नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेलाई २९१ रनका विशाल लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुल ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाउन सफल रह्यो । नेपालका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात गराए । यो नेपालको ओडिआईमा उच्च साझेदारी हो । यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको गरेका थिए । उक्त साझेदारी तोडेका हुन् ।
भुर्तेल स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड आउट हुन पुगे । कुशल करिअरको दोस्रो शतक पूरा गर्न मात्रै एक रनले चुके । कुशल ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनमा आउट भए । आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए । मसाकाड्जाको बलमा ठूलो सट खेल्ने धुनमा रायन बर्लबाट क्याच आउट हुन पुगे ।
तीव्र गतिका बलर रिचर्डको चौथो ओभरको चौथो बलमा कुशल भुर्तेलले ब्यक्तिगत एक रनमा जीवनदान पाएका थिए । यस्तै ४२ औं ओभरको चौथो बलमा जिम्बावेका विकेटकिपरले गल्ती गरेपछि नेपालले पाँच रन पेनाल्टी पाएको थियो । जिम्बावेका विकेटकिपर क्लाइभ मडान्डेले बल समाउनेक्रममा गल्भ्स निकाल्न पुगेका थिए । गल्भ्स फुकाल्ने बेला बलले लागेपछि पाँच रन पेनाल्टी पाएको हो ।
कुशल मल्ल ४१ रनमा क्याच आउट हुन पुगे । उनले ४२ बलमा २ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ३१ रनमा क्याचआउट हुन पुगे । उनले २९ बलमा ५ चौका प्रहार गरे । आरिफ शेख १० रनमा, गुल्सन झा १३ रनमा, दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । करण केसी २ रन र सोमपाल कामी शुन्यमै अविजित रहे ।





