मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

धरौटीमा छाड्न कास्की जिल्ला अदालतको आदेश, म्याग्दी लगिने

धरौटीमा छाड्न कास्की जिल्ला अदालतको आदेश, म्याग्दी लगिने


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८०, मंगलबार

पोखरा/ जबरजस्ती करणी आरोपमा पक्राउ परेका भ्लगर प्रभात बसेललाई जिल्ला अदालत कास्कीले एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । सोमबार जिल्ला अदालत कास्कीको इजलाश नंम्बर २ मा न्यायधीश केशवप्रसाद बास्तोलाको एकल इजलासले उनमाथिको मुद्दामा धरौटी माग गर्ने आदेश गरेको हो । परिवर्तित नाम ४३(४०) ले उनी विरुद्ध म्याग्दी र पोखरामा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । सोमबार अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार नवराज दंगालले जानकारी दिए ।

कास्कीले छाड्ने आदेश दिएपनि भ्लगर प्रभात प्रहरी नियन्त्रणमै रहनेछन् । म्याग्दी अदालतले तोकेको धरौटी तिरिनसकेकाले उनलाई म्याग्दी लगिने भएको छ । म्याग्दी जिल्ला अदालतका तहसिलदार शंकर सापकोटाले प्रभातलाई अब म्याग्दी अदालतमा हाजिर गराउनुपर्ने जानकारी दिए । ‘म्याग्दीमा धरौटीमा छाड्न आदेश भएपछि कास्की चलान भएको हो । प्रभातले म्याग्दीमा धरौटी तिरेका छैनन्,’ उनले भने, ‘कास्कीमा धरौटी बुझाएर निस्किएलगत्तै उहाँ म्याग्दी आएर धरौटी बुझाउनुहुन्छ । यहाँ तारेखमा आउनुहन्छ अब ।’ उनका अनुसार जिल्ला अदालत म्याग्दीले कास्कीबाट छुटेको अवस्थामा ‘म्याग्दी जिल्ला अदालतमा उपस्थिति गराइदिनू’ भनी पत्रचारसमेत गरेको छ । कास्कीमा धरौटी बुझाएपश्चात प्रहरीले म्याग्दी अदालतमा बुझाउने उनले बताए ।

यसअघि जबरजस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी आरोपमा थुनामा रहेका भ्लगर प्रभातलाई साढे दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत म्याग्दीले आदेश गरेको थियो । गत बिहीबारको थुनछेक बहसपछि बसेललाई अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दामा २ लाख ५० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो । जिल्ला अदालत म्याग्दीका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले केही सर्तसहित उनलाई धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले म्याग्दी प्रहरीसँग समन्वय गरिराखेको जानकारी दिए । यो समाचार तयारपार्दासम्म विकले म्याग्दीमा धरौटी तिरेको या नतिरेको भन्ने आधिकारिक जानकारी नआएको र त्यसका लागि सम्पर्क भइराखेको बताएका थिए ।

बागलुङ नगरपालिका–९,तित्याङका २३ वर्षीय प्रभातलाई यही जेठ ७ गते पोखराबाट प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । प्रभातविरुद्ध जायरवाला ४३(४०) (नाम परिवर्तन) ले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाइ बलात्कार गरेको भन्दै जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दी र कास्कीमा जाहेरी दिएकी थिइन् । प्रभातका आफन्त र साथीह्रुले केटीका अभिभावकले स्वीकार गर्छौँ भनेर बोलाएर केटा, केटीलाई छुट्टाएका र पछि केटीलाई उचालेर प्रभातविरुद्ध मुद्दा हाल्न लगाएको बताएका छन् । उनीहरुले सोमबार जिल्ला अदालत कास्की बाहिर प्रभातले न्याय पाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।जायरवाला र प्रभात १५ दिन भारतको कलकत्तामा बसेर फर्किएका थिए ।
जवरजस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दामा २४ दिनदेखि हिरातमा रहेका बसेलको म्याग्दी र कास्की प्रहरीमा भएको अनुसन्धानपछि गत मंगलबार प्रतिवेदन बुझाउने तयारी गरेको थियो । प्रहरीले बयान तथा अनुसन्धानमा उपलब्ध विवरणसहितको घटनाको निष्कर्ष निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि अदालती प्रक्रियामा प्रवेश गरेको थियो ।

बसेलका आफन्त, सामाजिक सञ्जालका समर्थक र दलित अगुवाहरुले बिना सर्त रिहाइको माग गर्दै देशैभर प्रदर्शन गरिरहेका छन् । १५ दिन भारतको कलकत्तामा दुई जनासँगै बसेर केटीका अभिभावकले स्वीकार्छौँ भनेर बोलाएर केटा– केटीलाई छुट्टाएका र पछि केटीलाई उचालेर प्रभातविरुद्ध मुद्दा हाल्न लगाएको प्रभात पक्षको आरोप छ । जायरवाला युवतीका परिवारले भने आरोप अस्वीकार गर्दै आइरहेका छन् । सामाजिक सञ्जाल, फोन तथा अन्य विभिन्न माध्यमबाट धम्काउने, निरन्तर मानसिक तनाव दिएपछि प्रहरीमा निवेदन दिएको उनीहरुको भनाइ छ । बसेलका साथीहरुले प्रेमसम्बन्धमा रहेकाले आरोप फिर्ता लिइ अलग बस्ने वातावरण बनाउन माग गर्दै आइरहेका छन् ।

प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए । आमाको मृत्यु र बुवाले दोस्रो विवाह गरेपछि बागलुङ आएका प्रभात कामको खोजीमा बेनी आएका थिए । अहिले सामाजिक सञ्जालमा बसेलको न्यायका लागि धेरै आवाज उठेको छ भने अधिकारकर्मीले कानूनी प्रक्रियबाट निश्पक्ष छानविन गरी दुबैलाई न्याय दिन अनुरोध गरेका छन् ।दलित अगुवाहरुले जातीयताकै अधारमा अलग बनाउन खोजेको बताइरहेका छन् भने पीडित पक्षले जातियभन्दा मानसिक पीडाका कारण कानुनी उपचार खोजेको बताएका छन् । प्रभातको आमा र दुई जना भाइको २०७२ को भूकम्पमा परेर काठमाडौमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->