
एसिसी इमर्जिङ एसिया कपमा नेपाल भारतसँग ९ विकेटले पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए ।
साई सुदर्शन ५२ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा नट आउट रहे । त्यस्तै धु्रब जुरेल १२ बलमा १ चौका र २ छक्कासहित २१ रनमा नट आउट रहे । कप्तान रोहित पौडेलले एक विकेट लिए ।
त्यसअघि श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । कप्तान रोहित पौडेलले ८५ बलमा ७ चौकासहित सर्वाधिक ६५ रनको योगदान दिए ।
गुलशन झा ३० बलमा २ चौका र २ छक्कासहित ३८ रनमा क्याच आउट भए । ओपनर कुशल भुर्तेललाई शून्यमा पेभेलिएन फर्किए । आसिफ शेख ७ रनमा आउट भए । देव खनाल १५ रनमा क्याच आउट भए । उनले २१ बलमा ३ चौका प्रहार गरे । भीम सार्की ४, कुशल मल्ल शून्य, सोमपाल १४, पवन सरार्फ ६ रनमा आउट भए ।

भारतका स्पिनर निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर राजवर्धन हंगागेकारले ६ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए ।
हर्षित रानाले ५ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । नेपालले अन्तिम खेल धुबबार युएई ए सँग खेल्नेछ । भारत २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।
पाकिस्तान २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छन् । समूह बी बाट भारत र पाकिस्तान दुबै सेमिफाइनलमा पुगेका छन् ।





