मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नियमित उडान अन्योलमै

नियमित उडान अन्योलमै


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८०, बिहिबार

पोखरा/संचालनमा आएको १७२ दिनपश्चात पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज ८४ जना यात्रु र १२ जना चालकदल बोकेर मंगलबार विहान ९ बजेर २ मिनेट जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो विमान चीनबाट बिहान ६ बजेर ४ मिनेटमा उडेको थियो । पोखरामा असार ८ र ९ गते आयोजना हुने चीनको परम्परागत खेल ड्रागन बोट रेसमा सहभागी खेलाडी बोकेर उक्त चार्टर विमान पोखरा आएको छ । पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान अवतरण भएपछि यात्रुहरुको भव्य स्वागत सत्कारसमेत गरिएको थियो ।

तर, विमानस्थलबारे पुनः एकपटक नेपाल र चीनबीच कुरा बाझिएको छ । चीनले बीआरआई योजनाअन्तर्गतको योजना रहेको बताउँदा नेपालले भने बीआरआई योजना नभएको बताएको छ । पोखरा विमानस्थल निर्माणपश्चात संचालनका लागि उद्घाटन गर्दा चीनका कार्यवाहक राजदूत वाङ सिनले ‘बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) का लागि विमानस्थल उज्ज्वल कार्य बनेको’ धारणा सार्वजनिक गरेका थिए । त्यतिबेला काठमाडौंस्थित चिनियाँ दूतावासले वक्तव्य जारी गर्दै पोखरा विमानस्थल बीआरआईअन्तर्गत रहेको दाबी गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको खण्डन गर्दै विदेशी ऋण सहायतामा निर्माण भएका भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थल परियोजनालाई चीनसँगको भूराजनीतिक परियोजनासँग जोड्न नमिल्ने बताएको थियो ।

मंगलबार पुनः चीनका राजदुत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तरगतको भएको बताए । उनले पोखरामा निर्माण भएको विमानस्थल चीनका राष्ट्रपति सी जिनपिङको पहलमा बीआरआई योजनाअन्तर्गत रहेको बताएका छन् ।

‘यस वर्ष एचई को १० औं वार्षिकोत्सव मनाइन्छ । राष्ट्रपति सी जिनपिङको ‘बेल्ट एण्ड रोड’ पहलमा जडान बीआरआई पहलको सबैभन्दा महत्वपूर्ण भाग हो । योे एक महत्वपूर्ण भागको रूपमा ट्रान्स हिमालयन बहुआयामिक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कनेक्टिभिटी सञ्जाल औपचारिक रूपमा स्थापित भएको छ,’ उनले भने,‘ चिनियाँ इन्जिनियरिङको गुणस्तरलाई मूर्त रूप दिने चीन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार निर्माण भएको विमानस्थल नेपालको राष्ट्रिय सम्मानको प्रतिक हो ।’

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्राधिकरणले २०७२ सालमा चीन सरकार र त्यहाँको एक्जिम बैंकको १ अर्ब ३७ करोड ८७ लाख ४० हजार चिनियाँ युआन ऋण नेपाल सरकारमार्फत लिएको थियो । जसमा एक्जिम बैंकबाट ३५ करोड ५९ लाख ३० हजार युआन निब्र्याजी र १ अर्ब २ करोड २८ लाख १० हजार युआन ब्याज तिर्ने सर्तमा गरी १ अर्ब ३७ करोड चिनियाँ युआन ऋण सम्झौता गर्दै नेपाल सरकारले प्राधिकरणलाई ५ प्रतिशत ब्याजदरमा (सहायक ऋण) उपलब्ध गराएको थियो । चिनियाँ रकम प्राधिकरणले लिँदा प्रचलित विनियम दरअनुसार २२ अर्ब रुपैयाँ हाराहारी हुन आउँछ । यो ऋणको सर्तअनुसार प्राधिकरणले ७ वर्ष ग्रेस अवधिमा ब्याजको किस्ता मात्रै बुझाउँदै आएको थियो ।

यता राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नियमित उडान गर्न सकेमा मात्रै पर्यटन प्रवद्र्धन हुने बताए ।उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरूले जागरुकता देखाउनुपर्ने बताए । तिमिल्सिनाले नियमित रूपमा उडान कायम राख्न केन्द्र सरकार, प्देश सरकार, पोखरा महानगर, पर्यटन व्यवसायी र मित्रराष्ट्रहरूको साझा प्रयत्न गर्न आवश्यक रहेको सुनाए । उनले भारतसँग जमिन सिमाना खुल्ला झै आकाश सीमाना पनि खुल्ला बनाउनेतर्फ सोच्नुपर्ने धारणा व्यक्त गरे । त्यसका लागि कर्मचारी र सम्बन्धित संस्थाका कर्मचारीहरुले कान ढालेर बसेमा विमानस्थल सञ्चालन हुन नसक्ने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अन्तर्राष्ट्रिय उडान गरिए पनि निरन्तर उडान आवश्यक रहेको बताए । उनले अहिले चार्टर उडान गरेको भएपनि नियमित उडान भर्न सकेमा पोखराको पर्यटन निकै चलायमान हुने बताए । ‘अन्तर्राष्ट्रिय उडान सुरुवात गर्नु धेरै ठूलो कुरा हो । योभन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो । लामो यात्राको पहिलो पाइला हामीले प्रारम्भ गरेको अनुभूति भएको छ,’ उनले भने, ‘सगरमाथा विश्वशिखर मात्रै होइन, विश्वकै अग्लो सिमाना पनि हो । योभन्दा अग्लो सिमाना दुनियाँमा कतै छैन तर, अनौठो कुरा यो प्राकृतिक सिमाना जति अग्लो छ । त्योभन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ ।’गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तर्राष्ट्रिय उडान नियमित रुपमा भएमा अन्तर्राष्ट्रिय सम्बन्ध बन्ने बताए । उनले अब नियमित उडानका लागि पहल गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->