मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

जर्नी फ्रम तिब्बत टु ढोरपाटन

जर्नी फ्रम तिब्बत टु ढोरपाटन


  • दिवस गुरुङ
  • बैशाख १८ २०८०, सोमबार

ढोरपाटन यात्रा अविस्मरणीय रह्यो । अरुबाट सुनेको र आफैले देखेको ढोरपाटन आकाश पातलको भिन्नता अनुभूति हुँदै थियो । ढोर केवल फाँट मात्र रहेनछ, यहाँ रंगीचंगी फूलहरुसँगै विभिन्न कथाहरु साथमै फुल्दा रहेछन् । मलाई ती कथाका रंगहरुमा रंगिन मन थियो ।

ढोरपाटन शिकार आरक्ष हेटक्वाटरबाट पूर्वतिरको गाउँ हो पाखाथर । बिहानै त्यता घुम्न निस्किए । त्यहाँ तिब्बतीहरुको ठुलै बस्ती नै रहेछ, देखिएका घरहरु हेरेर अड्कल लगाए तर प्राय घरहरु खालि खालि थिए । कति घरका पर्खाल भत्किएका थिए, त कतिका दलिन मक्किएर भाच्चिएर घर कुप्रो परेका थिए । जंगल परेको बस्तीबाट अनुमान गर्न सकिन्थ्यो, गाउँ रित्तिएको वर्षौ भएको थियो । केही घरबाट भने अझै धँुवाको मुस्लो माथि आकाशतिर उडिरहेको थियो । म त्यहीँ धुवालाई पछ्याउँदै अघि लागे ।

जस्ताले छाएको पुरानो घर । तगारो उघारेर म भित्र पसेँ । एक जना तिब्बती आमाले तिब्बती चिया (प्रो च्या) ले स्वागत गरिन् । म चिया पिउँदै उनीसँग गफिन थाले । एकैछिनमा खेतबाट बा पनि आए । उनको नाम रहेछ थोम्बा लामा । बात मार्दै गर्दा थाहा भयो उनीहरु त तिब्बतबाट आएका रहेछन्, ६० वर्ष अघि । उनी कान कम सुन्थे । त्यसैले धीतमरुन्जेल तिब्बतदेखि ढोरपाटनसम्मको लामो इतिहास सुन्न पाइन । त्यसैले मलाई उनीजस्तै तिब्बतबाटै ढोरसम्म आएका मान्छेसँग भेट्नु थियो । गाउँ एक फन्को लगाए तर सपना पूरा भएन । तिब्बतबाटै आएका मध्ये धेरै त बितिसकेछन् । बाँकी कति बुर्तिबाङ त कति बुटवल झरिसकेछन् दसैं मनाउन । म उनीहरुको कथा नसुनी पोखरा फर्कने मुडमा थिइन । मेरो प्यास मेटाउन एउटै विकल्प थियो, छ्यान्टुङ गुम्बा पुग्ने ।

वर्षा अझै रोकिएको थिएन । तर लम्किरहेका पाइलाहरुलाई वर्षाले कहाँ रोक्न सक्छन् र ? गुम्बासम्म पुगिने बाटो कतै खोलाले बगाएको थियो त कतै बाटाको नामोनिशान भेटिन मुस्किल पथ्र्यो तर म जसोतसो बाटो पैलाउदै अघि बढँे । करिब दुई घण्टाको पैदल यात्रामा मेरा पैतालाहरुले मलाई गुम्बा नजिकैको गाउँ पु¥यायो । मलाई भेट्नु थियो, यहाँकै एक पाका व्यक्ति । उनी थिए ७२ वर्षीय वान दु छिरिङ । चिसो अत्याधिक बढेको थियो । उनी मस्त सुतिरहेका थिए कोठामा । म आएको चाल पाएपछि उनकी श्रीमतीले उनलाई ब्यँुझाइदिए । अनि चियाको चुस्कीसँग हामी गफिन थाल्यौं ।

युद्धले निम्त्याएको त्यो प्रलय :

सन् १९४९ बाट सुरु भएको चीन तिब्बतको युद्ध समयसँगै झन् चर्कियो । चिनियाँ सैनिकहरु तिब्बतका गाउँगाउँ पसेका थिए । उनी जन्मिएको टेवा गाउँ दक्षिणी तिब्बतमा पर्दथ्यो । मध्य तिब्बतमा चिनिया सेनाहरुको बिगबिगी व्यापक भएपछि त्यहाँका स्थानीयहरु पनि भयवित बने ।

