सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खेलकुदमा राजनीति हाबी : खेलकुद नै ध्वस्त हुने चिन्ता

खेलकुदमा राजनीति हाबी : खेलकुद नै ध्वस्त हुने चिन्ता


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८०, बुधबार

पोखरा/ हालैमात्र मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले खेलकुद परिषद् गण्डकीको सदस्य सचिवमा श्रीधर शर्मा नियुक्तको विषयले आन्तरिक रुपमा तरङ्ग ल्याएको छ ।
कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको नयाँ सरकार आएसँगै पहिलाको सरकारले गरेको निर्णय बदर गर्दै नयाँ सदस्य सचिव नियुक्त गरेको हो । जसका कारण प्रदेश खेलकुद परिषद्मा यतिबेला आन्तरिक तरङ्ग आएको छ ।

‘खेलकुद अब ध्वस्त हुने भयो । खेलकुदले गतिलो सदस्य सचिव नै पाएन । यहाँ त आफ्नो मान्छे हाल्ने काम मात्रै भयो,’स्रोतले भन्यो,‘अहिले जसलाई नियुक्त गरेको छ उसले आफूलाई योग्य बनाउने गरी पहिला कार्यविधि बनाएको व्यक्ति हो । उनले नै खेलकुदमा कानून जानेको यो त्यो भन्दै आफ्नै योग्यता अनुसारको कार्यविधि बनाएर ल्याउनु भएको थियो ।’

तत्कालीन सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ संयोजकत्वको छनोट समितिले गत चैत १९ गते अन्तर्वार्ता लिएर ३ जनाको नाम सिफारिस गरेको थियो । अन्तर्वार्तामा श्रीधरसहित वीरेन्द्र खड्का, विष्णु पुन र मुना बासुकला सहभागी थिए ।

त्यतिबेला मुख्यमन्त्री खगराज अधिकारीले वीरेन्द्र खड्कालाई सदस्य सचिवमा नियुक्त गरेका थिए । तर, खड्का ऐन विपरीत सदस्य सचिव भएपछि विरोध भएको थियो । प्रदेश खेलकुद विकास ऐन, २०७७ मा खेलकुद परिषद सदस्य सचिव सार्वजनिक लाभको पद प्राप्त नगरेको व्यक्तिलाई नियुक्त गर्ने व्यवस्था भएपनि खड्का त्यसको विपरीत थिए ।

ऐनको परिच्छेद ४ को दफा १७ को उपदफा २ को ‘ङ’ मा सदस्य सचिव नियुक्त हुने योग्यतामा ‘सार्वजनिक लाभको पद प्राप्त नगरेको’ भनी उल्लेख गरिएको छ । सोही उपदफा विपरीत खगराज अधिकारी नेतृत्वको प्रदेश सरकारले खड्कालाई सदस्य सचिव नियुक्त गरेको थियो । पाण्डे नेतृत्वको सरकारले पहिला भएको सदस्य सचिव नियुक्ति बदर गर्दै शर्मालाई नियुक्त गरेको हो । परिषद्कै एक सदस्यका अनुसार शर्माले आफैले कार्यविधि तयारी गरी कर्मचारीलाई लेख्न दिएका थिए । उनका अनुसार परिषद्कै एक कर्मचारीलाई समेत उनले लगेर कार्यविधि तयार गरेका थिए ।

‘अहिले सदस्य सचिव हुनुभएको व्यक्ति आफैले कार्यविधि बनाएर दिनुभएको कुरा सत्य हो । उहाँले अर्का सदस्यलाई समेत लैजानुभएको थियो,’ उनले भने,‘आफू अनुकुल कार्यविधि बनाएर काम गर्नुभएको छ उहाँले खेलकुद भद्रगोल छ झन भद्रगोल हुनेभयो ।’ यतिमात्र होइन खेलकुद परिषद्ले रंगशालाभित्र बनाएको भवनको समेत भित्रिरुपमा विवाद भइरहेको छ ।

गत कात्तिक २४ गते प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ उमेर हदका कारण पदमुक्त भएका थिए । त्यसपश्चात सदस्यसचिव पद रिक्त थियो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले पुस ६ गते पहिलोपटक सदस्य सचिव पदको दरखास्त आह्वान गरेको थियो ।

मन्त्रालयले पुनः माघ ७ गते योग्यता परिवर्तन गरी दर्खास्त आह्वान गरेको थियो । अदालतले पुरानै योग्यता कायम गर्न आदेश दिएको थियो । त्यतिबेलापनि आफ्नो मान्छे भर्ति गर्न दर्खास्त नै परिवर्तन गरेको भन्दै अदालतमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->