पोखरा/ वातावरण दिवसमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्लास्टिकजन्य फोहोरले दीर्घकालसम्म वातावरणलाई असर पु¥याउनेमा चिन्ता व्यक्त गरियो । कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रकृतिलाई जोगाउन रुख महत्वपूर्ण रहेको बताए ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव विशाल घिमिरेले वातावरण नबिगारिकन पछिल्लो पुस्तालाई सुम्पनुपर्नेमा जोड दिए । ४० माइक्रोनभन्दा पातालो प्लास्टिक प्रयोग गर्न रोक लगाए पनि नियमन नहुँदा कार्यन्वयन नभएको उनको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले वातावरण जोगाउने जिम्मेवारी हरेक नागरिकको भएको बताए ।
पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेले रोएिका विरुवा जोगाए मात्रै उपलब्धी हुने बताए ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका सदस्य बबरजंग गुरुङले जलवायु परिवर्तन विश्वकै लागि चुनौति थपिएको बताए ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले संग्रहालयको डीपीआर अनुसार नै वृक्षारोपण गरेको बताइन् । तेजपत्ता प्रजातिका २० विरुवा रोपिएको छ । रोपिएको विरुवालाई जोगाएर हुर्काउने न्यौपानले जानकारी दिइन् ।
ग्लोबल आइएमई बैंकबाट रंगशालामा
ग्लोबल आइएमई बैंकले पोखरा रंगशालालाई हरियाली बनाउने अभियानको सुरुवात गरेको छ ।
बैंकका गण्डकी प्रदेश कार्यालय प्रबन्धक नारायणप्रसाद पौडेलका अनुसार रंगशाला हरियालीसँगै वातावरण मैत्री अभियानलाई अघि बढाएको हो । सो अवसरमा १०४ वटा विरुवा रोपिएको उनको भनाइ छ । उनका अनुसार रोपिएका विरुवाहरुको संरक्षणका लागि बैंकले पहल गर्नेछ । वृक्षरोपण कार्यक्रमको उद्घाटन ग्लोबल आइएमई बैंक प्रधान कार्यालयकी निकिता भण्डारीले गरेकी थिइन् ।
इन्द्रेणीको पनि
पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलस्थित इन्दे्रणी एकीकृत विकास केन्द्रले ५० औ विश्व वातावरण दिवसको अवसर पारि सोमबार वृक्षारोपण गरेको छ ।
वृक्षारोपण कार्यक्रमा पोखरा १ गाईघाट स्थित माछापुच्छ्रे दृश्यावलोकन पार्कमा विभिन्न जाताका पाँच सय बढी बोट बिरुवा रोपिएको हो । केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, सस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली र पूर्वअध्यक्ष रामविक्रम राणाले संयुक्त रुपमा पारिजातको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, अञ्जुली आवासीय माविका राजु केसी, स्थानीय संघ सस्थाका प्रतिनिधिहरु, केन्द्रका पूर्वअध्यक्ष, पदाधिकारी कार्य समितिका सदस्य, आजीवनसँगै साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।
मदरल्याडको सचेतना
विश्व वातावरण दिवसको अवसरमा पोखराको मदरल्याण्ड माविका आइतबार प्लास्टिक प्रदूषणको असरको बारेमा सचेताना कार्यक्रम गरिएको छ । विद्यालयका कक्षा ८ का विद्यार्थीलाई मानवी क्रियाकलापका कारण पोखराको फेवताल कसरी प्लास्टिक प्रदूषणको चपेटामा परेको छ भन्ने पावरप्वइन्टबाट तस्वीर र भिडियो देखाएर सचेतना कार्यक्रम गरिएको हो ।
फेवाताल कसरी पुरिदै र प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने विषयमा केन्द्रित भएर पत्रकार कृष्णमणि बरालले विगत १९÷२० वर्ष अघिदेखि खिचेका तस्वीर देखाएर विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन गर्न सुझाएका थिए ।
