म्याग्दी/म्याग्दी बेनी नगरपालिका–९, घतानका ६ वर्षीय निमेश खड्कालाई मनिषा सुवेदी खड्काले विदेशमा धन कमाउन आएको भन्दै बेला–बेलामा फोन गर्छिन् । छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै भेट्न आउने भन्दै फोन गर्ने उनी कर्तव्यज्यान मुद्दामा जेल सजाय भोगिरहेकी छन् ।
श्रीमान उत्तम खड्कासँगै मिलेर आफन्तको मनशायपूर्वक हत्या गरिएको भन्दै जिल्ला अदालत म्याग्दीले दोषी ठहर गरेपछि उनको जेल जीवन सुरु भएको हो । जेल जिवन बिताइरहेकी मनिषाले छोरालाई वैदेशिक रोजगारीबाट १० वर्षपछि मात्रै आउने बताउने गरेकी छन् । मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम उच्च अदालत पोखरा, बागलुङ इजलाशले तोकेको सजाय भुक्तान गरी जेलबाट छुट्ने समयलाई उनले विदेशबाट फर्किने जानकारी छोरालाई दिएकी छन् ।
आमा–छोराको मीठो खाने, राम्रो लगाउने अनि धेरै पढ्ने भलाकुसारी हुन्छ । निमेशको बुबाको जेलभित्रै मृत्यु भएको छ । आमाबाबुले गरेको गल्तीको सजाय निमेशले पनि केहीसमय जेलभित्रै बसेर विताएका थिए । बेनीस्थित शिखर होटलका सञ्चालक कृष्णप्रसाद बरुवालले अस्थायी संरक्षण गरेका निमेशले बेलाबेलामा आमासँग बोल्न खोजेपछि कारागार प्रशासनलाई जानकारी गराउने गरिन्छ ।
‘आमाछोराको कुराकानी हुन्छ, छोरालाई विदेशमा गएको भन्दै आमाको फोन आउँदा भाबुक हुन्छु,’ होटल शिखरका सञ्चालक बरुवालले भने । उनले जिल्ला अदालतको सजाय भुक्तान गरी छुटेपछि मनिषाले आफ्नै होटलमा काम गर्ने गरेको अवस्थामा उच्च अदालत पोेखरा, बागलुङ इजलाशले थप सजाय तोकेपछि जेल जीवत बिताइरहेको बताए । आमालाई प्रहरीले नियन्त्रणमा लिँदा निमेश समता विद्यालयमा पढ्न गएका थिए । तोते बोल्न सिक्ने उमेरमा निमेश बेसहारा जस्तै भएका छन् ।
‘पढाई राम्रो छ, पढ्न मात्रै खोज्छ, आमा जेलमा परेपछि रेखदेख गर्ने मान्छे घरमा नहुँदा होटलमै राखेको छु ।’ बरुवालले भने । विभिन्न दाताहरूको सहयोगसँगै शिक्षादीक्षाको वातावरण बनाउन जेलभित्रै रहेकी निमेशकी आमाले याचना गरेकी छन् । आफू जेल परेपछि छोराको बिचल्ली भएकाले पालनपोषण कुनै संस्था वा दाताले गरिदिए ठूलो गुन हुने बताइन् ।
‘छोरालाई बाँच्न र पढ्न सघाउनुहोला, जेलबाट छुटेपछि जीवनभर तपाईको सेवा गर्नेछु,’ उनले भनिन् । यता बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले आमाबुबाको अपराधको सजाय छोराले भोग्न नहुने भन्दै वडाले संरक्षण गरी सहयोग जुटाउने बताए। उनले निमेशको नाममा माछापुच्छे« बैकमा खाता खोलिएकाले सोही खातामा सहयोग जुटाएर लालनपालन र उच्च शिक्षासम्मको पढाई पूरा गर्ने बताए ।





