पोखरा/ दुई वर्ष अघि पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जना चोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आयो । बढ्दो जनसंख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो । तर अहिले त्यो आकाशे पुल फरक क्षमताका र वृद्धवृद्धाका लागि तगारो बनिरहेको छ । राज्यले साधारण व्यक्तिलाई सहजताका लागि आकाशे पुल निर्माण गरेपनि अन्यलाई भने सकस परिरहेको छ ।
जसका कारण सडक पेटिबाट उनीहरु हिँड्नै मिल्दैन । उही सवारी चाप हुने सडकबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दुई वर्षको उमेरमा पोलियोका कारण प्यारालाइसिस भएका कृष्ण गौतम अहिले ह्विलचियरको सहायतामा हिँड्छन् । उनले पोखरालगायत देशका अन्य स्थानको आकाशे पुलले समेत आफुहरुलाई समस्या दिइरहेको सुनाउछन् । सडककै संरचनाले बाध्यता खेप्न बाध्य उनी पोखराको फुटपाथ देखेर आजित छन् ।
सिर्जना चोकमा बनेको पुलको तीनतर्फ सडक पेटि नै छैन पुरै पुलको विमले खाएको छ । उनले यस्ता आकाशे पुलसँगै सडक पेटिको योजना नै गलत तरिकाले बन्दा फरक क्षमताका व्यक्तिले समस्या खोप्दै आउन बाध्य भएको बताए । अपांगता स्वाबलम्बन विकास संघ (डिडा) नेपालको आयोजनामा सेवा, संरचना र प्रणालीमा सबैका लागि पहुँचयुक्त सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै इन्डिपेन्डेन लिभिङ्ग संस्थाका गौतमले अब बन्ने संरचना तथा नीति नियम अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुनेपर्नेमा जोड दिए ।
‘सडक पेटीबाट घुमफिर गर्नै पाइदैन् । हामीलाई निकै जोखिम छ । यहाँ काला चिल्ला सडक त बने तर त्यो अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुन सकेनन्’, उनले भने, ‘अहिलेका मुल सडकमा पनि स्ट्यान्डर्ड मेन्टेन भएको छैन् । हामी हरेक कुरामा पिछडिएका छौं ।’ उनले शिक्षा, स्वास्थ्य र सार्वजानिक क्षेत्रमा समेत आफुहरु सेवा लिनबाट बञ्चित भएको गुनासो गरे ।
समग्र अपांगता व्यक्तिको प्रतिनिधित्व गर्दै उनले आफुहरुका लागि मात्रै नभई वृद्धवृद्धाका लागिसमेत सडक फुटपाथ एम्बुसको रुपमा रहेको बताए ।गण्डकी प्रदेश सभा सदस्य डिल्ली राम सुवेदीले नियमावली निर्देशिका र कार्यदिशामा पेचिलो मुद्धा उठाउन आवश्यक रहेको बताए । उनले राज्यले केहि गरेन भनेर नभई के गर्नुपर्ने त्यसको सुझाव दिन समेत आग्रह गरे ।





