नवलपुर/ नवलपुरको गैंडाकोट र मध्यविन्दुमा एकैदिन आगोलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुवै आगजनीजन्य घटनामा १७ देखि २० लाख बराबरको भौतिक सम्पत्ति नष्ट भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयकको सञ्चार तथा समाचार कक्षका अनुसार गैंडाकोट १२ का ऋषिराम उपाध्यायको घर र गोठ जलेर नष्ट भएको हो भने मध्यविन्दु ८ स्थित चरौलीमा रहेको एक कपास उद्योगमा आगोलागी हुँदा कम्पनीभित्र रहेका कपडा र कपासजन्य सामग्री जलेर नष्ट भएको छ । दुवै घटनामा मानवीय तथा चौपाया क्षति नभएको प्रहरीको भनाइ छ ।
हर्कपुरमा भएको आगोलागी गोठमा रहेको चुल्होमा दूध तताउने क्रममा नजिकै रहेको प्लाष्टिकको बोरामा आगो सल्किएर अचानक गोठ हुँदै घरमा फैलिएको हो । यस्तै, मध्यविन्दुमा इमान बस्नेतले सञ्चालन गरेको उद्योगमा विजुलीको तार सट हुँदा अचानक आगोलागी भएको हो ।
स्थानीय, प्रहरी र दमकलको सहायतामा आगोलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
नवलपुरमा चालु आर्थिक वर्षको हालसम्म ३९ वटा आगोलागीका घटना भएको प्रहरीको तथ्याङ्क छ । जसमध्ये १८ वटा घटना विद्युतजन्य गडवढीका कारण भएका छन् भने बाँकी भान्सा तथा गोठमा आगोका फिलिङ्गो फैलिएर, ग्यास सिलिण्डर चुहावट भएर, बनको डढेलो बस्ती पसेर आगोलागी भएका छन् । यो विवरणमा सडकमा गुड्दै गरेको एउटा सवारी साधनमा भएको आगोलागीको घटना र सामुदायिक बनमा मानवीय क्षति हुने गरी भएको डढेलोको एउटा घटना समेत उल्लेख गरिएको छ ।
प्राय सुख्खा याममा आगोलागीजन्य घटना धेरै हुने गरेपनि यहाँ बाह्रै महिना कुनै न कुनै माध्यमबाट आगोलागी हुने गरेको पाइएको छ । करीव ५० प्रतिसत आगोलागीका घटना विद्युतीय माध्यमबाट हुने गरेको पाईएपछि विद्युत प्रयोजनमा प्रयोग हुने सामग्री प्रयोगमा बिशेष ध्यान दिनुपर्ने नेप–इण्डिया कम्पनीका सञ्चालक चन्द्रकान्त जैसी शर्मा बताउँछन् ।
नवलपुर जिल्ला भारतीय सीमावर्ती जिल्ला समेत भएकाले यहाँ अवैध रुपमा कमसल र गुणस्तरहीन विद्युत वायरिङमा प्रयोग हुने सामग्रीहरु बढी प्रयोग भएका कारण समस्या देखिएको जैसी बताउँछन् । उनका अनुसार ग्राहक स्वयं सस्तो सामान पाइने भ्रममा पारीबाट सामान लुकाएर ल्याउने प्रचलन पनि रहेको छ । प्राविधिक ज्ञान नहुँदा गुणस्तरीय सामान छनोट गर्न नसक्नु, नेपालीहरु भारतीय बजारमा सामान लिन जाँदा भारतीय ब्यापारीले सकेसम्म उस्तै देखिने नक्कली सामान सस्तैमा दिनु, सामान जडान गरिसकेपछि आउने समस्यापछि गुनासो गर्ने, सामान बदल्ने भन्दा पनि अहिलेलाई चलिरहेको छ भन्दै हेलच्याक्राई गर्दा गम्भीर घटना निम्तन सक्ने शर्मा बताउँछन् । त्यति मात्रै नभएर अवैध रुपमा नेपाल छिराएर गैरकानूनी व्यवसाय गर्ने पोके ब्यापारीको ठगीमा समेत उपभोक्ता पर्ने गरेको दलदलेमा उज्यालो नेपाल बिजुली सामग्रीको ब्यवसाय गर्दै आएका कृष्णराज गैरेले बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले जिल्लामा एउटा मात्रै दमकल भएकाले छिटो–छरितो सेवा प्रवाहमा असहजता भएको बताउँछन् ।
अहिले कावासोती नगरपालिको मात्रै एउटा दमकल हुँदा तत्कालै घटनास्थलमा बारुण यन्त्र पुग्न पनि गाह्रो हुने गरेको छ । जिल्लाका आठै पालिका मिलेर कम्तीमा २ पालिका वरावर एउटा दमकल राख्ने हो भने हुनसक्ने क्षतिलाई कम गर्न सकिने प्रहरी प्रमुख तिवारी बताउँछन् ।
गैंडाकोटदेखि विनयी त्रिवेणीमा अहिलेलाई ३ वटा र पहाडी क्षेत्रका लागी बुलिङटार, बौदीकालीमा एउटा दमकल राख्नुपर्ने देखिएको र सोही अनुसार आफूले स्थानीय पालिकाहरुसँगको विपत् न्यूनीकरण सम्वन्धि बैठक,अन्तरक्रिया र गोष्ठीहरुमा आगोलागीजन्य घटना नियन्त्रणका प्रतिवेदन प्रस्तुतका क्रममा सुझाव दिएको तिवारीले सुनाए ।





