पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका –३ को पाउदुरको पहिरोले मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, मन्त्रालयका उपसचिव लक्ष्मी भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णबहादुर केसी, मध्यपहाडी लोकमार्ग आयोजनाका प्रतिनिधि ठाकुर भण्डारी, पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानिया, वडा अध्यक्ष फडिन्द्रप्रसाद पौडेलसहितको टोलीले बिहिबार बिहान पहिरोको स्थलगत अध्ययन गरी वैकल्पिक सडक सञ्चालन गर्ने निर्णय गरेको हो ।
ठूला सवारी साधनले राजमार्गनै प्रयोग गर्ने, साना सवारी साधनका काँडे–मनाङचे–पत्थरचोक र पत्थरचोक–पाउदुरकोट सडक प्रयोगमा ल्याइएको हो ।
चार वर्षअगाडि भासिएको सो सडकमा पहिरो रोकथाम गर्न तीन करोड ५० लाखमा ठेक्का लिएको ओमबुद्ध इन्टरनेशनलसँगको सम्झौताको दोस्रो पटक थपिएको म्याद यही असार ५ गते सकिएको छ । हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति छ ।
जम्मा ८० मिटर क्षेत्रलाई स्टेभल बनाउने कार्यअन्र्तगत ६५ मिटरको फाउन्डेसन बनेको छ भने १५ मिटरको काम अझै सुरु भएको छैन् । तत्काल सडक निर्माण हुने नदेखिएपछि पहिरो नियन्त्रणको बैकल्पिक उपाय खोजेर नियमित यातायात सञ्चालनको लागि प्रयास गरिएको मन्त्री जुग्जालीले बताए ।





