पोखरा/ दोेश्रो गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलको उपाधि बागलुङले जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा मुस्ताङ थासाङ–३ लेतेमा बिहीबार सम्पन्न प्रतियोगितामा बागलुङले म्याग्दीलाई २ अंकले पछि पार्दै उपाधि जितेको हो । उपाधिसँगै बागलुङले नगद ७५ हजार र शिल्ड प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा बागलुङले कुल ८३ अंक प्राप्त गर्दै उपाधि जित्दा म्याग्दी जिल्ला २ अंकले पछि पर्दै ८१ अंकका साथ उपविजेता बन्यो । उपविजेता भएको म्याग्दीले नगद ५० हजार हात पार्न सफल भयो ।
प्रतियोगितामा मुस्ताङको ‘ए’ टिम भने तेश्रो भएको छ । मुस्ताङले कुल ७८ अंक प्राप्त गर्न सफल भयो । कास्की ७७ अंकका साथ चौथो भएको छ । तेश्रो भएको मुस्ताङले ३० हजार नगदका साथमा कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा म्याग्दीको टीकाबहादुर शेरपुञ्जा मगर सर्वश्रेष्ठ धनुर्धर भएका छन् । उनले व्यक्तिगत २० अंक प्राप्त गरेका थिए । त्यसैगरी प्रतियोगितामा विशिष्ट धनुर्धरको उपाधि बागलुङका सुनिल बुढा मगरले प्राप्त गर्न सफल भए । उनले २ खोल हानेका थिए ।
सवंश्रेष्ठ भएका प्रतियोगितामा कुल ५ जना खेलाडीले ‘खोल’ हानेका थिए । सर्वश्रेष्ठ धनुर्धर भएका टीकाले नगद ५ हजार र विशिष्ट धनर्धर घोषित सुनिलले नगद रु ३ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हात पारे । प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका दुई टिम गरी ६ टिमका ३६ जना खेलाडीहरुको सहभागिता रहेको थियो । गण्डकी प्रदेशका हिमाली जिल्लामा खेलिदैं आएको तारा खेल विशेष पर्वहरुमा आयोजना हुने गर्दछ । बाँसको विशेष प्रकारको धनुष काँण (आर्चरी) सहित परम्परागत भेषभुषा र संस्कृतिमा आधारित तारा खेलको आफ्नै विशेष महत्व रहेको प्रदेश खेलकुदका सदस्य योगेन्द्र शेरचनले बताए ।





