पोखरा/ वनको सुरक्षा गर्नु वनरक्षकको कर्तव्य हो । सुरक्षाकर्मीले चोरी नियन्त्रणमा सघाउनुपर्छ । तर, पोखर रक्षक बन्न आएका व्यक्ति नै नक्कली भेटिएका छन् । प्रदेश लोकसेवा आयोगले वनरक्षकको लागि लिएको परीक्षाअन्तर्गतको शारीरिक तन्दुरुस्ती (शारीरिक परीक्षण, दौड, रुख चढ्ने र पौडी) मा एक व्यक्तिको नाममा अर्को व्यक्ति समावेश भएको पाइएको हो ।
मंगलबार पोखरा १५ फूलबारीमा रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा परीक्षा चलिरहँदा अर्काको नाममा परिक्षा दिने जुम्ला चन्दननाथ नगरपालिका ९ वयलकाटीया बस्ने वर्ष १८ को बालक र जुम्लाकै सिन्जा गाउपालिका ३ लुम बस्ने वर्ष २५ को पदम बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । सक्कली परीक्षार्थीको प्रवेशपत्रमा आफ्नो तस्वीर टाँसेर उनीहरु परीक्षामा सहभागी भएको प्रवक्ता विकको भनाइ छ । नक्कली परीक्षार्थी पक्राउ गरेसँगै सक्कलीको पनि खोजी गरिने उनको भनाइ छ । नक्कलीमध्ये नाबालकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
लोकसेवा आयोग गण्डकीले २०८० वैशाख ६ गते विज्ञापन नं.१४५–१५३/०७९/०८० (खुल्ला तथा समावेशी) प्रदेश वन, सेवा, जनरल फरेष्ट्रि समूह, सहायक तेस्रो तह, वन रक्षक पदको लागि सय जना माग गर्दै विज्ञापन खुलाएको थियो । सो परीक्षाको नतिजा भने आएको छैन । नक्कलीको भने परीक्षा स्वतः रद्द भएको छ ।





