सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सञ्जयले जिते एनसेल बाह्रखरी गल्फमा सुनको बल

सञ्जयले जिते एनसेल बाह्रखरी गल्फमा सुनको बल


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०८०, आइतबार

काठमाडौं/शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ छैटौँ संस्करणको उपाधि सञ्जय पौडेलले जितेका छन् । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको यस प्रतियोगिताको विजेताले सुनको बल पुरस्कार जितेका छन् ।

काठमाडौंको गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगिता १८ होल ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको थियो । विजेता सञ्जयले ४० अंक जोडेका थिए । १२ ह्याण्डीक्यापमा खेलेका सञ्जयले फ्रान्ट नाइन १९ अंक जोडेका थिए भने ब्याक नाइनमा २१ अंक जोडेका थिए ।

उपाधि जित्ने सञ्जय र टासी छिरिङले समान ४० अंक जोडेका थिए । जसमा सञ्जयले ब्याक नाइनमा जोडेको २१ अंकले टासिलाई उपाधिबाट पन्छाउन सफल भए । टासी छिरिङले ब्याक नाइनमा १८ अंकमात्र जोड्न सफल भएका थिए ।

यससँगै जिरो ह्याण्डीक्यापमा खेल्ने टासी छिरिङ ४० ग्रस अंक जोड्दै बेष्ट ग्रसको उपाधि जिते । टासीले मोष्ट बर्डीको उपाधि पनि जितेका छन् । टासीले ६ बर्डी प्रहार गरेका थिए ।

पुरुषतर्फ बाबु शेर्पाले दोस्रो स्थान हासिल गरे । बाबुले ३८ अंक जोडेका थिए । प्रतियोगितामा डा. भगवान कोइरालाले ३७ अंक जोडेर सिनियर (६० वर्षमाथि)तर्फको उपाधि जिते ।

महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । कश्मिरा शाह दोस्रो भइन् । कश्मिराले ३३ अंक जोडेकी थिइन् ।

क्लोजेष्ट टु द पिनको उपाधि राज प्रधानले जिते । दशौँ होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा ‘हुन्डे’ को ‘भेन्यू’ गाडी जित्न राज दुई इन्चले चुकेका थिए । लङ्गेष्ट ड्राइभको उपाधि दोर्जे होजाङसाङले जिते । उनले ३१० यार्डको ड्राइभ प्रहार गरेका थिए ।

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, पोखरा, बुटवल, नेपालगन्ज र केही विदेशीसहित ११४ ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ७ महिला र १०७ पुरुष गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
विजेता गल्फरलाई प्रधानसेनापति प्रभुराम शर्मा, गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध सम्पादक ज्ञानेश्वर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
सो समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले खेलको माध्यमले आर्थिक समृद्धि हासिलको बाटोमा रहेको भन्दै बाह्रखरीको प्रसंशा गरेका थिए ।

गल्फ खेल र यसका खेलाडीलाई देशको आर्थिक मुद्दामा सम्मिलित गराउने उद्देश्यसहित बाह्रखरी मिडियाले विगत ६ वर्षदेखी यस प्रतियोगिता आयोजना गर्दै आएको छ ।

‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम गर्नका लागि बाह्रखरीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डसँग सहकार्य गरेको गरेको थियो ।

त्यसैगरी, ग्लोबल आईएमई बैंक, सिभास रिगल, भाटभटेनी सुपरमार्केट, माछापुच्छ्रे बैंक, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस, बीएमडब्लू, प्रभु बैंक र फलानो लुगा (नेपालमै बन्या) प्रायोजक रहेका थिए ।

गत वर्ष प्रदेश १ को आर्थिक उत्थानमा केन्द्रित भई विराटनगरमा आर्थिक सम्मेलन, इटहरीमा युवा उद्यमी सम्मेलन तथा धरानमा गल्फ प्रतियोगिताको आयोजना गरिएको थियो ।

वि.सं २०७७ सालमा कोरोनाले आहत पारेको पोखराको पर्यटनको विकासका लागि गल्फ तथा पर्यटन थिम अन्तर्गत पोखरामा कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसअघिको वर्ष नेपालको नाम विश्वको पर्यटन नक्सामा प्रचार र प्रसार गर्ने उद्देश्यसहित सर्वोच्च शिखर सगरमाथासँगै रहेको कोङ्दे हिमालको कोङ्दे रि मा ४२५० मिटरको उचाईमा गल्फ आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->