नवलपुर / दुम्किबासको एक क्याफेमा आगलागी भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ स्थित दुम्किबास बजारमा रहेको गिल्ली क्याफेमा विद्युत सट भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।
आगलागीका कारण क्याफे जलेर नष्ट हुँदा १२ लाख मूल्य बराबरको भौतिक सम्पत्तिमा क्षति भएको प्रहरीले जनाएको छ ।
रातिको समयमा बन्द क्याफेमा आगोलागी भएको हो । आगलागीका समयमा क्याफेमा कोही नभएकाले विद्युत सट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको स्पष्टोक्ति छ । आगलागीबाट भौतिक सम्पत्तिमा क्षति पुगेपनि कुनै मानवीय क्षति भएन ।
स्थानीय मानिस तथा स्थानीय स्रोत साधनको परिचालनबाट आगोलाई थप क्षेत्रमा फैलिन रोकिएपनि पछि दुई वटा दमकलको सहयोगमा आगो पूर्ण नियन्त्रणमा आएको हो । सुरुमा ५ वटा फायर एक्स्टेन्सन पावर सिलिण्डर र पानी ट्याङ्कीजडित ट्याक्टरको मद्धतले रोकथाम गरिए पनि वर्दघाट र कावासोतीबाट पुगेका दमकलले आगो नियन्त्रणमा लिएका हुन् ।
पछिल्लो समय जिल्लामा विद्युत सट भएर हुने आगलागीका घटनामा बृद्धि भएको छ । विद्युतीय सेवा उपभोग गर्दा प्रयोग गरिने सामग्री गुणस्तरीय नहुँदा यस्ता दुर्घटना हुने गरेको विद्युतका क्षेत्रमा काम गर्ने प्राविधिक बताउँछन् ।
नेपाल विद्युतीय व्यवसायी महासंघका केन्द्रिय सदस्य एवं नवलपुरका वरिष्ठ उपाध्यक्ष चन्द्रकान्त शर्मा जैसीका अनुसार प्रायः तार, स्वीच आदिमा समस्या आएर वा भोल्टेज अप–डाउनका कारण समेत अकस्मात सट हुँदा एमसीबीले करेण्ट कट गर्नुपर्नेमा गुणस्तरका कारण उल्टै झिल्का छोडिरहने, एससिवीको प्लाष्टिकको बाहिरी कभर जल्ने, अफ नभईदिने हुँदा त्यहीबाट आगो सल्किने गरेको पाईएको छ ।
जैसीले नेपाली बजारमा गुणस्तरीय र ग्यारेण्टी/वारेण्टीका नेपाली उत्पादनकै वाटर प्रुफका साथै फायर प्रुफका सामग्रीहरु पाईने भएकाले क्म्प्लेन–गुनासा गर्न मिल्ने र विश्वासिला भरपर्दा सामानको प्रयोगमा बानी बसाल्न सुझाव दिन्छन् । नवलपुरमा चालु वर्षको यो अवधिसम्म ४० वटा आगोलागीका घटना भएकामा बिद्युतका माध्यमबाट १९ वटा घटना भएको प्रहरीको विवरण छ ।





