मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पत्रकार शुद्धीकरणमा दायाँबायाँ नहोस् : बस्नेत

पत्रकार शुद्धीकरणमा दायाँबायाँ नहोस् : बस्नेत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८०, मंगलबार

पोखरा/नेपाल पत्रकार महासंघ यतिबेला सदस्य शुद्धीकरण अभियानमा छ । राजनीतिमा लागेकाहरु, सरकारी जागिरेहरु, मूख्य पेशा अर्कै भएकाहरुलाई सदस्यता नवीकरण नगर्ने मापदण्ड बनाएपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ ।

यही सन्दर्भलाई जोडेर प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले दायाँबायाँ नगरी १५ बुँदे मापदण्ड अक्षरशः पालना गर्न खबरदारी गरेका छन् । प्रेस चौतारीकै प्रस्तावमा लुम्बिनी मिडिया सम्मेलनले १५ बुँदे मापदण्ड जारी गरेको बताउँदै अध्यक्ष बस्नेतले यसको कार्यान्वयनका लागि चौतारीले जिल्ला जिल्लाबाट दबाब दिने बताए । उनले बिना हिच्किचावट मापदण्ड अनुसार सदस्यता नवीकरण गर्न पनि शाखाहरुलाई आग्रह गरे ।

प्रेस चौतारी कास्कीको २५ औं वार्षिक साधारणसभामा बस्नेतले अब पत्रकारिता पेशामा अरु हाबी भए, पत्रकारको संस्थामा पत्रकार नै हुनुपर्छ भनेर पत्रकार शुद्धीकरणका लागि प्रस्ताव गरेको बताए । बस्नेतले भने,‘पत्रकार महासंघका साथीहरु अब तपाईहरु ब्याक हुनुहुन्छ कि अघि बढ्नुहुन्छ ? ब्याक हट्ने अवस्था छैन । व्यक्ति हेरेर होइन, मापदण्ड हेरेर कार्यान्वयन गर्नुस्, हामी चौतारीका कति सदस्य जान्छन् भनेर हिसाब गरेका छैनौँ ।’

प्रेस चौतारीका महासचिव हिरामान लामाले कास्की जिल्ला संगठन देशभरकै शाखामध्ये सर्वोत्कृष्ट रहेको बताउँदै पत्रकारको हकहितमा अग्रणी संस्थाको रुपमा लागिरहन आग्रह गरे । प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष प्रेस स्वतन्त्रता सेनानि पुण्य पौडेलले अग्रजको आत्मसम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्दै पेशाको शुद्धीकरणमा प्रेस चौतारीले भूमिका खेल्नुपर्ने सुझाव दिए । नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले नेकपा एमालेको जनसंगठनमध्ये प्रेस चौतारी कास्की गर्वलायक संगठन रहेको उल्लेख गर्दै सत्यतथ्य, निष्पक्ष पत्रकारिता र क्रियाशीलताको हिसामा चौतारीमा आस्थावान पत्रकार नै अगाडि रहेको उल्लेख गरे ।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज सुष्मा पौडेलले श्रमजीवि पत्रकारको एकमात्र संगठन प्रेस चौतारी रहेकाले वास्तविक पत्रकारको हकहितको पक्षमा सधैं लडिरहने बताइन् । केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईञ्चार्ज रुद्र श्रीष मगरले अत्यन्त सक्रिय शाखाका रुपमा रहेको कास्कीलाई पाएको बताउँदै पत्रकारको हकहितमा सधैं यस्तै पर्फमेन्सको अपेक्षा गरे । प्रेस चौतारी गण्डकीका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले कास्की शाखाको सक्रिय गतिविधिको प्रशंसा गरे ।

नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष विमला भण्डारीले पत्रकार शुद्धिकरणको मापदण्ड पूर्णतः लागु गर्ने विश्वास दिलाइन् । प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले पत्रकार महासंघ शुद्धीकरणको सवालमा कहीँकतै चुक्न नहुने बताए ।

प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको साधारणसभाको बन्द सत्रमा सचिव रञ्जन अधिकारीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गिरीधारी पोखरेलको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो । साधारणसभाले ११ बुँदे पोखरा घोषणापत्र पनि जारी गरेको छ । घोषणापत्रमा पत्रकार शुद्धीकरणको मापदण्ड अक्षरशः लागू गर्नुपर्ने विषयलाई नै प्रमुख जोड दिइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->