मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

एउटी आमाको पौरखमा जागेको गाउँ !

एउटी आमाको पौरखमा जागेको गाउँ !

डम्मरकुमारीको अथक मिहिनेतले कास्कीको उत्तरी गाउँ ल्वाङ सुन्दर, सुगम र पर्यटकीयमात्र बनेन्, जागरण र विकासमा अब्बल पनि ठहरियो ।


  • युवराज श्रेष्ठ
  • जेष्ठ २ २०८०, मंगलबार

वनस्पति वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ २०५३ सालतिर आफ्नो खोज–अनुसन्धानका क्रममा कास्कीको ल्वाङ गाउँ पुगेका थिए ।

उनी पोखराबाट हिँडेर पुगेका थिए । गाउँमा बिजुली थिएन । अहिलेको जस्तो समृद्धि थिएन । ल्वाङ गाउँबाट देखेको सूर्योदय भने अहिले पनि उनको स्मरणमा ताजै छ । ‘ल्वाङ गाउँमा हामी जाँदा देखिएको सूर्योदय एकदम रातो थियो, त्यसपछि पहेँलो भएर हिमाल सुनजस्तै टल्किएको थियो,’ उनले स्मरण गरे, ‘त्यतिबेला गाउँमा पर्यटक थिएनन्, महिला समूहले हामीलाई फूलमालाले स्वागत गरेको थियो । ’ल्वाङ गाउँबाट देखेको सूर्योदयले मोहित श्रेष्ठ २७ वर्षपछि गत पुसमा फेरि ल्वाङ गाउँ पुगे । गाउँलेको प्रगति देखेर उनी चकित परे ।

‘गाउँमा मोटरबाटो पुगेछ, बिजुली पुगेछ । गाउँ चिटिक्क भएछ । चिया बगान बनाएछन् । जंगल बढाएछन्,’ उनले भने, ‘होम स्टे खोलेर गाउँमा पर्यटक भरिभराउ पारेछन् । ’कास्कीमा चल्तीका होम स्टे रहेका गाउँमध्ये पहिलो लहरमा आउँछ ल्वाङ गाउँ । गाउँको सौन्दर्य मनमोहक छ– ढुंगा छापिएको बाटो, ढुंगाकै छानो भएका परम्परागत घर, आँगनमा पनि ढुंगाकै छपनी अनि गाउँलेभन्दा गाउँ हेर्न आउने मान्छे धेरै । ल्वाङ गाउँ ग्रामीण पर्यटनको केन्द्र बनेको देखेर श्रेष्ठ दंग परे ।

मैले माछापुच्छ्रे गाउँपालिका–८, का वडाध्यक्ष राम गुरुङलाई सोधेँ– एउटा दुर्गम गाउँ कसरी देशकै नमूना पर्यटकीय गन्तव्य बन्यो ? उनले हामीलाई ६७ वर्षीया डम्मरकुमारी गुरुङको घरमा पु¥याए। मेरो प्रश्नको उत्तर दिन उनीमात्रै सक्षम थिइन् जो विगत ३० वर्षदेखि यही काममा दत्तचित्त छिन् । ल्वाङ गाउँ प्रवेशको स्वागतद्वार माथिपट्टि छ डम्मरकुमारीको घर। उनको घर पनि नमूना छ– ढुंगाको छानो; फराकिलो आँगनमा डुंगाकै छपनी; कलात्मक झ्यालढोका र खाँबा, घर सामान्यभन्दा अलिक लामो । घरको सुन्दर र कलात्मकपक्षबारे मैले जिज्ञासा राखेँ । डम्मरकुमारीका श्रीमान् ७३ वर्षीय देवराज गुरुङले भने, ‘यी खाँबा र झ्यालढोका गाउँलेले भत्काएका पुराना घरबाट ल्याएको हुँ । कुनै पैसा दिएर ल्याएँ, कुनै औँठीले साटेर ल्याएँ ।’

खासमा देवराज आधुनिक घर बनाउँदै थिए। उनको पुरानो घरमा कलात्मक झ्यालढोका थिए । ती एकातिर थन्क्याएका थिए ।काठमाडौंबाट आएका एक पर्यटकले ती झ्यालढोका किन्न मागे । किन माग्यो भन्ने कुराले उनलाई सोचमग्न बनाइदियो । यसको महत्व भएकै हुनाले किन्न चाहेको हुनुपर्छ भन्ने बुझे । यसपछि उनी घरमा कलात्मक झ्यालढोका राख्ने निष्कर्षमा पुगे । सोहीअनुसार घर तयार गरे ।

