पोखरा/ संघीयताको अभ्यासपछि पालिका तहमा खेलकुद विकास समिति गठन गर्ने प्रावधान बन्यो । तरm सदरमुकामको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा समिति गठन भएको छैन ।
गलकोट नगरपालिकाले भने युवा तथा खेलकुद विभाग गठन गरेर नियमित खेलका गतिविधि समेत संचालन गर्दै आएको छ । आफ्नै समिति नभएपछि बागलुङमा भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको संचालनमा बागलुङ नगरपालिकाले जिल्ला खेलकुद समिति र विभिन्न विषयगत संघको सहयोगमा कार्यक्रम सम्पन्न गरेको थियो ।
राष्ट्रपति खेलकुद प्रतियोगिता पनि जैमिनी नगरपालिका र बागलुङ नगरपालिका आफैंले गरेका छन् । नगरस्तरीय समिति नहुँदा नगरले सबै काम जिम्मा लिनु परेको बागलुङ नगर शिक्षा शाखाका प्रमुख धनप्रसाद पोखरेलले बताए । ‘गठन गर्ने अधिकार तथ नगरमै छ, खै के मिलेको छैन,’ उनले भने, ‘समिति गठन भएमा खेलका धेरै कार्यक्रम समितिले नै संचालन गर्ने थिए ।’
जैमिनी नगरपालिकामा त खेलाडीहरुले चर्को आबाज समेत उठाएर समिति गठन नभएकोमा जनप्रतिनिधिको विरोध समेत गरेका छन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा युवाहरुले तत्काल समिति गठन गर्न माग गरे । ‘जनप्रतिनिधि आएको ६ वर्ष पुगिसक्यो, खेलकुद समिति बनाउन सक्नु भएन,’ खेलाडी अरबिन थापाले भने,‘खेल क्षेत्र उपेक्षामा पर्दा युवाहरु दुव्र्यसनमा परेका छन् ।’ खेलकुद समिति गठन गरेर विषयगत खेलको बिकास गर्न सकेमा युवा पलायन रोक्न सकिने र दुव्र्यसनबाट बचाउन सकिने उनले बताए ।
जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले समिति गठन गर्न ढिलाइ भएपनि अबको वर्ष गठन हुने जानकारी दिए । ‘खेलका धेरै विधा हुने भएकोले पालैपालो एकएक विधामा सहयोग पनि गरेका छौं,’ पुनले भने, ‘समिति गठन भयो भने समितिमार्फत् क्रियाकलाप संचालन गर्न दिने नगरको नीति छ ।’ महत्वपूर्ण खेल क्षेत्रमा नगरपालिकले लगानी गरिरहेको भन्दै कतिपय खेलका विधा भएपनि लगानी गर्न नसकिएको उनले बताए । उनले धेरै मानिसको चासो र संलग्नता हुने खेलमा लगानी गर्ने बताए ।
गलकोट नगरपालिकामा भने विशेषगरी भलिबल, बास्केटबल र केही मार्सलआर्टका खेलहरु नियमित हुने गरेका छन् । ती सबै खेल युवा तथा खेलकुद समितिले संयोजन गर्ने गरेको अध्यक्ष योगेश भण्डारीले बताए । जिल्ला भलिबल संघका अध्यक्षसमेत रहेका भण्डारीले युवालाई खेलमा आकर्षण गर्ने गरी लगानी भने नपाइएको बताए । उनले विदेशमा बस्ने गलकोटेबाट समेत रकम संकलन गरेर बेलाबेलामा खेलका गतिविधि गरेको जानकारी दिए ।
गाउँपालिका तहमा पनि खेलकुद विकास समिति गठन गर्न पाउने प्रावधान छ । तर, बागलुङका पालिकाले गठन नगरेका हुन् । राष्ट्रिय वा अन्य खेलमा भाग लिनु परेमा खेलाडीहरुले व्यक्तिगत खर्च गरेर भाग लिएको समेत कतिपय खेलाडीले बताए । राष्ट्रिय खेलाडीको रुपमा ख्याति कमाएकालाई बागलुङ नगरपालिकाले सम्मान र पुरस्कृत भने गर्दै आएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । केही समयअघि नगरपालिकाले क्रिकेट खेलाडी करण केसीसहितका खेलाडी सम्मान र ५० हजारसम्मको पुरस्कार दिएको थियो । त्यस्तै नगर परिषदबाट सुटिङकी ओलम्पिक खेलाडी भगवति केसीलाई मासिक ५ हजार तलब दिने घोषणा समेत गरेको छ ।





