बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट कृषकलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८०, सोमबार

पोखरा/ पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषक गरी १५ जना कृषकहरुलाई नगदसहित सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले ती कृषकहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन् ।

उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैंसीपालक कृषक दीपक तिमिल्सीना, पोखरा २५ का गाईपालक कृषक घनश्याम तिमिल्सिना, पोखरा १७ का कुखुरापालक कृषक चन्द्रकान्त बराल, पोखरा २० का बाख्रा पालक कृषक दुर्गाबहादुर गुरुङ र पोखरा १९ की बंगुरपालक कृषक सरस्वती बस्ताकोटी रहेका छन् । पोखरा महानगरपालिकाको तर्फबाट उत्कृष्ट कृषकहरूलाई करसहित नगद १० हजार र ज्येष्ठ प्रवद्र्धक कृषकहरूलाई कर सहित ३ हजार साथमा सम्मानपत्र प्रदान गरिएको हो ।

यस्तै पाडीबाच्छी हुर्काएर माउ बनाउने ५ सय जना कृषकलाई ३ हजार र एक हजार पाडीबाच्छी हुर्काउनका लागि ४ हजारका दरले अनुदान उपलब्ध गराइएको छ । महानगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूलाई ८हजारका दरले ५० जनालाई बाख्रा खरिदका लागि अनुदान समेत प्रदान गरिएको छ ।

यसैबीच पोखरा महानगरपालिकाले नेपालमै पहिलो पटक प्रचलित कानुन अनुसार मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गरिरहेका मासु व्यवसायीहरूलाई वैधानिकताको परीक्षण पश्चात एकै प्रकारको बोर्ड समेत उपलब्ध गराएको छ । महानगरपालिकाको तर्फबाट व्यवसायीहरूको पहिचानका लागि प्रदान गरिएको एकै प्रकारको बोर्डले उनीहरूको वैधानिकता पुष्टि गर्नेछ । ७० बढी व्यवसायीहरूलाई बोर्ड सहित मासु काट्ने चक्कु, एप्रोन र टिसर्ट, बुट, पन्जा र मास्क, सरफ, फिनेल र लिजा ५–५ लिटर साथमा परिचय पत्र पनि वितरण गरिएको छ ।

पशुबध तथा मासु जाँच ऐन २०५५, पशुबध तथा मासु जाँच नियमावली २०५७, महानगरपालिका मासु जाँच निर्देशिका २०६८ तथा महानगरपालिका पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०७७ बमोजिम आवश्यक मापदण्ड पूरा गरेका वयवसायीहरुलाई पहिलो चरणमा यस प्रकारको सहयोग गरिएको महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार महानगर क्षेत्रमा करिब ६ सयको हाराहारीमा ठुला तथा साना मासु व्यवसायीहरू रहेका छन् ।

व्यवसायीहरूलाई प्रदान गरिएको बोर्ड र परिचय पत्रले सम्पूर्ण कानुनी प्रक्रियाको सुनिश्चितता गर्ने गरी आवश्यक सहजीकरण गरिएको प्रमुख आचार्यले बताए उनले बोर्ड नराखिएको पसलमा मासु नकिन्न सार्वजनिक आह्वान गरिने घोषणा पनि गरे । महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले महानगर क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालित मासु व्यवसायीहरूलाई नियमन गर्न समेत यस प्रकारको कार्यले महत्वपुर्ण सहयोग पुग्ने बताइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->