मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

हरिचोक याम्दी सडक निर्माणमा ढिला सुस्ती

हरिचोक याम्दी सडक निर्माणमा ढिला सुस्ती

सक्दो चाडो अघि बढाउन निर्देशन ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८०, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिका १ जौबारीमा प्रतीक्षा पौडेलको पसल छ । भूपी शेरचन राजमार्ग छेउमा होटल, किराना र तरकारी पसल संचालन गर्दै आएकी पौडेलको व्यापार यतिबेला ठप्प भएको छ ।

कारण हो, भूपी शेरचन राजमार्गअन्तर्गतको सेक्टर ३ को स्तरोन्नति । मध्य पहाडी लोकमार्गअन्तर्गत पर्ने सडक धुलाम्मे हुँदा उनको व्यापार ठप्प भएको हो । ‘आँखै अगाडी दुर्घटना हुन्छ । दैनिक ३–४ वटास्कुटर र मोटरसाइकल पल्टिएकै हुन्छ,’ उनले भनिन्, ‘एक दिन त १८/१९ वटा गाडी (दुई पांग्रे) पल्टियो उठाउँदा उठाउँदै म त आत्तिएँ,व्यापारको त कुरै छाडौं ।’ उनीजस्तै राजमार्ग छेउमा घर भएका नागरिकहरु यतिबेला धूलो प्रदुषणको मारमा परेका छन् ।

व्यापार ठप्प छ, स्वास्थ्यमा असर परिरहेको छ । धुलोकै कारण सुत्दा घाँटी, छातिसमेत दुख्ने गरेको उनले सुनाइन् । स्तरोन्नति थालिएको एक वर्ष बित्न लाग्यो । दुई किलोमिटरको बाटो बनाउन साह्रै ढिलासुस्ति गरेको भन्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा समेत गुनासो गरे । सोही गुनासोको आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा अनुगमन गरियो । भौगोलिक रुपमा अत्यन्त सहज स्थानकै काममा निकै ढिला सुस्ती भएको भन्दै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले तत्काल तीव्र रुपमा काम संचालन गर्न निर्देशन दिए । निर्माण कम्पनीले काम निकै सुस्त गतिमा गरेको उनको भनाइ छ । उनका अनुसार उक्त दुई किलोमिटरको सडक निर्माणमा आवश्यक मेसिनरी सामान र कामदार छैनन् । निर्माण सम्पन्न मिति बाँकी रहेको भन्दै काम ढिलासुस्ति गर्न नमिल्ने उनले बताए ।

‘हरिचोकदेखि याम्दीचोक सम्मको करिब २ किलोमिटर सडक खण्ड स्तरोन्नति र मर्मत गर्ने काम भइरहेको छ । त्यो एकदमै बन्द भयो र बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ जाने यात्रुवाहक सवारी साधनले सास्ती पाए,’ उनले भने, ‘सडकको समस्याको गुनासो एकदमै आयो । सरोकारवाला निकाए र हामी यहाँ आएका हौं । काम निकै मन्द गति, भद्रगोल र सवारी पास हुन पनि साह्रै अफ्ठेरो भएको पाइयो ।’ ठेकेदार र आयोजना प्रमुखलाई जतिसक्दो चाडो काम सम्पन्न गर्न निर्देशन दिएको उनले बताए । काम ढिला हुनाको कारण बारे बुझ्न निर्माण कम्पनीसहित मध्यपहाडी लोकमार्ग आयोजनालाई समेत जिल्ला प्रशासन कार्यालयमा बोलाइएको उनले बताए ।

उता मध्य पहाडी लोकमार्ग आयोजनाअनतर्गत पर्वत प्रमुख कल्पना अधिकारीले ठेकेदार कम्पनीको कारण काम ढिला भएको बताइन् । अनुगमनको क्रममा उनले ठेकेदार कम्पनीलाई पटक–पटक पत्रचार गर्दै काम छिटो सम्पन्न गर्न अनुरोध गरेपनि वेवास्ता गरेको सुनाइन् । ‘अहिले जहाँ हामीले हेरिरहेका छौं, त्यो २२ सय मिटरको ठेक्का हो । मोति दाङ निर्माण कम्पनीले यस्को जिम्मा लिएको हो । मुख्य समस्या भनेकै प्रगति नहुनु हा,े’ उनले भनिन्, ‘ काम सम्पन्न गर्न अझै १४ महिना बाँकी छ तर जति काम हुनुपर्ने हो त्यति हुन सकेको छैन् ।’ काममा विद्युतका पोललगायत अन्य समस्या रहेपनि निर्माण कम्पनीले आवश्यकता अनुसारको जनशक्ति र प्रविधि नराख्दा काममा अवरोध भएको उनले बताइन् । काम सुरु भएको एक वर्ष पुग्न लाग्दा कामको प्रगति करिब २० प्रतिशत मात्रै भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->