पोखराका ताल, नदीको सतहमा प्लास्टिक जन्य फोहोर फैलदा पानीमा पाइने जीव, वनस्पती संकटमा पर्दै गएको बरालले बताए । फेवातालको मुहान क्षेत्रमा पनि बस्ती बिस्तार हुने तर फोहोर व्यवस्थापनमा ध्यान नदिँदा मुहान क्षेत्रबाट पनि ताल प्रदूषण बढेको बरालले तस्बिर मार्फत विद्यार्थीलाई देखाउँदै घरबाहिर ताल, नदी, खोला चौरमा घुम्न जाँदा खानेकुरा लिएर गएको प्लास्टिक जन्य फोहोर आफै संग फिर्ता ल्याउन पनि उनले सुझाएका थिए । अहिले गर्मी मौसममा फेवाताल किनारमा घुम्न जानेको भिड लाग्ने गरेको छ । यसरी घुम्न जानेहरुले खानेकुरा लिएर गएको प्लास्टिक लगायतका फाहोर ताल किनारमै फ्याँक्दा कसरी ताल वरपर फोहोर बढेको छ भन्ने पनि तस्बिर मार्फत देखाइएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य नारायण बराललगायतको उपस्थिति थियो ।
गुडुले खोलामा २ हजार विरुवा
वातावरण दिवसकै अवसरमा स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका १ मा दुई हजार विरुवा रोपण तथा सरसफाइ गरिएको छ ।
गाउँपालिका र डिभिजन वन कार्यालय स्याङ्जाको आयोजनामा गुडुले खोलामा रहेको सार्वजनिक जग्गामा वृक्षरोपण र सरसफाई गरिएको हो । हरेक वर्ष डिजिभन वन कार्यालयले एक ठाउँमा वृक्षरोपण गर्ने प्रचलन रहेकोमा यो पटक अर्जुन चौपारी रोजिएको हो । गाउँपालिका कार्यालय नजिकै रहेको सार्वजनिक जग्गालाई हरियाली बनाउने उदेश्यले वृक्षरोपण गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
पोखरा इन्टरनेटको फाइवर क्लिन अप सुरु
इन्टरनेट सेवा प्रदायक कम्पनी पोखरा इन्टरनेट प्रालिले सोमबारबाट फाइवर क्लिन अप कार्यक्रम सुरु गरेको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले पोखरा महानगरपालिका वडा ४ सँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको मार्केटिङ अफिसर आशुतोष सुनारले जानकारी दिए ।
फाइवर क्लिन अप कार्यक्रम वडा ४ को कार्यलबाट पालिखे चोकसम्म गरिएको हो ।पोलमा झुण्डिएका तथा लत्रिएका अव्यवस्थित देखिएका तारहरुलाई ब्यवस्थित गर्नको लागि फाइवर क्लिन अप कार्यक्रम सुरु गरिएको पोखरा इन्टनेटका प्रालिका प्रमुख कार्यकारी अधिकृत बिजेश पालिखेले बताए । वडा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले तारहरु ब्यवस्थित गर्न चुनौती रहेको बताए । प्रालिका जनरल म्यानेजर बरदान लामाले कार्यक्रम लाई आउँदा दिनहरुमा निरन्तरता दिइने बताए ।
संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
पोखरा बर्ड सोसाइटीले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा चरा अवलोकन गरेको छ । सोमबार वातावरण दिवसको छेकोमा सोसाइटीमा आबद्ध चराप्रेमीले संग्रहालय परिसरमा ४४ मिनेट चरा अवलोकन गरे ।
३२ प्रजातीको चरा भेटिएको पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । उनका अनुसार हिमालयन बुलबुल, इन्डियन गोल्डेन ओरियोल, कपरस्मिथ बार्बेट लगायतका चरा देखिएका देखिएका हुन् ।
‘अझै बढी चरा देखिनुपर्ने हो । हामीले ७ बजे अगाडि नै अवलोकन गर्दा ३२ प्रजाति देख्यौं । यो संख्या पनि राम्रो हो’, उनले भने, ‘ग्रिष्मकालिन आगन्तुक चराले त गुँड नै बनाएर बसेका रहेछन् ।’पोखरामा सन् २०१९ सम्म ४६७ प्रजातिको चरा देखिन्थ्यो । त्यो संख्या बढेर अहिले ४८८ पुगेको छ ।पोखरा महानगरपालिका–१७ रातोपहिरोमा रहेको संग्रहालय १०० रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ चाप, सिसौ, पैयु, खयर, लाकुरी, पारिजात , टुनि लगायतका झन्डै ९०० बोटविरुवा छन् ।





