मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकीको बजेट : आफ्नो हात जगन्नाथ !

गण्डकीको बजेट : आफ्नो हात जगन्नाथ !

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको हालीमुहाली, मन्त्री बनेकाहरुको ६ जिल्लामा सयौं योजना । मनाङ–मुस्ताङ सधै उपेक्षित ।


  • ढोरपाटन संवाददाता
  • असार १० २०८०, आइतबार

पोखरा/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे गोरखा नगरपालिका १ पालुङटारका हुन् । उनको वडा कार्यालय जाने बाटोको लागि गण्डकी प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको छ । सातदोबाटो देउराली अन्नपूर्ण मोटरबाटो नामक यो योजना पूर्वाधार विकास कार्यालय गोरखाले यो कार्यक्रम कार्यान्वयन गर्नेछ ।

गोरखाकै भिमसेन थापा गाउँपालिकाको वडा नं. ४ मा मात्रै सडकका दुइवटा नयाँ आयोजनालाई ३०/३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । नारायणथला देखि रामती स्कुल हुँदै प्रभात स्कुलसम्मको सडक स्तरोन्नती र प्रभात मावि विमलटार सडक स्तरोन्नतिको लागि सरकारले बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाको वडा हो, यो ।आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेको वडामा पनि सडकमा मात्रै १ करोड विनियोजन भएको छ । पूर्वाधार कार्यक्रमअन्तर्गत नै पुलको लागि पनि उनको वडामा थप १ करोड बजेट विनियोजन भएको छ ।

बुडुवा खोला पुलको लागि १ करोड, मालेबगरदेखि अठ्ठाइस बाहुन्दी हुँदै मिर्छुलुङ जोड्ने वैकल्पिक सडक र सुधार भैरव मोटर मार्ग स्तरोन्नती भनेर आले आफैले आफ्नै वडामा ५०/५० लाख बजेट छुट्टयाए ।
दरबाङ–बिम बिच्याम सडकको लागि भनेर ४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । म्याग्दीको मालिका गाउँपालिकाको ६ र ७ मा पर्ने यो आयोजना सहित बिम तल्लोगाउँ डाँडागाउँ सडक स्तरोन्नति ३० लाख रुपैयाँ छुट्टै विनियोजन भएको छ ।भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशम जुग्जालीको वडा मालिका ७ नै हो ।

सरकारमा रहेकाहरुले कसरी पहुँचको आधारमा वडामै करोड रुपैयाँसम्मका बजेट विनियोजन गर्छन भन्ने प्रमाण हो, यो ।आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि असार १ गते ३३ अर्ब ४२ करोडको बजेट प्रस्तुत गरेका आर्थिक मामिलामन्त्री आलेले आफ्नोमात्र होइन मन्त्रीहरुका वडामा पनि करोडौँको बजेट छुट्टाएका छन । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विकास कार्यक्रममा मन्त्रीहरुले आफ्नो वडासम्म करोडौँ बजेट विनियोजन गर्दा प्रदेशका अन्य जिल्लाको बजेट भने नगण्य छ ।

आगामी आर्थिक वर्षमा सरकारले भौतिक सडक र पुलका पूर्वाधारमा मात्रै ११ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ । यो बजेटबाट तीन सय किमि सडक कालोपत्रे हुने, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य सरकारको छ ।

तर, वार्षिक विकास कार्यक्रमले के देखाउँछ भने ती सबै योजनाहरु मन्त्रीहरुका जिल्लामा केन्द्रित छन ।वित्तीय समानीकरण अनुदान अन्तर्गत पूर्वाधारका योजनाहरु गोरखामा मात्रै १२० वटा छन । यसका लागि सरकारले १ अर्ब २८ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला मन्त्रीको जिल्लामा १ अर्ब ४६ करोड ६० लाख रुपैयाँ त सडक र पुलका लागि मात्रै विनियोजन भएको छ ।

तनहुँमा सडक र पुलका मात्रै १७० योजनाहरु परेका छन ।मन्त्री जुग्जालीको गृहजिल्ला म्याग्दीमा ७२ आयोजनाको लागि ५३ करोड ३७ लाख बजेट विनियोजन भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाको गृहजिल्ला बागलुङमा सडक तथा पुलको पूर्वाधारमा ८४ करोड ४९ लाख ८८ हजार रुपैयाँ बजेट छुट्टिएको छ । ११७ वटा कार्यक्रम बागलुङमा परेका छन ।स्याङजामा ९२ करोड ७० लाख ६८ हजार र नवलपुरमा ९२ करोड १७ लाख रुपैयाँ सडक र पुलमा मात्रै छुट्टिएको छ । उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीको गृहजिल्ला स्याङजा हो । नवलपुरका महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्था मन्त्री हुन ।स्याङजमा १३० र नवलपुरमा १०६ वटा योजना परेका छन ।

मन्त्रीका जिल्लामा अर्बभन्दा बढि र अर्बौँको हाराहारीमा बजेट र योजना पर्दा गण्डकीकै मनाङ मुस्ताङको हालत भने दयनीय छ । यी जिल्लामाा सडक र पुलका योजनाको संख्या पनि न्यून छ, बजेट पनि कम परेको छ । मुस्ताङका दुवैजना प्रदेशसभा सदस्य सत्ताको नेतृत्व गरेको कांग्रेसबाट निर्वाचित हुन । तर, मुस्ताङमा जम्मा २५ वटा सडक र पुलका योजना परेका छन । बजेट २५ करोड २० लाख विनियोजन भएको छ ।मनाङमा सबैभन्दा कम बजेट गएको छ । पुल र सडकको २३ वटा योजनाको लागि जम्मा १८ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सत्तारुढ दलकै भएतापनि सरकारसँग निकट र प्रभाव हुन नसक्दा बजेटमा उनीहरुको पहुँच पुगेन ।

मन्त्रीको वडा र पालिकामा विनियोजन भएको बजेटको हाराहारीमा पनि जिल्लामा योजना परेका छैनन । सडक र पुलको मात्रै नभई हरेक योजनाको अवस्था भने यस्तै छ ।सशर्त अनुदान सम्भावित प्रादेशिक सडकहरु शिर्षक अन्तर्गतका योजनामा पनि मुख्यमन्त्री, मन्त्रीहरु कै हालीमुहाली छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत सशर्त अनुदान का नाममा पूर्वाधार विकास निर्देशनालय कास्कीले कार्यान्वयन गर्नेगरि गोरखाको अबुवा–बिर्दी सेराबजार पौवाटार सडक कालोपत्रेको लागि १२ करोड ४० लाख रुपैयाँ विनियोजन भएको छ ।

नवलपुरको आलोक चक्रपथ सडकको लागि ११ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन हुँदा बागलुङको अदालत चौतारी तित्याङ सालबोट दह भकुन्डे रायडाडा दमेक ब¥याङ सडक कालोपत्रे ११ करोड ८५ लाख रुपैयाँ छुट्टिएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->