसो स्थानीय व्यवसायीको वर्षौंको कमाई सहकारीमा रोकिएको छ । सानोतिनो व्यापार व्यवसाय गरेर नेपालमै बस्ने मनसाय गरेका एक युवाको साथीले विदेशबाट लगानी गरिदिएको रकम समेत फस्यो । उनी अहिले कमाएर रमाउने त परै जाओस् साथीकै ऋण कसरी तिर्ने भनेर तनावमा छन् । छोराछोरी जन्मिदा मुख हेरेको, पुजाआजा र चाडवाडमा छोरीलाई टीका लगाएको र बुबाआमाको चौरासी पछिको दान दक्षिणाको बचत रकम समेत संचालकले लिएर हिंडेको पीडित बताउँछन् ।

तत्कालीन समयमा सर्वसाधारण जनताले स्थानीय स्तरमा स्थापना भएका सहकारी र राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंकहरुमा राखिएको पैसा समेत झिकेर उक्त सहकारीमा राखे । बागलुङका जनतालाई धेरै ब्याज, बोनस र अन्य स्किमहरुको जालो फ्याकेको शिव शिखरले छोटो समयमै जनतालाई आफ्नो बसमा पार्न सफल सहकारीले जनताको मन जित्नकै लागि साउनमा भक्तजनलाई चिया खुवाउने र अन्य सामाजिक काम गरेको अभिनय गर्यो । दिन दुई गुणा रात चौगुणा प्रतिफल पाइने भएपछि अत्यधिक महत्वाकांक्षी बनेका स्थानीयले सबै श्रीसम्पत्ति सहकारीको काखमा सुम्पिए । तर, अहिले सहकारीका सञ्चालक नै सम्पर्कविहिन भएपछि जनता घर न घाटका बनेका छन् ।

बागलुङबाट सेयर सदस्यता लिएका र पैसा डिपोजिट गरेका व्यवसायीहरुले यो सहकारीले हामीलाई ब्याजको प्रलोभन देखाएर ठगेको गुनासो गरेका छन् । उनीहरुले सहकारीविरुद्ध संघर्ष समिती नै बनाएर विरोधमा उत्रिएका छन् । आफुहरुले समस्या लिएर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र राष्ट्रिय सहकारी बैंकसम्म पुगेको तर कतैबाट पनि समस्या समाधानको पहल नभएको बताउँछन् । बा.न.पा २ शिवधारा चोकमा आफ्नै व्यवसाय संचालन गरेका पीडित एक युवाले सञ्चालक समितिलाई सुरक्षा दिन्छौं । समस्या समाधान गर्नुस्भन्दा समेत उनिहरु सम्पर्कमा नआएको बताउँछन् । अब हाम्रो समस्या कस्ले समाधान गर्छ ? उहाँ मात्रै होइन बागलुङ बजारमा बाहिर मेरो पैसा थियो भन्न नसकेका तर भित्रभित्रै दिनको भोक न रातको निद्रा भएका मानिसहरू धेरै छन् । हुन पनि अहिलेको यस्तो आर्थिक मन्दी र विषम परिस्थितिमा सर्वस्व गुमाएका मानिसहरु कसरी खुशी साथ बस्न सक्छन् ।

आफ्नो जीवनभरीको कमाई, साथीभाइ, इष्टमित्र र आफन्तहरुको रकम लगेर कम्पनीले दिएको तार्गेट पुर्याउन (Fix) डिपोजिट गर्न सुझाएका कर्मचारीको अहिले टाउको दुखाइ भएको छ । सञ्चालक र प्रबन्धकहरु नै सम्पर्कविहिन भएको यस्तो प्रतिकुल परिस्थितिमा आफुहरुलाई महिनौं दिनसम्मको तलब नदिदा समेत काम गर्नु परेको, सेवाग्राहीहरुको दैनिक जसो जम्मा हुने भिड र उनीहरुका समस्याको सामना गर्न कठिनाइ हुने गरेको उनीहरु बताउँछन् ।

