विषय प्रवेश
कुनैपनि तिथिमिति प्रस्ट भन्न नसकिने र श्रुति स्मृतिबाट विकसित हुँदै आएको पूर्वीय दर्शन अधिकतम रूपमा वेदमा आधारित दर्शन थियो । अध्यात्म र जगतलाई सँगसँगै जोडेर पूर्वीय दर्शनको रूपमा उदाएको अवस्थामा समय व्यतित हुँदै जाँदा दर्शनका विविध स्वरूपहरू संसारमा देखापर्न थालेका हुन् । जगत र जीवनलाई डो¥याउने वैज्ञानिक बाटो दर्शन भएकोले यसमा ठोस प्रमाण र वैज्ञानिक तवरले पुष्टि हुने खालका तर्क मात्र संसारमा दर्शनका रूपमा अस्तित्वमा आउन थालेका हुन् । दर्शन निकै बृहत् क्षेत्र ओगटेको विषयवस्तु र निकै पुरानो विधा हो भन्नेकुरा पूर्वीय वा पाश्चात्य दुवै दर्शनमा पाइन्छ । संसारको विकास र खासगरी शिक्षाको विकास नै दर्शनमा टेकेर सम्भव भएको हो भन्नेमा सबै सहमत छन् । दर्शनलाई सरसर्ती विभाजन गरी हेर्दा संसारमा पूर्वीय र पाश्चात्य दर्शन भनी दुई प्रकारका दर्शनहरूको प्रचलित अवधारणालाई मान्ने गरिन्छ । ती दुई मान्यतामा आधारित दर्शनका पनि अनेक स्वरूपहरू छन् । त्योमध्ये पूर्वीय दर्शनका केही सारतत्वका सन्दर्भमा यस अघिको आलेखमा प्रकाशित भैसकेको अवस्थामा यस आलेखमा पाश्चात्य दर्शनको बारेमा छोटकरीमा प्रस्ट पार्ने प्रयास गरिएको छ–
पाश्चात्य दर्शनको अवधारणा
दर्शन वास्तविक र सत्य ज्ञानको महत्वपूर्ण सिद्धान्त हो जसले समग्र जीवन र जगतको व्याख्या गर्दछ । यसबाट के बुझिन्छ भने दर्शन अुनसन्धानहरूको पनि अनुसन्धान हो जसले प्रमाण र सत्य तथ्यको मात्रै व्याख्या गर्दछ र मनमा उत्पन्न हुने विभिन्न जिज्ञासा र तर्कहरूको समाधान दिन्छ । त्यसकारण दर्शनले कुनैपनि विषयवस्तुको व्याख्या र विश्लेषण गर्ने, कुनैपनि समस्यामाथि चिन्तनमनन गर्ने र सप्रमाण सिद्धान्त जारी गर्ने जस्ता कार्यहरू गर्दछ भन्न सकिन्छ । दर्शनका पनि विभिन्न क्षेत्रहरू हुन्छन् जस्तै– सत्यको सिद्धान्तको व्याख्या गर्ने, ज्ञानका स्रोतको बारेमा व्याख्या गर्ने, मूल्यका सिद्धान्त र तर्कहरू पुष्टि गर्ने क्षेत्रहरू । जसलाई तत्व मिमांसा वा मेटाफिजिक्स, ज्ञान शास्त्र वा एपिस्टेमियोलोजी, मूल्यशास्त्र वा एक्जियोलोजी र तर्कशास्त्र वा लजिक पनि भनिन्छ ।
