नवलपुर/ देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले आजको शिक्षा र चेतनाले सन्तुष्ट हुन नसक्ने स्थिति बनेको बताए । वर्तमान राजनैतिक घटनाक्रम र नागरिकले खोजेका परिवर्तनका सवालमा यथास्थितिको सोचले नहुने धारणा राखे ।
मंगलबार सामुदायिक बिद्यालयका प्रधानाध्यापकको नियमित मासिक बैठक, गत शैक्षिक सत्रको समीक्षा तथा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमासम्बन्धी कार्यक्रममा नगर शिक्षा समितिका अध्यक्षसमेत रहेका नगर प्रमुख न्यौपानेले यस्तो बताएका हुन् ।
नगर प्रमुख न्यौपानेले आजको युगमा शिक्षा नै पहिलो आधार भएको बताएका छन् । उनले शिक्षा विना केही पनि सोच्न नसकिने बताएका हुन् । उनले शिक्षा अवसर र चुनौती दुवै रहेको जिकिर गरे । ‘ यसैले गर्दा शिक्षामा हामी कन्जुस्याइँ गर्नु हुँदैन र यो सँगै चुनौती छन्,’ उनले भने । धेरै चुनौतीका बावजुद पनि सम्बन्धित सरोकारवालाहरु पीडामा पिल्सिएको महसुुस गरेको उनले सुनाए ।
कतै विद्यार्थी धेरै पूर्वाधारको समस्या कतै पूर्वाधार खाली–खाली विद्यार्थीको संख्या न्यून रहेको असन्तुलित परिस्थिति रहेको उनको भनाइ थियो । उनले यस्तो स्थितिलाई सन्तुलन मिलाउन नगर शिक्षा समितिले कदम चाल्नुपर्ने बताए ।
नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बरचुली माविका प्रधानाध्यापक चन्द्रदेव तिवारी, नेपाल माविका प्रधानाध्यापक शिव देबकोटा लगायतले देवचुलीमा सामुदायिक विद्यालयको स्थिति, समस्या, सम्भावना र नगरपालिकाले खेल्नुपर्ने भूमिका र राख्नुपर्ने चासोका विषयमा एजेण्डासहितका वक्तव्य प्रस्ताव गरेका थिए ।
नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद शर्माले ससर्तको बजेटबाट देखाउने गरि उपलब्धि नभएपनि शिक्षक कर्मचारीको लगनशीलताका कारण अभावका बावजुत पनि शैक्षिक गुणस्तरको स्थिति उदाहरणीय रहेको बताए । उनले अड्कलेर आउने बजेटका कारण सधै अभावै–अभाव रहने गरेको स्वीकारे । उनले भने,‘न साधनले पुग्छ, न स्रोतले पुग्छ, शिक्षक अभावै देखिन्छ, यी जहिले पनि हुने कुराहरु हुन् । विद्यार्थी संख्या बढेको हुन्छ । घटेपनि विद्यालयले गर्ने क्रियाकलाप सबै गर्नुपर्ने हुन्छ ।’
नगर शिक्षा अधिकृत नन्दलाल ढकालको सञ्चालनमा भएको कार्यक्रम नियमित कार्यक्रमको छलफल, शैक्षिक सत्र २०८० का लागि शैक्षिक कार्ययोजना निर्माण र शैक्षिक गुणस्तर बिकासमा आगामी कार्यक्रमहरुको विशिष्टीकरण र योजना माग सहितका विविध शैक्षिक सरोकारसँग सम्बन्धित सन्दर्भमा छलफल र निर्णय भएको ढकालले बताए ।
देवचुलीमा गत शैक्षिक सत्रमा सामुदायिक विद्यालयतर्फ बाल विकास कक्षादेखि कक्षा १२ सम्म ११ हजार ९ सय ६२ विद्यार्थी रहेका शिक्षा शाखाको तथ्याङ्क छ । नगरभित्र १० वटा माध्यमिक विद्यालय र १८ वटा आधारभूत विद्यालय गरी २८ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका शिक्षा शाखाका प्राविधिक सहायक देवराज काफ्ले विवरण दिएका छन् ।





