पोखरा/ यहाँको जनप्रिय बहुमुखी क्याम्पसले पर्यटन व्यवसायमा आवश्यक जनशक्ति तयार गर्न आवश्यक पाठ्यक्रमबारे छलफल थालेको छ । पर्यटन र हस्पिटालिटी म्यानेज्मेन्ट पढाउँदै आएको जनप्रियले पाठ्यक्रममा आवश्यक परिमार्जनबारे सुझाव पनि लिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जनप्रियले स्वायत्त कार्यक्रमको रुपमा ब्याचलर इन माउन्टेन टुरिज्म म्यानेजमेन्ट (बिएमटिएम) र एमबीए हस्पिटालिटी म्यानेजमेन्ट अध्यापन गराउँदै आएको छ । क्याम्पस प्रमुख लोकराज भण्डारीले विश्वकै सबैभन्दा ठूलो उद्योग पर्यटनका लागि आवश्यक गुणात्मक जनशक्ति तयार गरी देशको समृद्धि र विश्व बजारमै अवसर पाउने ढोका क्याम्पसले खोलेको बताए ।
कार्यक्रममा नाट्टा गण्डकीका हरिराम अधिकारी, टानका धर्म पन्थी, पर्यटन व्यवसायी लक्की कार्की, पोखरा बर्ड सोसाइटीका मनशान्त घिमिरे, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य बासु त्रिपाठी, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव जानुका अधिकारीलगायतले अहिलेको नेपालको पर्यटन उद्योगलाई आवश्यक जनशक्ति तयार गर्न विश्वविद्यालयले तयार गर्नुपर्ने पाठ्यक्रम र प्रयोगात्मक शिक्षाबारे सुझाव दिएका थिए ।
छलफलमा जनप्रियका फ्याकल्टी श्रीकान्त खतिवडाले जनप्रियले सञ्चालन गर्दै आएको बिएमटिम कार्यक्रमबारे प्रकाश पारे । जनप्रियले चलाएका स्वायत्त कोर्सहरुबारे डा देवीलाल शर्मा र पर्यटन र हस्पिटालिटी कोर्सको पुनरावलोकनबारे डा रामजी शर्माले प्रकाश पारे । क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेको अध्यक्षतामा भएको हो ।





