सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्छु : मुख्यमन्त्री पाण्डे

अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्छु : मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८०, आइतबार

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्ने बताएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पोखरा स्पोट्र्स अवार्ड कार्यक्रमको सम्बोधन गर्दै मन्त्री पाण्डेले क्रिकेट रंगशालाका लागि पुनः पहल गरिने बताएका हुन् ।

यसअघि प्रदेश सरकारले क्रिकेट रंगशाला निमार्ण गर्ने भनि काम सुरु गरि डीपीआर समेत सुरु गरिसकेको अवस्थालाई रोकेको थियो । मुख्यमन्त्री पाण्डेले उक्त योजना सुरु गर्ने संकेत गरेका छन् । उनले आफ्नै कार्यकालमा उक्त मैदान निमार्ण सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘भर्खरै मैले एउटा घोषणापनि गरेको थिए । पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन पहल गरि सम्पन्न गर्नेछु भनेर,’ उनले भने, ‘म आजको दिनमा योपनि प्रण गर्दछु कि यो आर्थिक वर्षको बजेटबाट त्यो मैदान निमार्ण गर्नका लागि आवश्यक बजेटको सुरुवात हुनेछ ।’

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालाका लागि आधा करोड रकम खर्चिसकेको अवस्था छ ।
साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका–३३ को पशुपतिघाटमा रंगशाला निर्माणका लागि १७४ रोपनी जमिन पाँच वर्षअघि नेपाल सरकारबाट प्रदेश सरकारलाई भोगाधिकारका लागि प्राप्त भएको थियो ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले उक्त योजनाअघि सारेको थियो । तर राजनैतिक घटनाक्रम पश्चात उक्त रंगशाला निर्माणको अन्योलमा परेको थियो । कृष्णचन्द्र नेपाली नेतृत्वको सरकार बन्दै गर्दा वेवास्ता गरिएको रंगशालालाई खगराज अधिकारीको नेतृत्वले पनि पाखा लगायो अब भने निर्माण हुने देखिएको छ ।

मैदान बनाउका लागि २०७७ सालमा डीपीआर बनेको हो । बिआरएस इन्जिनियरिङ सोलुशन प्रालिले रङ्गशालाको डिपिआर तयार गरी प्रतिवेदन सामाजिक विकास मन्त्रालयलाई बुझाएको थियो । सरकारले डिपिआरका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकारले रंगशाला निर्माणमा १ अर्ब ६३ करोड रुपैयाँ लाग्ने अनुमान लगाएको थियो । प्रदेश सरकारको ड्रिम योजनाको रुपमा रहेको उक्त रंगशाला १८ हजार दर्शक क्षमताको प्यारापिटको बनाउने योजना थियो ।

डिपिआर अनुसार उक्त रंगशालामा टी–२०, एकदिवसीय र टेस्ट म्याच खेल्न मिल्ने विभिन्न ७ वटासम्म पीच तयार निर्माण, १२० भीभीआईपी सिट, एक हजार दुई सय भीआइपी र स्पेसल सिट, ९ सय खेलाडी क्षमताको कक्ष, एक सय क्षमताको मिडिया कक्ष, ६ सय सवारी अट्ने पार्किङस्थल रहेको छ । सरकारले आवश्यक बजेट जुटाउन सकेको भए अहिलेसम्म उक्त रंगशाला निर्माण भइसक्ने थियो ।

प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न आर्थिक वर्ष २०७७÷०७८ का लागि २ करोड विनियोजन गरिएको थियो । यस्तै मुख्यमन्त्री गुरुङले खेलकुदमा राजनीति हुँदा गण्डकीमा बन्न लागेको ठूला परियोजना समेत नबनेको सुनाए । उनले फिफाले नेपाललाई दिएको दक्षिण एशियाकै नमुना प्रोजेक्टमा राजनितिकरण हुँदा समस्या संकेत गरे । गण्डकीलाई खेलकुदबाट अघि बढाउन एक जुट भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->