ल्वाङ गाउँ कसरी पर्यटकीय गन्तव्य बन्यो त ? डम्मरकुमारीले यसको कथा सुनाइन् । २०४३ सालतिर कास्कीको घान्द्रुकमा नमूनाका रूपमा समुदायमा आधारित संरक्षण कार्यक्रम सञ्चालन भएको थियो । सेना परिचालन गरेर संरक्षित क्षेत्र बनाउने प्रवत्तिका विरुद्धमा थिए हर्क गुरुङ, चन्द्रप्रसाद गुरुङ, मिङमा शेर्पा लगायतका संरक्षणविदहरू । उनीहरूकै योजनामा स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने गरी तत्कालीन घान्द्रुक गाविसमा नमूना कार्यक्रम चलाइएको थियो ।

घान्द्रुकमा समुदायमा आधारित नमूना संरक्षण कार्यक्रम सफल ठहरियो । यसको प्रभावले गण्डकीका पाँच जिल्लामा फैलिएको देशकै सबैभन्दा ‘अन्नपूर्ण संरक्षित क्षेत्र (एक्याप)’ बन्न पुग्यो । एक्यापकै अधिकारीहरूले २०४८ सालमा ल्वाङ गाउँमा ‘आमा समूह’ गठन गरेर डम्मरकुमारीलाई अध्यक्ष चयन गरेका थिए। नाम रह्यो ‘मस्याँकोट आमा समूह’।

त्यसपछि सुरु भयो गाउँ सुधारको अभियान । डम्मरकुमारी देवराजसँग बिहे भएपछि चितवनबाट पहाडको दुर्गम ल्वाङ गाउँ पुगेकी थिइन् । आमा समूहको अध्यक्ष भएपछि उनी एक्यापले दिने तालिमहरूमा सहभागी भइन् ।

तालिममा उनले गाउँघर सरसफाइ, वनजंगल संरक्षण, शौचालय व्यवस्था लगायतको महत्व थाहा पाइन् । तालिममा सिकेको कुरा आमा समूहमा पु¥याइन् । गाउँलेहरूलाई पनि पालैपालो तालिममा सहभागी गराइन् । त्यो समयबारे उनले भनिन्, ‘त्यतिबेला कसैको घरमा शौचालय थिएन। बाटोघाटोमै दिसापिसाब गर्ने चलन थियो। वरिपरि रूखबिरुवा थिएनन्। डाँडापाखा नांगै थिए ।’

डम्मरकुमारीले आमा समूहमा हरेक महिनाको १ गते र १५ गते गाउँको बाटोघाटो सफा गर्न गाउँलेहरूलाई सहभागी गराउने निर्णय गराइन् । निर्णयअनुसार काममा सबैको सहभागिता भयो । एक्यापकै योजनाअनुसार हरेक घरमा शौचालय बनाउने अभियान अघि बढाइन् । गाउँलेहरूले शौचालय बनाउन आनाकानी गरे। डम्मरकुमारीले बेलाबेलै गाउँमा झाडापखाला फैलिनुको कारण खोज्न भनिन् । खुला ठाउँमा दिसापिसाब गर्दा कसरी झाडापखाला फैलिन्छ भन्ने कुरा सम्झाइन् । अन्ततः गाउँलेहरू आआफ्नो घरमा शौचालय बनाउन राजी भए । शौचालय त बन्यो तैपनि त्यसमा दिसापिसाब गर्ने थोरैमात्र भए । बिस्तारै बानी सुधार हुँदै गयो । शौचालयमा दिसापिसाब गर्नुको फाइदा थाहा हुँदै गयो। शौचालय प्रयोग गाउँलेको संस्कार बन्यो ।

गाउँलेहरूको सामूहिक सहभागिताले बस्ती सफा हुँदै गयो । गाउँ सरसफाइ र शौचालय अभियानपछि नांगा डाँडापाखामा वृक्षारोपण गर्ने निर्णय भयो। गाउँको वन भनिए पनि रूखबिरुवा थिएनन् ।
फेरि पनि एक्याप सहयोगी बन्यो, अगुवा थिइन् उनै डम्मरकुमार । आमा समूहको सक्रियतामा डाँडापाखामा उत्तिसका बिरुवा रोपिए । पाखाको एक भागमा गाउँलेहरूले र एक भागमा आमा समूहले एक्लै वृक्षारोपण गरे । बिरुवा जोगाउन तारबार गरे । चौपाया छिर्न पाएनन् । बिरुवा रोपिएको पाखामा घाँस उम्रन थाल्यो । बिस्तारै गाउँलेलाई घाँसको दुःख पनि हरायो। घाँस बेचेर आमा समूहले आम्दानी गर्न थाल्यो। त्यो आम्दानी वन हेरालो राख्न खर्च ग¥यो ।

