बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गलत पार्किङ र तीव्र गतिले लियो बालिकाको ज्यान

गलत पार्किङ र तीव्र गतिले लियो बालिकाको ज्यान


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८०, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिका २५ हेम्जास्थित चाक्लेकुलामा एउटा बोर्ड छ ‘चाक्ले कुना (म्याग्दी चोक) स्कुल क्षेत्र गति सीमित’ तर त्यो बोर्डतर्फ कसैको ध्यान जाँदैन । बाटो आरपार गर्न ‘जेब्रा क्रस’ पनि छ । सोही जेब्रा क्रसबाट पैदलयात्रीहरु बाटो काट्ने गर्छन् । हरेक दिनजसो सोही स्थानबाट विद्यालय जाने विद्यार्थीहरु बाटो काट्दै जादै थिए । तर, बुधबार भने जेब्रा क्रस नजिकै एउटा मिनीट्रक रोकेर राखेको थियो । जेब्रा क्रस नजिक दुईवटा लाइन तानिएको छ । त्यो लाइनलाई सवारीले क्रस गर्न पाउँदैन तर उक्त मिनीट्रकले त्यो लाइन क्रस गरेको थियो । जसका कारण विद्यालय जाने विद्यार्थी तथा पैदलयात्रीलाई बाटो काट्न सहज थिएन । सोमबार सोही ट्रककै कारण दुर्घटना हुँदा ९ वर्षे बालिकाले ज्यान गुमाउनु परेको छ ।

स्थानीयले देखाएको सिसिटिभी फुटेज अनुसार लामो समयदेखि रोकिराखेको ट्रकले बाटो काट्न निकै सकस परिरहेको थियो । एक स्थानीयले भने ‘नहुनु घटना भयो तर यो भिडियो हेर्नुस त (सिसिटिभी फुटेज) यसरी मान्छेहरुलाई ट्रकले समस्या पारिरहेको छ,’ उनले भने, ‘अलिकति माथि वा जेब्रा क्रसभन्दा तल रोके पनि हुन ेथियो त लाइननै कटाएर राखेको छ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिवप्रसाद पाठकका अनुसार चालकको लापरवाहीका कारण दुर्घटना भएको हो । उनका अनुसार तीव्र गतिले दुर्घटना निम्त्याएको हो । ‘हेमजाको चाक्ले कुला चोकमा बागलुङतर्फबाट पोखरा आउँदै गरेको ध १ ज ९५२ नम्बरको ट्याक्सीले ठक्कर दिएको देखिन्छ,’ उनले भने, ‘जेब्रा क्रसिङमा बाटो क्रस गर्दै गरेकी ९ वर्षीय बालिका रेखा लाम्गादेलाई ठक्कर दिएको हो । गम्भीर घाइते उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् ।’ बालिकालाई ट्याक्सीले ठक्कर दिएपछि करिब १३० फिट अघिसम्म धसारेको पाठकले बताए । ट्याक्सी चालक ३९ वर्षका गोपाल जिसीलाई नियन्त्रण लिई वडा प्रहरी कार्यालय बगरमा राखेको उनले जानकारी दिए । उनका अनुसार उक्त मिनी ट्रकलाई समेत खतरा तरिकाले रोकेको कारण नियन्त्रणमा लिएर छाडेको छ ।

‘गल्ति छ भन्दैमा त्यसलाई खतरा किसिमले रोकेको भनेर नियन्त्रणमा त लियौँ तर जसले पनि त रोक्न सक्छ नि त । पहिलादेखि नै बाटो क्रस गर्दाखेरी रोक्न सक्छ । अर्को सवारीले ह्वात्त ओवटेक गर्न त पाइएन नि त’ उनले थपे, ‘जेब्रा क्रसमा रोकेको छैन उसले जेब्रा क्रसभन्दा उता (उत्तरतर्फ) रोकेको छ । उता रोक्दाखेरी अर्को सवारीले उसलाई ओवटेक गरेर आयो । किन रोक्यो भनेर त झन विस्तारै आउनुपर्ने हो नि त स्वभाविक रुपमा ।’ तर, उनको कुरा र सिसिटिभी फुटेज भने मेल खादैन । जेब्रा क्रसमै नरोकेपनि त्यहाँ बनाइएको बोर्डरलाई क्रस गरेको थियो । उक्त ट्रकले त्यहाँ बाटो काट्न लागेको देखेर नभई अन्य कारणले नै रोकेको सिसिटिभी फुटेजमा स्पष्ट छ ।

एक स्थानीयका अनुसार सोही सवारीको कारणले पनि दुर्घटना भएको हो ।‘त्यो सवारी त्यहाँ त्यसरी रोक्दा अन्य पैदलयात्रीलाई पनि बाटो काट्न असहज भएको थियो । त्यही गाडीबाट कोल्टे हुँदै गाडी आएको छ कि छैन् भनेर हेर्न पर्ने स्थिति थियो,’ उनले भने, ‘कारवाहिको भागिदार त्यो गाडी पनि हो । उसलाई पनि केहि कारवाही हुनुपर्छ ।’ ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ग्रामिण क्षेत्र सचेतनामुलक ५ गतेदेखि सप्ताहव्यापी कार्यक्रम मनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->