पोखरा/ गएरातिको भिषण वर्षासहित डाँडाबाट झरेको पहिरोले पोखरा महानगरपालिका वडा नं. २६ चण्डी टोलका नरबहादुर भण्डारीको तीनकोठे कच्ची घर, गोठ र दुई गाई पुरेर क्षति पु¥याएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थले कटान गरेको डाँडाको थाप्लोमा बिहीबार रातिको भिषण वर्षापछि जम्मा भएको पानी माटोसहित लेदो बनेर भण्डारी परिवारको घरमाथि खसेको थियो । पहिरोले पुरेर भण्डारीका दुईवटा जर्सी गाई मरेका छन् भने तीनकोठे कच्ची घर समेत बगाएको छ ।
कच्ची घरमा बसेका भण्डारी परिवार भने भागेर ज्यान जोगाउन सफल भएका छन् । पल्लो घरमा बसेका भण्डारी परिवार अर्को घरमा सुत्न जान लाग्दा आमा डम्बर कुमारीले आज नजाओ यतै सुत् भनेका कारण बाँचेको नरबहादुरले बताए । उनले भने,‘म, श्रीमती शान्ति, छोरा दिपेश र छोरी दिपिका अर्को घर सुत्न जान लागेका थियौँ, आमाले रोकेकाले ठूलो कालले बँचियो ।’
घटनास्थल देखाउँदै भण्डारीले भने,‘भाउजू र भतिजी पनि भागेर ज्यान जोगाउन सफल भइन् । भण्डारीकी भाउजू डिलमाया र भतिजी अरुणा पहिरोमा गड्दै निस्केर भागेको बताए । भण्डारीका अर्का दाई डम्बरबहादुर भण्डारीको घरको दुईतर्फ पहिरो आएपछि उनिहरुलाई राति नै उद्धार गरेर स्थानीय आमा समूहको भवन र टेण्ट राखेर अस्थायी रुपमा राखिएको छ ।
विहान पहिरो निरिक्षण गर्न पुगेका पोखरा महानगरपालिका वडा नंं २६ का वडाध्यक्ष नरेन्द्र थापाले अन्तराष्ट्रिय विमानस्थलले डाँडाको उचाई घटाउन डाँडो त काट्यो तर त्यसको जोखिम आँकलन नगर्दा समस्या भएको बताए । थापाले यसअघि पनि स्थानीयसहित आफुहरुले आयोजना र नागरिक उड्यन प्राधिकरणलाई स्थानीय बस्तीको संरक्षण, भू—क्षय नियन्त्रण, माटोको व्यवस्थापन उचित तवरले गर्न ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको बताए ।
अध्यक्ष थापाले पहिरोबाट विस्थापित भण्डारी परिवारको व्यवस्थापन र मरेका पशु एवं घरको क्षति आंकनल गरी राहत उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरण र पोखरा महानगरपालिकालाई लेखी पठाएको बताए । डाँडा कटानले निम्त्याएको जोखिम न्यूनिकरण गर्दै, तत्काल भण्डारी परिवारका तीनवटा घर स्थानान्तरण गर्नु पर्ने अध्यक्ष थापाले बताए ।





