पोखरा/ गण्डकी सरकारले ‘उज्यालो प्रदेश’अभियानलाई सघाउन नेपाल विद्युत प्राधिकरण गुहारेको छ ।
संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ सालमै एक वर्ष भित्र गण्डकीका सबै घरमा उज्यालो पु¥याउने घोषणा गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन । हालसम्म गण्डकीका ९९.५ घरमा मात्र उज्यालो पुगेको छ । पछिल्लो जनगणना अनुसार गण्डकीमा ६ लाख ६१ हजार ६३२ घरधुरी रहेको छ । तीमध्ये बिजुली प्रयोग गर्ने ६ लाख ४५ हजार ७८० जना रहेका छन् । मट्टितेल प्रयोग गर्ने १ हजार ५०५, बायो ग्यास १०५ र अन्य माध्यमबाट उज्यालोको जोहो गर्ने १ हजार ६०९ घर परिवार रहेका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सो आग्रह गरेका हुन् । लघु जलविद्युत र शौर्य उर्जाबाट विद्युतीकरण भएका क्षेत्रमा राष्ट्रिय प्रशारणलाइन बिस्तार गर्नुपर्ने उनको माग थियो । मुख्यमन्त्रीले बुढीगण्डकी जलविद्युत परियोजना बारे पनि चासो राखेका थिए ।
प्रत्युत्तरमा कार्यकारी निर्देशक घिसिङले उज्यालो गण्डकीप्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सव स्टेशनहरु निर्माण, ग्रिडलाइन बिस्तारको काम अघि बढिरहेको बताए । उनले बुढीगण्डकी छिटो निर्माण हुनुपर्ने भएपनि त्यसो हुन नसकेको स्वीकारे ।





