
पोखरा/ गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिनेबारेमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबिच सोमबार सहमति भएपछि डेलिगेसन गएका गण्डकीका कांग्रेस सांसद मंगलबार ढुक्क भएर फर्किए । गण्डकीको नेतृत्व कुनै हालतमा पनि नछाड्न भन्दै दबाब दिन गएका कांग्रेसका सांसदहरुले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्न भनेका थिए ।
तर, यो उपधारा अनुसार सरकार गठन गर्दा लुम्बिनी प्रदेश गुम्ने भन्दै शिर्ष नेताहरुले उपधारा २ अनुसार नै सरकार बन्ने र कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीको आश्वासन दिएर फिर्ता पठाए । माओवादी र कांग्रेसको संयुक्त गठबन्धनबाट मुख्यमन्त्री बन्ने भन्दै पाण्डे मंगलबार नै पोखरा फर्किए । तर, उनले हालसम्म पनि माओवादीसँग संवाद गर्न सकेका छैनन ।
यता, गण्डकीको नेतृत्व कांग्रेसले पाउने भएपछि माओवादी संसदीय दलका नेता मंगलबार नै काठमाण्डौ लागे । काठमाण्डौ गएर पार्टी अध्यक्षसँग वार्ता गरेका चुमान बुधबार पोखरा फर्किएका छन । प्रचण्डले गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति नभएको बताएपछि चुमानमा आफै मुख्यमन्त्री बन्ने आशा अझै सकिएको छैन । सोहीकारण उनी कांग्रेससँग संवाद गरेका छैनन ।
अध्यक्ष प्रचण्डले उनलाई कुनै सहमति नभएको र बुधबार नै कांग्रेस सभापति देउवासँग भेट गरेर मुख्यमन्त्रीको निर्णय लिने बताएका छन । देउवासँगको भेटपछि हुने निर्णयको बारेमा फोनमार्फत जानकारी गराउने भनेपछि चुमान पोखरा छन र उनले अध्यक्ष प्रचण्डको फोन कुरिरहेका छन ।
‘अध्यक्षज्यूले गण्डकीको नेतृत्व कसले पाउने भन्नेबारेमा कुनै निर्णय भएको छैन भन्नुभयो । आज (बुधबार) नै कांग्रेस सभापति देउवासँग भेट्ने र त्यसपछि टुंगो लाग्छ भन्नुभयो । निर्णय भएपछि तपाईलाई फोन गर्छौँ भन्नुभएको छ,’ चुमानले भने ।
प्रचण्डको फोन कुरेर बसिरहेका चुमान पनि गण्डकीको मुख्यमन्त्रीका दाबेदार हुन । आलोपालोबाट सरकार चलाउने र सुरुमा माओवादीले नेतृत्व पाउनुपर्ने माओवादीको अडान छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहिबार दिनको ४ बजेसम्म सरकार गठनको लागि दलहरुलाई आह्वान गरेका छन । सरकार गठनको अन्तिम समयसीमासम्म पनि माओवादीले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयास गरिरहेको छ । त्यसका लागि माओवादीका प्रदेश कमिटी देखि केन्द्रीय पदाधिकारीसम्मले प्रचण्डसामु दबाब बढाइरहेका छन ।
चुमान मंगलबार काठमाडांै गएर प्रचण्डसँग भेट्नुलाई माओवादीकै नेताहरुले भने बार्गेनिङ रणनीतिको रुपमा बुझेका छन । ‘सके पहिलो नेतृत्व लिने अन्यथा आलोपालो गर्दा कति समय सरकार नेतृत्व गर्ने हो, स्पष्ट पार्न कै लागि भनेर चुमान काठमाडांै गएका हुन।’ माओवादीका एक केन्द्रीय सदस्यले भने ।
