क्रिकेट खेल भन्ने वित्तिकै वेस्ट इन्डिजलाई नचिन्ने कोहि छैनन् । वेस्ट इन्डिज विश्व क्रिकेटको शक्तिशाली टिम मध्येकै एक हो । वेस्ट इन्डिज नाम मात्रै होइन चार पटक विश्वकप उपाधि उचालेको टिम समेत हो ।
त्यहि चार पटकको विश्वकप विजेता टोलीसँग आज नेपालले विश्वक छनौटकै लागि आफ्नो तेस्रो खेल खेल्दैछ । पछिल्लो समय क्रिकेटमा लय समात्दै गरेको नेपालले शक्तिशाली टिमसँग अबको केहि समयमा प्रतिस्पर्धा गर्दैछ ।
दुई खेल खेलिसकेको नेपाल एक खेलमा हार र एक खेलमा जित निकाल्दै तेस्रो स्थानमा छ । एक खेल खेलेको वेस्ट इन्डिज दुई अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
नेपालका लागि यो विश्वकप विजेता टोलीसँगको पहिलो अनुभव हुनेछ । जिम्बावेमा जारी प्रतियोगिता नेपाली समय अनुसार १२ : १५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।
यी दुई राष्ट्र पहिलो पटक आम्ने साम्ने हुँदैछन् । नेपालको रोहित पौडेल र वेस्ट इन्डिजको शाई होपले कप्तानी गर्नेछन् । तर नेपालले वेस्ट इन्डिजको ब्याटिङको आकलन गरिसकेको छ ।
नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाई वेस्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षक हुन् । २०१९ देखी २०२३ सम्म वेस्ट इन्डिज टोलीमा रहेर काम गरेका मोन्टीलाई वेस्ट इन्डिजका ब्याटरको कमजोरी राम्रोसँग थाहा छ ।