त्यो नांगो पाखो अहिले उत्तिसको जंगल भएको छ । काठ–दाउरा अभाव छैन । आमा समूह यतिमै रोकिएन। बस्तीका बाटा सुधार गर्ने अभियान चलायो । बाटामा ढुंगा छाप्ने काम भयो। बस्ती चिटिक्क देखिन थाल्यो । गाउँको प्रचार हुन थाल्यो। पाहुना अर्थात पर्यटकहरू आउन थाले। आमा समूहले पर्यटकको स्वागत–सम्मानबाट हुने आम्दानी बस्ती सुधारकै काममा खर्च गथ्र्यो । सानोतिनो सहयोग एक्यापले पनि गथ्र्यो ।

२०५३ सालमा वनस्पतिविद् श्रेष्ठलाई पनि आमा समूहले स्वागत–सत्कार गरेको थियो। आमा समूहको सक्रियताबाट खुसी भएको श्रेष्ठको टोलीले नगद सहयोग गरेको थियो । उनले स्मरण गरे, ‘हामीलाई आमा समूहले निकै स्वागत–सत्कार गरेको थियो। हामीले केही रुपैयाँ दियौँ । ’त्यो समय विदेशी पर्यटकहरू ल्वाङ गाउँ पुग्दैनथे । आमा समूहका सदस्यहरू गाउँभन्दा केही तल चौतारासम्म आएका विदेशीलाई खाना खुवाउन जान्थे ।

ल्वाङ गाउँका बासिन्दाले मर्दी खोला किनारमा चिहान र घाट बनाएका थिए। माछापुच्छ्रे र मर्दी हिमालबाट आउने मर्दी खोलाको पानी पोखरामा खानेपानीका रूपमा लैजाने भएपछि उनीहरूको चिहान–घाट विस्थापित हुने अवस्था आयो । नयाँ ठाउँ खोजी पनि डम्मरकुमारीको अगुवाइमा आमा समूहले नै ग¥यो ।

ल्वाङ गाउँमाथि घुबीडाँडा छ। घुबीडाँडा ल्वाङ गाउँकै पुरानो चिहानडाँडा थियो । तत्कालीन ल्वाङ घलेल गाविस बनाउँदा उक्त डाँडा वडा नम्बर एकमा प¥यो, ल्वाङ गाउँ दुईमा । अर्कै वडामा परेपछि ल्वाङ गाउँले चिहान–घाटका लागि मर्दी किनार रोजेको रहेछ।मर्दीको पानी पोखरा जाने भएपछि ल्वाङ गाउँले चिहान–घाट फेरि घुबीडाँडामै सार्ने भयो । वडा नम्बर एकका बासिन्दाले विरोध गरे ।

समस्या समाधानका लागि डम्मरकुमारीले सक्रियता बढाइन् । उनकै पहलमा वडा नम्बर एकका बासिन्दा पनि सहमत भए । अन्ततः घुबीडाँडामै ल्वाङ गाउँको चिहान–घाट बन्यो ।
उनले भनिन्, ‘सुरुमा विरोध भयो । कुरा मिलेपछि मेरै अध्यक्षतामा दाहसंकार गर्ने तीन वटा घाट र मलामी ओत लाग्ने एउटा घर बनायौँ । ’यस काममा गाउँलेहरूले श्रमदान गरे। गुरुङ समुदायको बाहुल्य रहेको ल्वाङ गाउँमा केही दलित र ब्राह्मणहरू पनि छन् । बस्ती सुधारमा यति काम भएपछि डम्मरकुमारी गाउँको अन्धकार हटाउन कम्मर कसेर अघि बढिन् । गाउँमा बिजुली थिएन । उनले बिजुली बाल्ने योजना सुनाइन् । गाउँलेसँग प्रतिघर तीन हजार रुपैयाँका दरले चन्दा उठाउने निर्णय गराइन् । एक्यापले ८ लाख रुपैयाँ दियो। आमा समूहको कोषबाट एक लाख छुट्याइन् ।

विदेशमा रहेका गाउँलेहरूले पनि सहयोग गरे। डम्मरकुमारी आफ्नो योजना लिएर काठमाडौं पुगिन् । नेता र कर्मचारी आश्वासन दिने तर काम नगर्ने, उनी हैरान भइन् । धेरै प्रयासपछि विद्युत प्राधिकरणले ल्वाङ गाउँमा बिजुली पु¥याउने भयो । गाउँहरूले मिलेर पोल र तार बोके । पोल गाडेर तार तान्ने ठेक्का लागेको थियो । गाउँलेले श्रमदान गरेर ठेकेदारलाई सहयोग गरे । वरिपरिका गाउँ अन्धकार थिए, ल्वाङ गाउँमा बिजुली बल्यो । गाउँलेका अनुहार उज्याला भए ।

ल्वाङ गाउँमा आमा समूहको आफ्नै भवन छ । अन्य संस्थाले पनि बैठक र कार्यक्रमका लागि आमा समूहकै सभाकक्ष रोज्छन् ।

