पोखरा / विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखामा बुधवार आयोजना गरेको निःशुल्क दन्त शिविरमा एक सय ३० जना सञ्चारकर्मीले उपचार सेवा लिएका छन् ।
महासङ्घ कास्की शाखा र स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालको आयोजनामा पत्रकारहरुका लागि संयुक्त शिविर गरिएको हो ।
शिविरमा एक सय ३० जना पत्रकारको दाँतको परीक्षण गरिएकामा १४ जनाको दाँतको एक्सरे, २७ जनाको दाँत सफा, ४३ जनाले दाँत भर्ने, तीन जनाको दाँतको जरैदेखी उपचार र एक जनाले दाँत निकाल्ने सेवा लिएका छन् ।
पहिलो दिन नाम दर्ता गरेर परीक्षण गरेकाहरुलाई बिहीबार पनि अन्य उपचार सेवा प्रदान गरिने महासङ्घले जनाएको छ । दन्त शिविर उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेलले दन्त उपचार सेवाबाट सञ्चारकर्मीहरुले प्रत्यक्ष लाभ लिने बताए ।
पत्रकारहरु जहिलेपनि व्यस्ततामा रहेपनि आफ्नो स्वास्थ्यका बारेमा समेत सदैव चनाखो र सचेत बन्नुपर्नेमा जोड दिए । तीनै तहका सरकारले प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न पौडेलले आग्रह गरे । पत्रकारहरुको दाँत र मुख स्वास्थ्यलाई मध्यनजर गरेर शिविर सञ्चालन गरिएको महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले बताईन ।
नेलम्बो नेपालका कार्यकारी अध्यक्ष एकदेव देवकोटाले पत्रकार महासङ्घसँग मिलेर काम गर्दा खुशी लागेको बतए । मुख स्वास्थ्यका बारेमा दुरदराजका नागरिकहरुलाई सही सूचना र सन्देश सम्प्रेशण गर्ने दायित्व पत्रकारको रहेको उनले वताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपसभापति गङ्गाधर पराजुली, महासङ्घ कास्कीका सचिव माधव बराल, शाखाका कोषाध्यक्ष एवं दन्त शिविर कार्यक्रमका संयोजक कृष्ण दवाडी लगायतले कार्यक्रमले पत्रकारहरुलाई फाइदा पुगेको बताए । शिविरमा दन्त परीक्षण, एक्सरे, दाँत निकाल्ने, सफा गर्ने, दाँतको जरै देखि उपचार, गिजाको उपचार र औषधी वितरण गरिएको थियो ।
शिविरमा दन्त चिकित्सक डा. सिजन मसार्नी, दन्त चिकित्सा सहायक करुणा गर्बुजा, अञ्जु विक, नेलम्बो कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, किल्निकल सहयोगी रितिक चुवाई, फिल्ड एडमिन सहयोगी नम्रता ढुङ्गाना, प्राविधिक सुपरभाईजर रुपेश गुरुङ्ग र मुक्त बहादुर हमालले प्राविधिक सहयोग गरेका थिए ।
दन्त शिविरमा उपचार लिएका सेवाग्राहीहरुलाई आवश्यकताका आधारमा पूनः उपचार तथा फलोअपको पनि व्यवस्था मिलाईएको नेलम्बोका कार्यक्रम संयोजक भण्डारीले बताए ।





