शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनी सामुदायिक विद्यालयमा भर्ना हुनेको लर्को

बेनी सामुदायिक विद्यालयमा भर्ना हुनेको लर्को

एक सय जनाको कोटामा ३ सयभन्दा बढीको आवेदन ।


  • हरिकृष्ण गौतम
  • बैशाख १४ २०८०, बिहिबार

म्याग्दी/जिल्लाका अधिकांस सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ । नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कमी हुँदा गाभिने वा बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालय समेत भेटिन्छन् । तर, म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यामिक विद्यालयमा हरेक बर्ष भर्ना हुन आउनेको लर्को लाग्ने गरेको छ ।

सहरदेखि गाउँमा रहेका निजी छोडेर आएका विद्यार्थीले मङ्लबार विद्यालयले लिएको प्रवेश परीक्षामा सहभागी भए । एक सातासम्म विद्यालयले जारी गरेको भर्ना आवेदन फारममा विद्यार्थीले बायोडाटासहितको विवरण बुझाएर प्रवेश परिक्षामा सहभागि भएका थिए । कक्षा कोठामा परिक्षा दिइरहेका विद्यार्थीका अभिभावक विद्यालय परिसर तथा आसपासका क्षेत्रमा खचाखच देखिन्थे । वार्षिक परीक्षा सकेपछि विद्यालयमा भर्ना हुन नियमित तयारी कक्षामा समेत सहभागी भएर आएका विद्यार्थीको तयारी समेत बार्षिक परिक्षा भन्दा कम थिएन ।

भौतिक संरचना र मानवीय जनशक्तिको अभावले १ देखि ९ कक्षासम्म क्षमता अनुसार १ सय विद्यार्थीलाई भर्ना लिन गरिएको परिक्षामा ३ सय जना विद्यार्थीको सहभागिता रहेकोे थियो । ‘सामुदायिकभन्दा संस्थागतबाट धेरै विद्यार्थी आएका छन्,भौतिक संरचना भए वार्षिक रुपमा हामीले धेरै विद्यार्थी भर्ना गर्न सक्छौ,’ प्रधानध्यापक दिपक श्रेष्ठले भने ।

उनले प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीका अभिभावकलाई समेत कमजोर पक्षका बारेमा जानकारी गराउने र आवश्यकता परेमा छोराछोरीको उत्तरपुस्तिका समेत देखाएर सुधारका लागि अनुरोध गर्ने गरेको बताए । भौतिक संरचना, शिक्षक दरबन्दीको अभाव लगाएतका कारण आवेदन दिएका सबै विद्यार्थीलाई भर्ना गर्न असर्मथ रहेको बताए । ‘यो रहर नभई बाध्यता हो,पर्याप्त संरचना र जनशक्ति भए ठुलो संख्यामा विद्यार्थी भर्ना लिन सकिन्छ,’श्रेष्ठले भने । विगत एकदशकदेखि विद्यालयले प्रवेश परीक्षा लिने गरेको छ । विद्यालयले अपाङ्ग, विपन्न परिवार,द्वन्द्वपीडितलाई कोटा समेत छुट्टाएको छ ।

जिल्लामा निजी विद्यालयसंग प्रतिस्पर्धा गरिरहेको विद्यालयमा निजी विद्यालयका शिक्षकले समेत आफ्ना छोराछोरी तथा आफन्तलाई सिफारिस सहित विद्यालयमा पुगेका थिए । सामुदायिकमा अंग्रेजी माध्यममा राम्रो पढाई हुन थालेपछि महँगो शुल्क तिरेर पढाउन बाध्यता नभएको पर्वतको जलजला गाउँपालिका वडा नं ४ लुङ्दीकी प्रमिला सुबेदीले बताइन् ।

‘यो प्रतिस्पर्धाबाट छनौट भएमा यही पढाउँछौ,‘धेरै विद्यार्थीको रोजाइमा परेपछि यो अभ्यास गुणस्तरीय शिक्षाका लागि राम्रो लाग्यो’ अर्का अभिभावक बेनी गणेशटोलका हरी खत्रीले भने । बेनी नगरपालिका–२ खबराकी कुन्ती क्षत्रीले सामुदायिक भित्रको वातावरण देखेर आएको बताईन् । उनले प्रवेश परीक्षाका लागि निरन्तर अतिरिक्त तयारी समेत गरेर ल्याएको बताईन् । भारतको पञ्जाव राज्यमा अध्ययनरत भावना नेपाली कक्षा ८ को प्रवेश परीक्षामा सहभागी हुने समेत विद्यालयमा आएकी थिइन् । उनलाई बैदेशिक रोजगारीमा भारतमा पु्गेका बुबा बलबहादुर नेपालीले सामुदायिक विद्यालयको पढाई उत्कृष्ट रहेकाले यसपटक बेनी सामुदायिकमा ल्याएको विद्यार्थी नेपालीको भनाइ छ ।

जिल्लाका सबै स्थानीय तह र छिमेकी पर्वत जिल्लाबाट समेत निजी तथा सामुदायिकका विद्यार्थी भर्नाका लागि आएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सम्मरबहादुर थापाले बताए । नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि हालसम्म देशभरका १ सय ४७ विद्यालयले भ्रमण गरेको छन् । जिल्लामा नजिता, भौतिक पूर्वाधार, शैक्षिक वातावरण, अनुभवी शिक्षक,डिजिटल कक्षा, अभिभावककै उपस्थितीमा उत्तरपुस्तिका निरिक्षण लगाएत गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने सबै मापदण्ड रहेकाले पनि अभिभावको रोजाईमा परेको छ ।

विद्यार्थीको निगरानीमा सिसी क्यामेरा जडान सहित आधारभुत तह देखी माविसम्म कक्षागत अभिभावक निगरानी समिति बनाएपछि दैनिक छोराछोरीको कमिकमजोरी, शैक्षिक गतिविधि लगाएतका बारेमा बुझ्ने ब्यवस्था गरिएको छ । कक्षागत अभिभावक अनुगमन समितिको संयोजकमा अभिभावको तर्फबाट आलोपालो सहित शैक्षिक गुणस्तर बढाउन विभिन्न कार्ययोजना बनाउने गरिएको बताउँदै भौतिक पूर्वाधार र जनशक्ती भए २ हजार विद्यार्थीलाई भर्ना लिन सकिने विद्यालयले जनाएको छ ।
बेनी सामुदायिक माविमा भर्ना हुन आउने विद्यार्थीको संख्या अत्याधिक भएपछि लिइएको प्रवेश परीक्षा ।
तस्वीर हरिकृष्ण गौतम

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->