पाश्चात्य दर्शन युरोपिय महाद्विप तथा पश्चिमी क्षेत्रबाट प्रतिपादित दर्शन हो भने एसिया तथा महाभारत क्षेत्र (भारतवर्ष वा पाकिस्तान, नेपाल, बंगलादेश र भारत) बाट प्रतिपादित र विकसित गरिएको दर्शन पूर्वीय दर्शन हो भनेर मानिएको छ । पूर्वीय क्षेत्रमा विकसित भएको पूर्वीय दर्शनको मुख्य आधार अध्यात्मलाई नै मानिएको छ भने पाश्चात्य दर्शनमा अध्यात्म र वैज्ञानिक खोजीसमेत भएर पुष्टि भएको छ । पूर्वीय दर्शन ठोस प्रमाणबिना आएको दर्शन भनी पश्चिमाहरूले पूर्वीय दर्शनलाई उपेक्षा गरिरहेको सन्दर्भमा पूर्वीय दर्शनका अध्येता स्वामी विवेकानन्दले पाश्चात्य मुलुकमा भएको कार्यक्रममा भाग लिई पूर्वीय दर्शनको बारेमा तार्किक बहस गर्दै प्रवचन दिएपछि मात्रै पश्चिमाहरूले पूर्वीय दर्शनको अस्तित्व समेत स्वीकारेको इतिहास पाइन्छ । वैज्ञानिक दर्शनको उद्गम स्थल मानिने पाश्चात्य क्षेत्रमा धेरै तर्कपूर्ण दर्शनहरू अस्तित्वमा आएका र हालसम्म ती दर्शनमै टेकेर संसार अघि बढिरहेको अवस्थामा पाश्चात्य दर्शनको पनि आफ्नो ठूलो महत्व रहेको छ । त्यसकारण यस आलेखमा पाश्चात्य दर्शनको सामान्य परिचय तथा दर्शनको सारका बारेमा छोटकरीमा प्रस्ट पार्ने प्रयास गरिएको छ ।
पाश्चात्य दर्शनको विकासक्रम
ऐतिहासिक र निकै महत्वको देश प्राचीन ग्रीस मानव सभ्यताको उद्गम स्थल पनि हो र पाश्चात्य दर्शनको पनि उद्गम र विकास स्थल हो । प्राचीन ग्रीसका नगर राज्यहरू लगायत फ्रान्स, इटली र जर्मनी जस्ता देशहरूमा नै पाश्चात्य दर्शनको उल्लेखनीय विकास भएको इतिहास पाइन्छ । पाश्चात्य दर्शन पनि निकै पुरानो समयदेखि नै विकसित हुँदै आएको परिप्रेक्ष्यमा पाश्चात्य दर्शनको विकासक्रमलाई पनि मुख्य तीन चरणमा बाँडेर विश्लेषण गर्न सकिन्छ । ती हुन्–
क) प्राचीनकाल : यो ईशापूर्व ६००–३०० को अवधि हो र पाश्चात्य दर्शनको आधारशीला नै यही समय हो । प्राचीनकालमा ग्रीस र रोमबाट विभिन्न विचारहरू प्रादुर्भाव भएको मानिन्छ । त्यतिबेला अस्तित्वमा आएका मुख्य विद्वानहरू थेल्स्, पाइथागोरस, हेराक्लिटस, प्रोटागोरस, सोक्रेट्स, प्लेटो र एरिस्टोटल जस्ता अत्यन्तै लोकप्रिय दार्शनिकहरूको उदय भएको र दर्शनको क्षेत्रमा ती दार्शनिकको महत्वपूर्ण योगदान हालसम्म रहेको छ । दर्शनका चारवटा मेटाफिजिक्स्, ज्ञान, मूल्य र तर्क सम्बन्धी क्षेत्रहरू समेत यसै अवधिमा स्थापित भएका हुन् र यस समयमा आध्यात्मिक शास्त्रका साथै गणित, ज्यामिति, खगोलशास्त्र, विज्ञान, विधिशास्त्र, राजनीतिशास्त्र, तर्क, कला र मनोविज्ञान जस्ता विधाहरूको उत्पत्ति भएकाले पाश्चात्य दर्शनमा प्राचीनकालको पनि निकै महत्व रहेको छ ।
