एसिसि मेन्स इमर्जिङ टिम्स एसिया कप २०२३ मा नेपाल ३६.६ ओभरमा अलआउट हुन पुगेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई १ सय ८० रनको मध्यम लक्ष्य दिएको हो । कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १ सय ७९ रनमा अल आउट भयो ।
पाकिस्तानी बलरका सामु निरिह बनेको नेपालका लागि सोमपाल कामीको प्रदर्शन प्रसंशनीय योग्य रह्यो । सोमपालले १ सय १ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । एक समय १५.४ ओभरमा ७२–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई प्रतिश जि.सी र सोमपाल कामीले ५८ रनको साझेदारी गर्दै इनिङ उकास्ने काम गरेका थिए ।
प्रतिश २४ बलमा १ चौका र २ छक्कासहित २६ रनमा क्याच आउट भए । सोमपालले अन्तिम विकेटका लागि ललित नारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । ललित १० बलमा एक रनमा नट आउट रहे ।
कुशल मल्ल १७ रनमा बोल्ड भए । उनले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । अर्जुन साउद १७ रनमा आउट भए । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल एक रनमा बोल्ड भए । आसिफ शेख १२ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल ४ रनमा, भीम सार्की शून्यमा, पवन सरार्फ एक रनमा आउट भए ।
पाकिस्तानका शाहनबाज दाहानीले १० ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । मोहम्मद वासिम जुनियरले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिए ।