गण्डकी सरकारमा चुमान दुइपटक मन्त्री भइसकेका छन । सुरुमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको क्याबिनेटमा उनी आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । गुरुङ सरकार ढलेपछि माओवादीबाट अरु मन्त्री भए । दोश्रो पटक पनि प्रदेशसभामा नै चुनाव लडेका चुमान खगराज अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री भए । तर, तीन महिनामै अधिकारी नेतृत्वको सरकार ढलेको छ । यहाँ अब कांग्रेस र माओवादीको सरकार बन्नेछ । दुइदुई पटक मन्त्री भइसकेपछि मुख्यमन्त्री बन्नको लागि चुमानको दौडधुप तीव्र छ । तर, उनी पहिलो कार्यकालको मुख्यमन्त्री बन्न भने उनलाई सम्भव छैन ।
खगराज अधिकारी नेतृत्वको सरकार १६८ (२) अनुसार बनेको हुँदा यो सरकार ढलेपछि स्वतः संविधानको धारा १६८ (३) मा जाने र सबैभन्दा ठुलो दलको हिसाबले कांग्रेसबाट मुख्यमन्त्री बन्ने तर्क कांग्रेसका प्रदेशसभा सदस्यहरुको थियो ।
चुमानले भने यसमा फरक मत राख्दै आएका थिए । १६८ (२) अनुसार नै सरकार बन्न सम्भव भएसम्म उपधारा ३ मा नजाने उनको तर्क थियो । पुनः १६८ (२) अनुसार नै सरकार बनाउने र नेतृत्व आफूले गर्ने तीव्र इच्छा चुमानको छ । त्यसकै लागि उनी प्रधानमन्त्रीलाई भेटेरै आफ्ना कुरा राखेका छन । अब चुमानलाई एकमात्र आशा भनेको प्रचण्डले देउवालाई मनाउन सके आफू मुख्यमन्त्री बन्न सकिन्छ भन्ने छ । प्रचण्डकै फोन कुरिरहेका कारण कांग्रेससँगको संयुक्त बैठकमा पनि उनी उपस्थित भएका छैनन ।
कांग्रेसभित्र मन्त्री बन्न हानथाप
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले नै गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएपछि ढुक्क भएर कांग्रेसका सांसदहरुको दौडधुप पनि सकिएको छैन । प्रचण्ड र देउवाको सहमति अनुसार संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे त मुख्यमन्त्री बन्लान, तर मन्त्री बन्नेको होडबाजीका कारण कांग्रेसमा शिर्ष नेता गुहार्नेदेखि लिएर मन्त्री दोहोर्याउन नहुने सन्देश सांसदहरुले शिर्ष नेताहरु पुर्याएका छन ।
मन्त्री दोहोर्याउन नहुने सन्देश शिर्ष नेतालाई पुर्याउनुको अर्थ, ‘विन्दुकुमार थापा’ सँग जोडिन्छ । सभापतिसँग निकट सम्बन्ध रहेका थापालाई रोक्न सके आफू मन्त्री बन्न पाइने आशा यहाँका केही सांसदहरुलाई छ । त्यसकारण उनीहरुले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासामु ‘मन्त्री दोहोर्याउन नहुने’ सन्देश पुर्याइरहेका छन । खड्का पनि दोहोर्याएर मन्त्री बनाउन नहुने नीतिकै पक्षमा छन ।विन्दुकुमार थापा आफै संसदीय दलको नेताका आकांक्षी थिए । तर, शीर्ष नेतृत्वले नै सुरेन्द्रराज पाण्डेलाई सघाउन भनेपछि थापा ब्याक भएका थिए ।
कांग्रेसमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री र विन्दुकुमार थापा मन्त्री बन्ने निश्चित जस्तै थियो । तर, विन्दुकुमार थापा रहुञ्जेल आफूहरु मन्त्री बन्न नपाइने भय कास्कीबाटै निर्वाचित प्रदेश सांसदहरुलाई छ, त्यसकारण उनीहरुले थापालाई रोक्न उपसभापति खड्कालाई गुहारेका छन ।
