पोखरा/ २०७२ सालमा पोखराका नौ ताल रामसार क्षेत्रको रुपमा घोषणा गरियो । विश्व सिमसार दिवसको अवसरमा ०७२ सालमा पोखराका फेवा, बेगनास‚ रूपा, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, कमलपोखरी र मैदी ताललाई रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो ।
राष्ट्रिय सिमसार नीति २०६९ ले सिमसार एक गतिशिल, विविधतायक्त र उर्वर पारिस्थिकीय प्रणाली भनि परिभाषित गर्दै जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले अति मुल्यवान प्राकृतिक प्रणालीको अंग मानेको छ । यतिमात्र होइन जलवायु परिवर्तन तथा भू–विनाशको असरलाई समेत न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचको रुपमा कार्य गर्दछ भनि उल्लेख गरेको छ । पछिल्लो समय यी नौ रामसार मध्ये फेवाको रामसार निकै चर्चामा आइरहेको छ । बिहिबार उच्च अदालत पोखराले फेवा चार किल्लामा डोजर चलाउन रोक्ने आदेश समेत गरेको छ । धमाधम रामसार क्षेत्र पुर्ने काम भएपछि उदालतमा रिट परेको हो । पोखरा महानगरपालिकाले नै उक्त रामसार क्षेत्र पुर्ने अनुमति दिएपछि धमाधम पुरिन थालेको हो । पोखरा १८, २३ र २४ मा रहेका रामसारका रामसार क्षेत्रहरु पुरिन थालिएका छन् ।
पछिल्लो दुई चार महिना यता करिब सय रोपनीको हारहारिमा रामसार पुरिइसकेको छ । जसको सुरुवात देवेन्द्र केसीबाट भएको छ । उनले ०७९ माघ १७ गते पोखरा २४ को कित्ता नं. १२७१ र १२७२
दुई रोपनी सात आना दुई पैसा । एक रोपनी ५ आना दुई दाम एक पैसाको जग्गामा २३१५.५ घनमिटर माटोलाई सम्याई कृषि प्रायोजनका लागि गुर्नपर्ने भएकाले डोजर प्रयोगको अनुमति मागेका थिए । सोही आधारमा पोखरा महानगरपालिका अधिकृत आठौं तहका कृष्ण प्रसाद तिवारीले दुई दिनको अनुमति दिएका थिए । दुई दिनको अनुमतिको कागजात देखाएर वाई यु के कन्ट्रक्सनका संचालक युवराज ]
खतिवडाल धमाधम पुर्ने काम गरेका छन् । एक रोपनीको चारदेखी पाँच लाख रुपैयाँ लिदैँ रामसार पुर्ने ठेक्का उनको छ । रामसार पुर्ने काम दिन दुई गुण रात चार गुण बढ्न थालेको छ ।
पटक पटक उक्त रामसार पुरिएको उजुरी पोखरा महानगरपालिमा पुगेको छ । तर राजनैतिक शक्तिको आडमा खतिवडाले गुण्डाहरु खटाएरै काम गरिरहेका छन् । उनले पोखरा महानगरको नगरप्रहरी जाँदा खेदो खनेर पठाउने गरेको महानगरका एक कर्मचारीले बताए । ‘यहाँको नगरप्रहरी त जाने स्थिति नै छैन । गयो की त्यहाँबाट अपशब्द प्रयोग गरेर धम्काउँदै लखेट्छन्’ स्रोतले भने, ‘महानगरको टोली नै जाँदा समेत कतिसम्म गरेको भन्ने कुरा त अघिल्लो शनिबार नै स्पष्ट देख्नुभयो होला नी ? स्रोतका अनुसार रामसार मासिदा वातावरणमा समेत ठूलो असर गर्छ ।
गत शनिबार अटेरी गर्दै उक्त रामसार क्षेत्र पुरिरहेको अवस्थामा महानगर पुगेर डोजर र टिपर नियन्त्रणमा लिदाँ दादागिरी देखाउँदै बाटोमा माटो खन्याई खतिवडाका कर्मचारीले ख्यापख्याप्ती पारेका थिए । उक्त घटनामा प्रहरीले सात जनालाई नियन्त्रणमा समेत लिएको थियो । तर खतिवडाले भने आफुले आवास क्षेत्रमा काम गर्दै आइरहेको बताएका छन् ।
राष्ट्रिय सिमसार नीतिले नै व्यक्तिको जग्गा भएपनि वातावरणलाई र सिमसारलाई प्रतिकुल असर गर्ने गरी कार्य गर्न नपाउने उल्लेख गरेको छ । अतिक्रमणका कारण १०० वर्षमा फेवा र रूपा तालको ५० प्रतिशत क्षेत्रफल र गहिराइ घटेको छ । नौ तालमध्ये सबैभन्दा उच्च जोखिममा फेवा ताल रहेको एक अध्ययनले देखाएको छ । पोखरा पन्छी समाजले पोखरा आसपासका सिमसार क्षेत्रमा गरेको जलपन्छी गणना अनुसार‚ सन् २०२१ मा ४६ प्रजातिका तीन हजार ८५ भेटिएका थिए । सन् २०२२ मा ४५ प्रजातिका तीन हजार आठ जलपन्छी थिए । २०२३ मा ५४ प्रजातिका जम्मा दुई हजार ६२२ जलपन्छी मात्र पाइएका थिए ।
वातावरण संरक्षणका लागि महाअभियानका अभियानकर्ता रामबहादुर पौडेलले सिमसार वातावरणको मुटुको धमनीको रुपमा रहेको बताए । उनले जिवित प्राणीका लागि मुटु जत्तिकै जिवनका लागि वातावरण अत्यावश्यक रहेकाले सिमसार पुर्ने खेल रोकिनुपर्नेमा जोड दिए । उनले विश्व वातावरण दिवस मनाईरहँदा फेवातालमा सिमसार पुरिने क्रमले एउटा खतरा ल्याएको र त्यसको न्युनिकरण गर्न अत्यावश्यक रहेको समेत सुनाए । पौडेलले वातावरण जोगाउन सरसफाई र सिमसार जोगाउन समेत माफियाको सरसफाइ गर्नुपर्ने बताए । ‘सिमसार जिवनसँग जोडिएको विषय हो ।
फेवातालको कुरा गर्दा सिमसार रहने भने फेवातालको आकार पनि घट्ने निश्चित छ’ उनले भने, ‘यो मुटुको धमनी हो । यहाँ विभिन्न चराहरु र जनावरहरुको जिवन गासिएको छ । यो अति महत्वपूर्ण क्षेत्र हो त्यसैले यो जोगाउन आवश्यक छ ।’ उनका अनुसार राज्यस्तरबाट उचित कदम नचालिदाँ सिमसार पुर्ने गतिविधि ह्वात्तै बढेको हो । सिमसार जोगाउनका लागि राज्यले व्यक्तिकै जग्गा भएपनि उचित मुआब्जा वा अन्यो योजना ल्याएर जोगाउनुपर्ने बताए । नीति तथा ऐन हुँदा त्यसको कार्यान्वय नगर्दा विकराल स्थिति देखा परेको उनको भनाइ रहेको छ ।





