पोखरा/पोखरामा अन्तर्राष्ट्रिय योग दिवस भव्यताका साथ मनाइएको छ । पोखरामा रंगशालामा मंगलबार एक कार्यक्रमका बीच योग दिवस मनाइएको हो । योग दिवस मनाउँदै गर्दा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरालाई योगको केन्द्र बनाउन आग्रह गरेका छन् । उनले नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ रहेको सुनाउँदै पोखरालाई योगको केन्द्र बनाउन भारत सरकारले सहयोग गर्ने बताए । उनले भारतबाट सबैभन्दा बढी पर्यटक पोखरामा आउने गरेको र यो संख्या अझै बढाउनका लागि हरेक वर्ष योग दिवस पोखरामा मनाउन अनुरोध गरे ।
‘मैले भर्खरै मात्र बुझेको नेपालमा आउनेमध्ये धेरै पर्यटक पोखरामा आउँने रहेछन् । यो संख्या अझै बढ्छ भन्ने मैले विश्वास लिएको छु । त्यसका लागि हरेक वर्ष योग दिवस मनाउनुपर्छ,’ उनले भने, ‘पोखरालाई योगको सेन्टर बनाएमा पर्यटक बढ्छ । यसका लागि भारतीय दूतावास यहाँको सरकारसँग मिलेर अघि योग दिवस मनाउन चाहन्छ ।’ वर्षभर कार्यक्रम गरेर भारत र पोखराको सम्बन्ध बढाउने सकिने उनको धारणा थियो । उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सफल र महत्वपूर्ण रहेको बताए ।
नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको र यसका लागि भारतका विभिन्न सहरहरुबाट उडान भर्न सकेमा व्यापक सम्भावना बढ्ने बताए । उनले आफुहरुले उडानका लागि भारत सरकारबाट साथ मिल्ने विश्वास लिएको बताए । भारतले उडान अनुमति दिएमा सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध प्रगाढ भएर जाने उनको भनाइ थियो । उनले योग गर्दै प्रकृतिको मनोरम दृष्य हेर्न भारतीयहरुलाई आमन्त्रण गरे । पोखराको बयान गर्दै उनले योगका लागि निकै उत्कृष्ट रहेको सुनाए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतको सम्बन्ध पुृरानो, असल र एकै दर्शन, संस्कृति र सभ्यताबाट अघि बढेको सुनाए । त्यसको निरन्तरता आजको दिनसम्म पनि अघि बढेको र धार्मिक धामहरुलाई योगको साधना स्थलको रुपमा परिणत गर्दै अघि बढ्ने गण्डकी सरकारको लक्ष्य रहेको उनको भनाइ थियो । धार्मिक स्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा अघि बढाउने बढाई भारतीय धर्मगुरुलाई भ्रमण गराएर पर्यटन पुर्वाधारका बाटोहरु अगाडी बढाउनेमा उनले जोड दिए ।





