पोखरा / नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले पोखरा र गण्डकी प्रदेशको अर्थतन्त्र उकास्न सहयोग गर्ने बताएका छन् ।
गण्डकी प्रदेश भ्रमणका क्रममा शुक्रबार पोखरामा पत्रकारसँगको अन्तरक्रियामा उनले कोभिड महामारीपछि थलिएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न सम्भावनाको खोजी गर्ने बताए ।
नले शुक्रबार पोखरा उद्योग वाणिज्य संघ, होटल संघ पोखरा नेपाल, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
व्यवसायीसँगको भेटमा कोभिडपछि यी क्षेत्रमा नयाँ रोजगारीको अवसर सिर्जनामा चुनौती रहेको र व्यवसायीलाई आवश्यक दक्ष जनशक्तिको पनि अभाव रहेको जानकारी आफूले पाएको उनले बताए ।
‘यहाँबाट फर्किएपछि यस क्षेत्रको आर्थिक वृद्धि, संस्कृतिको प्रवर्द्धन, प्रकृति संरक्षणमा प्रत्यक्ष कसरी सहयोग गर्न सक्छौं भन्नेमा विमर्श थाल्छौं,’ उनले भने ।
अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी अगस्टबाट कार्यान्वयनमा गएसँगै १० हजारले प्रत्यक्ष र हजारौंले अप्रत्यक्ष रोजगारी पाउने उनको भनाइ थियो ।
‘तीन सय मिलियन डलर बराबरको बोलपत्र आह्वान भइसकेको छ,’ उनले भने, ‘जमिन प्राप्ति र केही प्रशासनिक काम सकिएपछि निर्माण कार्य सुरु हुन्छ ।’





