पोखरा/ पोखरा महानगरपालिकाले पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत पोखरा पृथ्वीचोकदेखि कोत्रेसम्मको राजमार्गमा पर्ने संरचना भत्काउन सुरु गरेको छ ।
पहिलो चरणमा पृथ्वीचोकदेखि विजयपुर खोलासम्मका संरचना हटाउन सुरु गरिएको हो । पृथ्वी राजमार्गको दायाँबायाँ मापदण्डमा पर्ने निर्मित संरचना तथा सवारी साधनहरू लगायत अन्य सामाग्रीहरू हटाउने काम पोखरा महानगरपालिकाले थालेको छ ।
पोखरा महानगरपालिकाले पहिलो चरणमा पृथ्वीचोकदेखि विजयपुरसम्मको क्षेत्र खाली गराउनेछ । मापदण्डभित्र रहेका संरचना हटाइएको छ भने, लामो समयदेखि डम्प गरेर राखिएका पुराना सवारी साधन तथा ग्यारेजहरू समेत विस्थापन गरिएको छ । हटाउनका लागि महानगरपालिकाले गरेको आग्रहलाई अटेर गर्नेको सामग्री महानगरले नियन्त्रणमा लिएको छ ।
पोखरा मुग्लिन सडक एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा विस्तार गर्ने काम भइरहेको छ । तनहुँदेखि कोत्रेसम्म धमाधम काम चलिरहे पनि पोखरामा भने काम भएको छैन् । तीन वर्षे योजनाको एक वर्ष वितिसकेको छ । उक्त सडक चार लेनको बनाउन लागिएको हो । सडक आयोजनाको मापदण्डअन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ । सडकको बीच भागबाट २३/२३ मिटर दायाँ–बायाँका संरचनामा डोजर लगाएको महानगरका मेयर धनराज आचार्यले बताए । महानगरले ३५ दिने सूचना जारी गरेपश्चात माइकिङ गर्दा समेत अटेरि गरेपछि सोमबार एक्सनमा उत्रिएको हो । महानगरले पटक पटक सडकको राइट अफ वे खाली गर्न सूचना दिएको थियो ।
सडक मापदण्डभित्र पर्ने स्थायी संरचना भने मुआब्जा वितरणपछि भत्काउन थालिनेछ । आयोजनाअन्तर्गत पोखरा महानगरभित्र १७० घर भत्काउनु पर्नेछ । जसमा हालसम्म ११२ वटा घर एवं भौतिक संरचनाको मुआब्जा वितरण सकिएको छ ।
सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २–२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठुला र १२ वटा साना पुल बन्नेछन् । पोखरा महानगरपालिकाले मापदण्ड भन्दाभित्रको घरमा पनि डोजर लगाएको भन्दै केहिले असन्तुष्टिसमेत व्यक्त गरेका छन् । महानगरले चिनियाँ प्राविधिक लिएर सांकेतिक रुपमा भत्काउँदै पुर्ण रुपमा भत्काउनका लागि केही दिनको समय सीमा समेत दिएको छ ।





