पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेशभित्र रहेका सिमसार संरक्षणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष ०८०÷०८१ का लागि सिमसार क्षेत्रको तथ्यांकका अभिलेखीकरण गर्दै प्रभावकारी संरक्षणका लागि बजेटको व्यवस्था गरेको हो ।
गण्डकीका अर्थमन्त्री जितप्रकाश आले मगरले भने, ‘प्रदेशभित्रका वनक्षेत्र तथा सीमसार सम्बन्धी विषयगत तथ्यांकको अभिलेखीकरण तथा प्रविधिको व्यवस्थापन गरी यसलाई योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमनको अभन्नि अंगको रुपमा उपयोग गर्ने प्रणालीको विकास गरिनेछ । ताल संरक्षण तथा विकास प्राधिकरण मार्फत सीमसार क्षेत्रहरुको प्रभावकारी संरक्षण एवम् सौन्दर्यकरणको लागि रु. १ करोड विनियोजन गरेको छु ।’
गण्डकीका सिमसार व्यापक रुपमा पुरिन थालिएको छ । राज्यले सिमसार नीति ल्याएपनि उचित योजना ल्याउन नसक्दा जग्गा धनीहरुले सिमसार पुर्दै घडेरीको रुपमा विकास गरिरहेका छन् । सिमसार मासिने काम सबैभन्दाबढी फेवातालमा भएको छ ।
फेवाताल आसपास रहेका सिमसार धमाधम पुरिँदै गइरहेको छ । सिमसारमा अनुमति विनानै धमाधम पुर्दै घडेरीका लागि तयार गरिएको २७० बढी प्लटिङमा डोजर चलाएको थियो ।
यस्तै जोखिमयुक्त जलाधार क्षेत्रको संरक्षण, भूक्षय रोकथाम तथा पहिरो नियन्त्रणसंगै भुसंरक्षणका लागि तारजाली खरिद गर्न १५ करोड ८९ लाख रुपैयाँ विनियोजन गरेको छ ।