जीवनभरको रगत र पसिनाको मुल्य लिएर सञ्चालक नै फरार भएपछि आत्तिएका जनता सहकारी डुब्यो रे ! भन्ने समाचारहरु आएपछी सहकारीहुँदै बागलुङ नगरपालिका र जिल्ला प्रशासनसम्म पुगे । ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्या झै बजार डुल्यो, व्यापारी भेट्यो, यो वा त्यो सहकारी भनौं छिमेकी सहकारीहरुमा पुग्यो, जहाँ जाँदा पनि उस्तै छ । सहकारी डुब्यो भनेर दुईतीन गुणासम्म महंगो मूल्य स्वीकार गरेर सामानहरु उठाएका मानिस सर्वत्र भेटिन्छन् । बागलुङ बाहेकका शहरमा यस्तो छैन भन्ने कर्मचारीहरुको भनाइले फरक प्रसङ्ग आँकलन हुन्छ । बजारमा यो सहकारीले मार्टमा भएका सामान बिकाउने उपयुक्त उपाय हो । अन्यथा यस्तो अवस्था किन आउँथ्यो । फागुनमा घाटामा गयो भनेर समाचारहरु आएपछि पनि सहकारीमा सामान थपिनुले अर्को शंका उत्पन्न गराएको छ ।

के यो सहकारीले सामान बेच्नकै लागि यो विषम परिस्थिति सिर्जना गरेको हो त ? यस्को जवाफ कस्ले दिन्छ ? सहकारी संस्थाहरुलाई आर्थिक समृद्धिका प्रमुख पाटा हुन् लगानी गर्नुस् भनेर भाषण गर्ने नेताकार्यकर्ताहरु मौन बसेका छन् । जस्को प्रेरणा पाएर सर्वसाधारणले सहकारीमा निक्षेप संकलन गरे, सेयर लगानी गरे, तिनै मानिसहरु अहिले सहकारीका कारण डिप्रेसनमा पुग्दा सम्झाउने कोही छैनन् । दैनिक जसो हजारौंको संख्यामा सेयर सदस्य र निक्षेपकर्ताहरु व्यापार व्यवसाय बन्द गरेर सहकारीको गेट कुरिरहँदा राष्ट्रिय सहकारी बैंक, नगरकार्यपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन, मजदुर युनियन, उद्योग वाणिज्य महासंघ, विभिन्न कर्मचारी युनियनहरु, राजनैतिक दल निकटका भातृ र विद्यार्थी संगठनहरु, विभिन्न व्यवसायका संगठनहरु, सरोकारवाला र सामाजिक अभियन्ताहरुले के हेरिरहेका छन् ? दुख पर्दा जनतालाई साथ दिने कोहि छैनन् यो देशमा ? के नेपाल सरकारले दोषीलाई कानुनको कठघरामा उभ्याउन सक्दैन ? हजारौं जनताले आँसु बगाइरहँदा आँसु पुच्ने को ? यहीँ देशमा बसेर यहीँ देशको नागरिकता लिएर, यहीँ देश र सरकारलाई राजस्व तिरेर के जनताले जनधनको सुरक्षा पाउदैनन् ?

सरोकारवालाहरु र सामाजिक अभियन्ताहरुलाई प्रश्न जनताको दुखमा रमिते बन्ने प्रवृत्ति कहिलेसम्म रहन्छ नेपालमा ? मैले नबुझेको कुरा के समाधान खोज्न र सबैको सहयोग पाउन एउटा न एउटा अप्रिय घटना नै आवश्यक हुन्छ ? के सरकारले सहकारी सञ्चालकलाई कानुनतः सजाय दिन सक्दैन ? के जनताले नेपालमा जनधनको सुरक्षा पाउदैनन् ? यदि पाउछन् र सरकारले म छु भन्ने सामर्थ्य राख्छ भने जनतालाई सुरक्षित अवतरण गराइयोस् । जस्ले यी दुखी जनताको मुहारमा एक झोक्का खुशी प्राप्त हुनेछ । जनता अझै पर्खिदै छन् । उनीहरुको आशाको डोरो सहकारी भवन अझै छ । खबर गरिएका सरकारी निकाय र प्रहरी प्रशासनले पनि पिडकलाई खोजतलास गरिरहेका छौं भनेका छन् भने प्रबन्धक भुसालले पनि माथी मिटिङ छ नआत्तिनु होस् तपाईंहरुको पैसा फिर्ता हुन्छ भनेका छन् । जस्ले गर्दा पीडित जनताको आशाको दियो बलिरहेको छ । अन्यथा सहकारीले अब कसैको पैसा दिदैन रे भन्ने थाहा पाएमा पीडितहरुका लागि त्यो नै अप्रिय समाचार हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->