पोखरा/ थुप्रै पीडा र दुख लुकाएर घर, समुदाय र हेरचाह केन्द्रमा बस्ने आमाबुवाहरुले आज ज्येष्ठ नागरिक दुब्र्यवहारविरुद्धको बिश्व चेतना दिवस मनाएका छन् । संयुक्त राष्ट्र संघले सन् २०११ देखि यो दिवस मनाउन थाले पनि नेपालका गैरसरकारी निकाय ज्येष्ठ नागरिकहरुको छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासँघले सन् २०१५ देखि यो दिवस मनाउन थालेको हो ।
नेपालको सम्बिधानमा ज्येष्ठ नागरिकहरुका हक, अधिकारलाई मौलिक हकका रुपमा प्रस्थापनामा उल्लेख गरिएको छ । त्यसै अनुसार ज्येष्ठ नागरिकहरुलाई समाजिक सुरक्षा भत्ता, सत्तरी बर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य बिमा, उपचारका क्रममा अरुको लाईनमा बस्न नपर्ने, बत्ति, पानीको बिल तिर्न जाँदा छुट्टै लाइनको ब्यवस्था, स्वास्थ्य निर्देशिका अनुसार औषधि खरिद गर्दा अल्जाईमर डिमेन्सिया, मुटुरोग लगायतका कतिपय रोगको औषधि निशुल्क बनाइएको छ ।
ऐन, कानुनमा जतिसुकै राम्रो ब्यवस्था गरिए पनि ब्यवहारमा तिनलाई परिपालना गर्न सकिएको छैन । यो कुराको स्वीकारोक्ति आज आयोजित दुव्र्यबहार चेतना दिवसका अवसरमा पनि बताइयो । गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री शुशिला सिंखडाले आज आयोजित एक कार्यक्रममा सो कुरा स्वीकार गरेकी हुन् । मन्त्री सिंखडाले समाजमा कसैप्रति पनि दुब्र्यवहार गरिनु हुन्न भन्दै ज्येष्ठ नागरिकहरु प्रति हुने दुब्र्यवहारको विरुद्ध खुलेर बिरोध गर्ने बताइन् ।
गण्डकी ज्येष्ठ नागरिक संघको आयोजना तथा पोखरा बृद्धाश्रमको सह–आयोजनामा भएको उक्त कार्यक्रममा अधिकांस बक्ता एवम सहभागिले यस्ता सचेतनात्मक कार्यक्रम पालिका, प्रदेश र संघीय सरकारले गर्नु पर्ने दायित्व बोध गराए । कार्यक्रममा बोल्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासँघका केन्द्रीय सचिव तथा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले ज्येष्ठ नागरिकका लागि सरकार संग मिलेर थुप्रै काम गर्न चाहेको भए पनि खाशै चासो नदिइएकोमा गुनासो पोखे ।