साठी देखि सत्तरी घरथुरीहरु थिए त्यस गाउँमा । सबैले आफ्नो जन्मथलो छाड्न चाहेनन् । मरे पनि आफ्नै मातृभूमिमा मर्ने अड्डी कस्नेहरु पनि धेरै थिए । त्यसैले तीन भागको एक भागले तिब्बत छाड्ने निर्णय गरे । छाड्नेमध्ये एक परिवार उनका पनि थिए । उनीहरुसँग मात्र विकल्प थियो, शरणार्थी बनेर नेपाल छिर्ने ।

नेपाल छिर्दा मृत्युसँगको पौठेजोरी :

साल २०१७ । छिरिङ उमेरले बल्ल बाह्र वर्ष लागेका थिए । भर्खरको बालक केटो, उनलाई गाउँ नै प्यारो थियो तर जहान परिवारको ज्यान जोगाउन उनको परिवारले पनि तिब्बत छाड्ने निर्णय गरे । त्यस बखतको समयलाई सुनाउँदै उनी यसरी विगतमा फर्कन्छन्, ‘काका र हाम्रो परिवारका दस जना सदस्यहरु गाउँ छाड्न तयार भयौँ । कान्छा काकाको परिवार भने गाउँमै बस्ने भए । घरका सबै सरसामानसँगै लान सम्भव नै थिएन । चौंरी र घोडाहरुमा बाटाभर चाहिने खाना र लत्ताकपडाहरु बाधेँ बाले । आफ्नो थातथलो छाडेर जानु पर्दा सबै भक्कानिएका थिए तर छाड्नु बाहेकको विकल्प थिएन । गाउँ छाड्ने र गाउँमै बस्नेहरु अन्तिम पटक बिदावारी गरी छुट्टिँदा सबैका आँखा रसाएका थिए । सायद त्यहाँको माटो पनि रसायो होला, लस्करै लाम लागेर छाडिगएका मान्छेहरुलाई देख्दा ।’

मंसिर पुस महिनाको समय । हिउँको थुप्रोमाझ बाटो छिचोल्दै अघि बढ्न मान्छेले कहाँ सक्नु ? अघिअघि घोडा र चौंरीको लस्कर । उनीहरुले बाटो बनाइदिन्थे अनि उनीहरुलाई पछ्याउँदै सयौं संख्याका गाउँलेहरु पछिपछि लाग्थे । कोरला नाका हुँदै नेपाल पस्दा हिउँ नै हिउँको थुप्रो छिचोल्दाको संघर्ष सम्झिदा उनलाई अहिले पनि अत्यास लागेर आउँछ । उनले बोराको झोलामा आफ्नो लत्ताकपडा बोकेका थिए । आधा शरीर हिउँभित्र, आधा बाहिर । कम्मर कम्मरसम्म हिउँ थियो । उनी र उनको परिवार बार बार मृत्युसँग लडेर सकुशल नेपाल आइपुगेका थिए ।

हप्तौ लगाएर नेपाल छिरेपछि उनीहरु कोही मुक्तिनाथ छेउछाउ त कोही लुब्रा उपत्यकामा छरिएर बसे । हिउँको थुप्रो माथि पाल टाँगेर बस्न त्यति सहज त कहाँ हुन्थ्यो र ? ल्याएका भेडाहरु धेरै त चिसोले नै मरे । न पर्याप्त चरण क्षेत्र थियो न तिनीहरुलाई चाहिने दानापानी ।

मरुभूमि जस्तो ठाउँ मुस्ताङ । एक त अत्याधिक चिसो अनि अर्को पर्याप्त खेतीपाती र गाईवस्तुलाई पर्याप्त चरण क्षेत्र नभएको ठाउँ । त्यसैले उनीहरु मुस्ताङमा अडिएनन् । मुस्ताङमा बस्दा ताका नै ढोरपाटनको फाँट बारे उनीहरुले सुनेका थिए । त्यसैले एक वर्ष उनीहरु मुस्ताङका विभिन्न ठाउँहरुमा बसाइँसराइ गर्दै २०१८ साल असोजतिर ढोरपाटन आइपुगे ।