ख) मध्यकाल ः यो ३०० ईशापूर्व देखि सन् १४०० सम्मको अवधि हो र यो अवधिमा प्राचीनकालमा जति पनि दर्शनको योगदान रहेको पाईंदैन । यस समयमा खासगरी क्याथोलिक धर्म दर्शनको सुरुवात भएका कारण वैज्ञानिक दर्शनको विकासक्रम अवरुद्ध भएको पाइन्छ । तैपनि यस समयावधिमा मुख्यतया प्लोटोनिस, सेन्ट अगस्टाइन र थोमस एक्विनास जस्ता दार्शनिकहरूको प्रमुख योगदान रहेको छ ।
ग) आधुनिक काल ः सन् १४०० पछि पाश्चात्य दर्शनको चरम विकास भएको यस कालमा धेरै दार्शनिकहरूले धेरै दर्शनको विकास गरेको पाइन्छ । वास्तवमा यस कालमा जीवन र जगतका प्रत्येक विषयमा सम्बोधन भई दर्शनका चारवटा क्षेत्रहरूको पूर्ण विकास भएको छ । यस अवधिमा आध्यात्मिक दर्शनलाई चिर्दै निकै वैज्ञानिक र तर्कपूर्ण दर्शनले बढी स्थान पाएका हुँदा यो अवधि दर्शनको विकासका लागि चरम विकसित अवधि पनि हो । विभिन्न दर्शनका विचारका कारण संसारमा राजनीतिक तथा प्रविधियुक्त असंख्य परिवर्तनहरू भएको देखिन्छ । यस अवधिमा देखापरेका मुख्य दार्शनिकहरू कार्ल माक्र्स, जोन डिवे, हेगेल, रुसो, रेन डेस्कार्टे, फ्रान्सिस् बेकन, ब्रुच स्पिनोजा, जोन लक आदि हुन् । यस अवधिमा विभिन्न वादहरू अस्तित्वमा आए र ती वादहरू पनि परिस्कृत र परिमार्जित हुँदै आएका छन् ।
पाश्चात्य दर्शन र प्रमुख वादहरू
क) आदर्शवाद : सोक्रेट, प्लेटो, अगस्टाइन, रेन डेस्कार्टे, हेगेल, कान्ट, बर्कली जस्ता दार्शनिकहरूले प्रतिपादित र विकसित गरेको सबैभन्दा पुरानो पाश्चात्य दर्शन आदर्शवाद हो । यो दर्शन पूर्वीय दर्शनजस्तै अध्यात्मवादी वा ईश्वरको अस्तित्व स्वीकार गर्ने दर्शन हो । यसमा विचारलाई मान्ने तर वस्तुलाई कम महत्व दिने गरिन्छ । शरीरलाई भन्दा व्यक्तिको आत्मा र विचार प्रधानता मान्नु यस वादको मुख्य सिद्धान्त हो । त्यसकारण यस सिद्धान्तमा भौतिक दुनियाँ, मानिसको शरीर सबै भ्रमपूर्ण हो र चेतना प्रमुख हो जुन ज्ञान प्राप्तिको प्रमुख स्रोत ईश्वर हो भनी व्याख्या गरेको पाइन्छ । यसमा विचार प्रधान भएकोले यो दर्शनलाई बुद्धिवाद, विचारवाद, विवेकवाद वा आदर्शवाद भनिएको हो ।
ख) प्रकृतिवाद : आदर्शवादी सिद्धान्तहरूको विरुद्धमा आएको यो दर्शन पाश्चात्य दर्शनका पिता थेल्स्ले ई.