पोखराका कतिपय संघसंस्था ल्वाङ गाउँ पुगेर आमा समूहको सभाकक्षमा कार्यक्रम गर्छन् । गाउँमा बिजुली पुग्दासम्म मोटरबाटो थिएन। गाउँलेहरूले डम्मरकुमारीकै अध्यक्षतामा मोटरबाटो निर्माण समिति बनाए । उनले तत्कालीन गाविस र जिल्ला विकास समितिमा धाएर मोटरबाटो बनाउन पहल गरिन्। आखिर गाउँमा बाटो खुल्यो। अहिले ल्वाङ गाउँ आउजाउ गर्न सार्वजनिक बस चल्छन् । निजी गाडी पुग्छन् । डम्मरकुमारीलाई शिशु स्याहार केन्द्र खेल्ने जुक्ति फु¥यो । उनी एउटा योजना बनाएर अघि बढिन् । स्कुल जाने उमेर नभएका बालबालिकाको स्याहार गर्ने, पौष्टिक खाजा खुवाउने र उमेर अनुसारको पढाइ गर्ने उनको योजनामा एक्यापले सहयोग गर्ने भयो । अनि खुल्यो शिशु स्याहार केन्द्र । आमा समूहले शिक्षक–कर्मचारी राख्यो । पौष्टिक खाजा खुवाउने प्रबन्ध ग¥यो ।
सामाजिक काममा जुटेकी डम्मरकुमारीले आफ्नो घरायसी काममा पनि कमी हुन दिइनन्। परिवारबाट सहयोग पनि पाइन् । २०६८ सालमा गाउँमा होम स्टे खोल्ने कुरा भयो । उनले पनि तालिम लिइन् । गाउँलेहरू मिलेर होम स्टे खोल्न थाले । तीन वर्ष त पाहुना आउँदै आएनन् । चौथो वर्षदेखि आउन थाले ।

एक्यापले गाउँलेहरूलाई चिया खेती गर्न तालिम दियो । इलामको चियाबारी देखाउन लग्यो। अहिले ल्वाङ गाउँमा चियाबारी छ र पर्यटकको अकर्षण बनेको छ । डम्मरकुमारी भन्छिन्, ‘आजकाल त कहिलेकाहीँ दिनमै चार–पाँच सय जना पनि आउँछन् । हाम्रो गाउँमा नअटाएकालाई घलेगाउँ जान भन्छौँ । धेरै चाहिँ पोखरा फर्किन्छन् ।’
डम्मरकुमारी ३२ वर्षदेखि निरन्तर आमा समूहको अध्यक्ष छिन् । उनी अरू कोही महिला अध्यक्ष बनून् भन्ने चाहन्छिन् तर कोही पनि अग्रसर नभएको उनको भनाइ छ । आमा समूहले गर्दै आएको गाउँ सफाइको जिम्मेवारी हाल ‘होम स्टे समिति’ लिएको छ । डम्मरकुमारीकै अध्यक्षतामा गाउँमा ‘मर्दी बराह महिला बचत तथा ऋण सहकारी’ चलेको छ । सहकारीले गाउँका महिलाबाट मासिक दुई सय रुपैयाँ बचत संकलन गर्छ र न्यूनतम ब्याजमा ऋण दिन्छ ।

कुखुरापालन, तरकारी खेतीलगायत आयआर्जनका काममा महिलालाई ऋण दिने गरेको उनले बताइन् । समस्याको गहिराइ हेरेर अनुदानको पनि व्यवस्था छ । परम्परागत रूपमा अल्लोबाट धागो निकालेर कपडा बनाउने काममा पनि सहकारीले लगानी गरेको छ ।

गाउँका लागि डम्मरकुमारीको योगदानबाट देवराज पनि खुसी छन् । उनी गाउँमा एउटा संग्रहालय बनोस् भन्ने चाहन्छन् । धेरैजसो गाउँलेहरूले डम्मरकुमारी–देवराज दम्पतीकै घरलाई संग्रहालयका रूपमा विकास गर्ने उपाय खोज्न सुझाब दिने गरेका छन् । अहिले गाउँमा युवाहरू अडिन नसकेकोमा डम्मरकुमारी चिन्तित छिन् ।

भन्छिन्, ‘गाउँमा होटल, होम स्टे जे चलाए पनि चल्छ । चिया, तरकारी, फलफूल जे खेती गरे पनि आम्दानी हुने अवस्था छ तर युवाहरू गाउँमा बस्न रुचाउँदैनन् ।’ यसरी डम्मरकुमारीले एउटा दुर्गम गाउँलाई सुन्दर, सुगम र पर्यटकीय बनाउन नेतृत्व गरिन् । बितेको तीस वर्षमा ल्वाङ गाउँको विकास र परिवर्तन हेरेर डम्मरकुमारी पनि दंग छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->