दाना, तिप्लाङ, बेनी बजार हुँदै जलजला भञ्ज्याङ पार गरि ढोरपाटन आइपुगेको हिजोजस्तै लाग्छ उनलाई । हामी आउँदा यहाँका स्थानीयहरु हामीले देखेर तर्सिन्थे, उनी थप्छन्, ‘नर्तसियून् पनि कसरी ? लट्टा परेको लामो कपाल, अनि त्यस्तै झुत्रा कपडा लगाएका हामीहरु । महिनौ ननुहाएको हाम्रो शरीर र लुगाका पोकापुन्तुरा देखेर उनीहरु तर्सेर भाग्थे । हामीले ल्याएका चौरी अनि लुल झुपार उनीहरुले देखेको नै पहिलोपल्ट, छक्क परेर हेर्थे । अनि आफ्नो बाटो लाग्थे ।’

आइहालियो, ओत लाग्ने पो कहाँ ? फसाद प¥यो उनीहरुलाई । उनीहरु नेपाली बुझ्दैनथे, यता नेपालीहरु उनीहरुका भाषा बोल्दैनथे । उनीहरुसँग साथमै आएका थिए, दोभाषे । जो नेपाली, अंग्रेजी र तिब्बती सबै बोल्थे र बुझ्थे । घरहरु कहाँ खालि थिए र ? तिनै दोभाषेहरुले स्थानीयसँग कुरा राखेर गोठगोठमा बस्ने व्यवस्था भयो । भूगोल फरक, अनि भिन्न थियो बोलिने भाषा, रहनसहन अनि संस्कृति । स्थानीयहरुसँग घुलमिल हुन सुरुका दिन त्यति सहज कहाँ थियो र ? उनीहरुले निकै कठिनाइ भोग्नुपर्यो ।
पछि दलाई लामा सरकारको अनुरोधमा युएन र स्वीस सरकारले ढोरपाटनमा बस्ती बसाल्न नेपालसँग सहकार्य गर्यो । सुरुमा हामी पाखाथरमा रहेका नेपालीका गोठहरुमा बसेका थियौं, उनी थप्छन्, ‘ठुला परिवार, सधैं साँधुरो गोठमा मात्र बसेर सम्भव थिएन । कतिले उतै पाखाथरमा घर बनाएर बस्न थाले । केही परिवारहरु भने यहाँ छ्यान्टुङ गुम्बाको आसपास आएर बस्न थाले । एयरपोर्टमा स्वीस र यु.एन सरकारकोे हेलीहरुले खाना, बस्ने र सबै सामानहरु ल्याउथे । पछि हामीलाई खेतीपाती र विभिन्न सीपमुलक सिपहरु सिकाउन प्रशिक्षकहरु उतैबाट आएका थिए । अनि ढोरको फाँटमा उम्रिन थाले नयाँनया अन्न र तरकारीहरु । विस्तारै हामी ढोरमा भिज्दै गयौं ।’

तिब्बतीहरु आएसँगै ढोरपाटनमा नै पहिलो विद्यालय सञ्चालनमा आयो, ज्योति विकास विद्यालय । पढाउनका लागि दार्जलिङ, भुटान र तिब्बती मास्टरहरु पनि झिकाएका थिए । उनीहरु नेपाली, अंग्रेजी र तिब्बती सबैमा दख्खल थिए । बिस्तारै उनीहरुले स्थानीय भाषा, संस्कृति र रहनसहन बुझ्दै र सिक्दै गए तर आफ्नै मातृभाषा र तिब्बती संस्कृतिलाई पनि चट्ट बिर्सेनन् पनि ।

सुरुमा त तिब्बती शरणार्थीहरु ढोरमा आउँदा स्थानीयहरु त्यति खुसी थिएनन् । आफ्नो गाउँठाउँका अरु देशका नागरिकहरु आउँदा को खुसी होलान् र ? तिब्बतीहरुलाई यो ननिको लाग्थ्यो । सहनु बाहेकको विकल्प पनि त थिएन उनीहरुसँग । पछि एयरपोर्ट नियमित रुपमा सञ्चालनमा आयो । उनीहरुलाई भनी ल्याइएका खाद्यान्नहरु स्थानीयहरुले पनि पाउँथे । स्वीस सरकारको सहयोगमा मिसन अस्पताल सञ्चालनमा आएपछि स्थानीयसमेत लाभान्वित भए । विभिन्न औषधीदेखि सामान्य अप्रेसनको सुविधा स्थानियाहरुले पनि पाए ।