पू. छैटौं शताब्दीतिर विकास गरेका हुन् । यो दर्शन मध्ययुगमा आध्यात्मिक विचार प्रधान भएको बखत आएकाले यो विचारले खासै उन्नति गर्न सकेको थिएन । सत्रौं शताब्दितिर धर्मविरोधी आन्दोलन सुरु हुन थालेपछि अठारौं शताब्दितिर मात्र यो दर्शनले स्थान पाएको हो । यस समयमा रुसोले प्रकृतिवादलाई उचाइमा पु¥याउन प्रमुख भूमिका खेलेका हुनाले प्रकृतिवादका नायक रुसोलाई नै मानिन्छ । रुसोले प्रकृतिमा देखिएका र त्यहाँ विद्यमान रहेका विभिन्न वस्तु, घटना नै सत्य हुन् र ईश्वरको कुनै अस्तित्व तथा ठोस प्रमाण नभएकाले ब्रह्माण्डको रचना पनि प्रकृतिबाटै भएको हो भनी आफ्नो सिद्धान्तको पुष्टि गरेका छन् । यस दर्शनमा ज्ञानको प्रमुख स्रोत नै प्रकृति हो जुन इन्द्रियजन्य अनुभवबाट मात्र प्राप्त हुन्छ भन्ने मुख्य भनाइ पाइन्छ ।
ग) यथार्थवाद : यो दर्शन न्युटन, ग्यालिलियो र बेकन जस्ता वैज्ञानिकको खोज र आविष्कारको परिणामले वैज्ञानिक तथ्य प्रमाणित भएपछि अन्धविश्वास हट्दै गएर मानिसमा आएको चेतनाको प्रतिफल स्वरूप आएको प्रकृतिवाद जस्तै वैज्ञानिक विचारमा आधारित दर्शन हो । यो दर्शनका पिताको रूपमा एरिस्टोटललाई मानिन्छ तर सत्रौं शताब्दिपछि मात्रै इरास्मस, जोन मिल्टन, जोन लक, बेकन र रसेल जस्ता थुप्रै दार्शनिकले यसको विकास गरेका हुन् । यस दर्शनले भौतिक वा दृश्यजगत् नै सत्य हो जुन हामीले इन्द्रियजन्य प्रत्यक्षीकरणबाट प्राप्त गर्दछौं भन्ने मुख्य मान्यता राख्छ । त्यसकारण यो दर्शनले ज्ञान प्राप्तिको मुख्य स्रोत इन्द्रियबाट हुने प्रत्यक्षीकरण, वातावरण र
प्रयोगात्मक शिक्षा
(अवलोकन, परीक्षण र प्रयोग) हो भन्दछ ।
घ) प्रयोजनवाद : यो दर्शनलाई पुनःसंरचनावाद, प्रयोगवाद, साधनवाद र मानवतावादी दर्शन पनि भनिन्छ । प्रयोजनपरक र उपयोगितामा आधारित यो दर्शनमा सत्य सिद्धान्त त्यो हो जुन परिवर्तनशील, काम लाग्ने र अभ्यासपछि सन्तोषजनक परिणाम ल्याउने खालको हुन्छ भन्ने मुख्य मान्यता पाइन्छ । इ.पू. पाँचौं शताब्दितिर नै हिराक्लिटसले वास्तविकता पनि परिवर्तन हुन्छ भन्ने मान्यता राखेबाट बिजारोपण भएको यो सिद्धान्त आधुनिक सिद्धान्त हो । पछि प्रोटागोरस, डेस्कार्टे, चाल्र्स सेन्डर, विलियम जेम्स्, जोन डिवे आदिले यो दर्शनलाई प्रयोग र परिस्कृत गर्दै अमेरिका लगायत संसारका सबै देशमा फैलाएका हुन् । अमेरिकामा यो दर्शनको अभ्यास भएर त्यहाँको आर्थिक, सामाजिक र शैक्षिक अवस्थाको विकास भएकाले यो दर्शनलाई अमेरिकी दर्शन पनि भनेको पाइन्छ । अस्तु
( लेखक पाण्डे विद्यावारिधि शोधार्थी तथा कावासोती–८,नवपुरस्थित मध्यविन्दु बहुमुखी क्याम्पसका प्राध्यापक हुन् ।)
pndynn2031@gmail.com