‘म माथि चौतर्फी आक्रमण भइरहेको छ।’ थापाले भने ।
अघिल्लो निर्वाचनमा कास्कीमा कांग्रेसको बिउ जोगाइदिएको र अनुभवका आधारमा पनि आफू मन्त्री बन्नुपर्ने तर्क थापाको छ । थापा आउट भएको अवस्थामा कास्कीकै सरस्वती गुरुङ र प्रकाश बरालको सम्भावना बढेर जान्छ । खगराज अधिकारी नेतृत्वको सरकारले मन्त्रालयको संख्या १२ बाट घटाएर ७ मा झारेपछि पनि मन्त्री छान्न सकस नै हुने देखिएको छ ।
खगराज अधिकारी नेतृत्वको सरकारमा एमालेले मुख्यमन्त्रीसहित चार, माओवादी केन्द्रले २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ वटा मन्त्रालय पाएका थिए । माओवादीलाई अघिल्लै सरकारमा पाएको हिसाबले २ वटा मन्त्रालय दिने र राप्रपाको मन्त्रालय आफूले लिई मुख्यमन्त्री सहित पाँचवटा मन्त्रालय लिने कांग्रेसको रणनीति छ ।
तर, २७ जना सांसदबाट आफूबाहेक चारजना मन्त्री छान्न पाण्डेलाई पनि सकस नै पर्ने देखिन्छ ।
उसो त, यहाँको गठबन्धनमा स्वतन्त्रबाट निर्वाचित भई नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) को पनि इच्छा नभएको होइन । तर, मनाङेलाई मन्त्री बनाउन नहुने आवाज गठबन्धनकै दलका नेताहरुको छ । मन्त्रिपरिषद विस्तार गर्दा जातीय, लैंगिक र भेगीय सन्तुलन पनि मिलाउनुपर्ने हुन्छ ।
पाण्डे गोरखाका हुन । उनी मुख्यमन्त्री भए गोरखाबाट अन्य कांग्रेस सांसदहरुको मन्त्री बन्ने च्याप्टर क्लोज हुन्छ । लमजुङका डा. टकराज गुरुङ पनि मन्त्रीका बलियो दाबेदार हुन ।गुरुङलाई मन्त्री बनाउँदा एउटा समुदायको प्रतिनिधीत्व पनि हुनेहुँदा उनको सम्भावना बढि देखिन्छ ।
मन्त्रीको नाममा गुरुङ समुदायबाट कास्कीकै सरस्वती र पर्वतकी रेखा गुरुङ नाम पनि उत्तिकै चर्चामा छ । रेखा गुरुङलाई मन्त्री बनाउन मुस्ताङका पूर्व सांसद रोमी गौचनको जोडबल छ । संसदीय दलको चुनावका बेला रोमीले सुरेन्द्र पाण्डेलाई सघाएका थिए । त्यही गुन तिर्न पनि रेखालाई मन्त्री बनाउनुपर्ने दबाबमा हुनेछन, पाण्डे ।
स्याङ्जाकी सरस्वती तिवारीको दाबी पनि सशक्त छ । उनी पार्टी केन्द्रीय सदस्य पनि हुन । बागलुङकी चम्पादेवी खड्का संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत हुन । बागलुङकै दिपेन्द्रबहादुर थापा पनि उत्तिकै आकांक्षी हुन ।
शेखर गगन समूहबाट बागलुङका डिल्लीराम सुवेदीको मन्त्रीका लागि सशक्त दाबी छ । बागलुङकै जीत शेरचन पनि उत्तिकै दाबेदार हुन ।शेखर गगन समूहबाट संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेका स्याङजाका भोजराज अर्याल पनि मन्त्री बन्न लालायित छन । यही समुहबाट नवलपुरका महेन्द्रध्वज जिसीको पनि चर्चा छ । माओवादीबाट रेशम जुग्जालीलाई निरन्तरता दिने र हालकी प्रमुख सचेतक सुशिला सिम्खडालाई मन्त्री बनाउने चर्चा छ ।