खोलिएको पहिलो विद्यालयमा उनीलगायत तीस चालिस संख्यामा तिब्बती विद्यार्थीहरु मात्र पढ्थे । पढाई हुन्थ्यो अंग्रेजी, नेपाली र तिब्बती भाषा । तिनताका स्थानीयमा पढ्नु पर्छ भन्ने मानसिकता नै विकास भएको थिएन । त्यहाँ पाँच पढेर उनी थप पढ्नलाई बाग्लुङ झरे । त्यसबेला बाग्लुङको एक मात्र विद्यालय विद्या मन्दिरबाट २०२७ सालमा दश पास गरे । अनि ढोरपाटन नै फर्केर उनी आफैं पढेको विद्यालयमा पढाउन थाले ।

वि.सं. २०२८ देखि २०५८ सालसम्म निरन्तर तीस वर्ष त्यही विद्यालयमा पढाए । धेरैलाई ज्ञानको ज्योति उघारिदिए । अहिले त त्यसै विद्यालयमा ३०० हाराहारीमा विद्यार्थीहरु पढ्छन् । विद्यालयमा हाल कक्षा ८ सम्म पढाइ हुन्छ ।

जन्मथलोमा युद्धको असरहरु बारे उनले भने, ‘युद्ध साम्य भएपछि मेरो एक जना दाई तिब्बत गएका थिए । युद्धताका हाम्रो घरमा त चिनियाँ सेनाहरुले क्याम्प नै खडा गरेका रहेछन् । युद्धले त्यहाँ बाँकी गाउलेहरुलाई उठीबास नै नबनाएपनि धेरै दुःख दिएका रहेछन् । सेनाहरुले काममा कजाउने र सम्पतिहरु खोसेर लगिदिने गरेका रहेछन् ।’

फर्किन चाहेनन् जन्मथलो :

सन् १९५९ मा सुरु भएको तिब्बत – चीनबीचको युद्ध पछि धेरै मत्थर भएको थियो । सन् १९८० ताका युद्धका बेला नेपाल छिरेका शरणार्थीहरुलाई वारपार गर्न पाइने प्रावधान थियो । धेरै शरणार्थीहरु आफ्नै जन्मथलो फर्के तर उनीहरुको परिवारलाई ढोरपाटन आफ्नै बनिसकेको थियो । ढोरको सुन्दर फाँट, हावापानी र यहाँको पर्यावरणले उनीहरुलाई जन्मथलोको झल्को मेटाइदिएको छ ।

कति तिब्बतीहरु पोखरा, काठमाडौं त कति विभिन्न देशमा भेटिन्छन् तर उनी र उनको परिवारलाई ढोरपाटन नै प्रिय लाग्छ । आजको दिनसम्म उनी र उनको परिवारले ढोरपाटनमा ६ दशक बिताए । उनको बा आमाले ढोरपाटनमै अन्तिम सास फेरे । अब त उनको एउटै अन्तिम इच्छा छ, ढोरपाटनमै अन्तिम सास फेर्ने ।

उनीहरु नेपालका नागरिक हैनन्, तिब्बतकै नागरिक हुन् । हुन त यो संसार सबैको साझा घर हो । देश/विदेश, नागरिक/अनागरिक त मानवले बनाएका तत्वहरु न हुन् । न उनीहरुको यहाँको नागरिकता छ न टहरा बनाएको जमिन नै आफ्नो नाममा । कुनै लोभ, लालच वा महत्वाकांक्षा सपना वा आशा बोकेका पनि छैनन् उनीहरुले । ‘शरणाथीर्’ शब्दले बोलाउँदा उनीहरुको मन चसक्क हुन्छ । उनीहरु रहर वा चाहनाले नेपालसम्म आएका पनि हैनन् । बस्, स्वाभिवानले बाच्न चाहन्छन् उनीहरु । अनि फेर्न मन छ अन्तिम सास नेपालमै ।

ढोरपाटन उनी र उनको परिवारको लागि युद्धताका आश्रयस्थल मात्र बनेन, अहिले सिंगो देश बनिसकेको छ । शरणार्थी भइकन पनि उनको ढोर र सिंगो नेपालप्रतिको माया प्रगाढ र गाढा छ । ढोरपाटनको उर्भर भुमिमा तीस वर्ष कलिला बालबालिकाको उज्ज्वल भविष्यका लागि अहोरात्र खटिरहे । उनको त्याग, समर्पण र लगावको कसैले कदर गरोस् वा नगरोस्, पक्कै सम्झिरहनेछन् ढोरको फाँटले । गुन्गुनाइरहनेछन् ती डाक्टर, इन्जिनियर र शिक्षक बनेका उनका विद्यार्थीहरुले ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->