नयाँदिल्ली / चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनु रहेको बताएका छन् ।
बुधबार भ्रमणको पहिलो साँझ नयाँदिल्लीस्थित नेपाली दूतावासको आयोजनामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
यस क्रममा उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भोलि बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पनि जानकारी दिएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड पहिलो रात मौर्य होटलमा बस्नेछन् ।
बिहीबार उनले हैदरावाद हाउसमा समकक्षी मोदीसँग वार्ता गर्नेछन् । तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो भारत भ्रमण हो । यस भ्रमणमा नेपाल सरकारका पाँच मन्त्रीहरू पनि सहभागी छन् ।





