सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पोखरामा दीगो पर्यटन विकास परियोजना सुरु

पोखरामा दीगो पर्यटन विकास परियोजना सुरु

दाताको ताकेतापछि महानगर पनि तात्यो ।


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०८०, शुक्रबार

पोखरा/ एसियाली विकास बैंक(एडीबी)ले गएको फागुनमा पोखरा महानगरपालिकासँग दीगो पर्यटन विकाससम्बन्धी १५ वटा सम्झौतामा हस्ताक्षर ग¥यो । सम्झौता अनुसार एडीबीले क्षेत्रीय सहरी विकास तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत ती परियोजनाहरुमा ७ अर्ब ५० करोड लगानी गर्ने भयो । पोखरा महानगरका मेयर धनराज आचार्यले एडीबीसँगको सम्झौता पोखराको दीगो पर्यटन विकासको लागि महत्वपूर्ण भएकोमात्र बताएनन्, तीन वर्षभित्र सबै परियोजना सम्पन्न गर्ने घोषणा पनि गरे ।

फिर्के खोला करिडोर विकास,केआइसिंह पुलमा सेती खोंच दृष्यावलोकन, बोटानिकल गार्डेन, पञ्चासे पर्यापर्यटन, सराङकोट एडभेञ्जर हिल पार्क, पोखरा प्रवेश उद्यान, लेकसाइड र मुख्य शहरी क्षेत्रको ट्राफिक सुधार,विन्ध्यवासिनी मन्दिर क्षेत्रको सडक विकास,विद्युतीय गाडीको पूर्वाधार विकास, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पर्यटकीय क्षेत्र लेकसाइडसम्म द्रूतमार्ग, फेवाताल अर्गानिक ट्रेल, हरियाली पोखरा अभियान, तालहरु जोड्न गरी साइकल टे«ल निर्माण, बेगनास र रुपाताल तथा बेगनास ताल र फेवाताल जोड्ने उच्च गतिको कनेक्टीभिटीलगायतका परियोजना रहेका थिए । परियोजना निर्माणको प्राविधिक र आर्थिक सहयोग एडीबीको हुने र सहजीकरण पोखरा महागनरले गर्ने सम्झौतामा उल्लेख थियो ।

सम्झौतासँगै एडीबीले काम अगाडि बढायो । योजना निर्माणसहितका सबै काम अगाडि बढेपछि एडीबीले पोखरासँग परियोजनाको सहजीकरणको लागि ताकेता दिन थाल्यो । ताकेतासँगै पोखरा महानगर तात्न बाध्य भयो । संयोग कस्तो भने, पोखराको बीच भागबाट बग्ने फिर्केखोलाले यही बेला बितण्डा मच्चायो । पोखरा ५ र ८ जोड्ने राधाकृष्ण मन्दिर छेउको पुल नै बगाएपछि मेयर धनराज आचार्य आफैं डोजर लिएर त्यहाँ पुगे । लगत्तै उनले फिर्के सीमाङ्कन अभियान सुरु गरे । सीमाङ्कन सुरु गर्दा महानगरका मेयरले भने,‘ दीगो पर्यटन विकास परियोजना सुरु भएको छ । दुई वर्षभित्र सबै परियोजना सक्नुपर्ने छ । अब हामीसँग समय छैन, दिनदिनै काम गर्नुपर्ने बाध्यता छ । विदेशी दातृ निकायले राइट अफ वे क्लियर नभएसम्म लगानी गर्नुहुन्न । त्यसैले पहिलो चरणमा हामीले यो (फिर्के अतिक्रमण ) क्लियर गर्नुछ ।’

उनले समय कम भएकाले बर्खा भनेर बस्ने छुट नभएको पनि बताए । अँधेरी कुनाबाट फेवातालसम्म बग्ने फिर्केखोला बस्ती हुँदै बग्ने खोला हो । अहिले यो मानवीय अतिक्रमणमा परेको छ । फेवातालमा मिसिने खोला प्रदुषित हुँदा त्यसको प्रत्यक्ष असर फेवातालमा परेको छ । दीगो पर्यटन विकास योजना अनुरुप अब फिर्केमा बाह्रै महिना पानी बग्नेछ । हिउँदमा सुक्ने फिर्केमा याम्दीको पानी ल्याएर खसाल्ने, वरपर हरियाली पार्क र साइकल लेन बनाउने योजना अगाडि सारिएको छ । तर, यसको लागि ८ किलोमिटर क्षेत्रमा भएका अवैधानिक संरचना हटाउनु नै पहिलो आवश्यकता भएको मेयर आचार्यले बताएका छन् ।

आफैंले सुरु गरेको सर्वे अभियान अगाडि बढेको र एक हप्ताभित्र सीमाङ्कनको विषय टुंगिने उनले जानकारी दिएका छन् । फिर्के खोलालाई ५ मिटरको मापदण्ड कायम गराउने र अवैध संरचना हटाउन तीन महिनाको समय दिने मेयर आचार्यको मनसाय रहेको छ । हाल फिर्केको मापदण्ड १० मिटर कायम गरिएको छ । मेयर आचार्यले फिर्के व्यापक अतिक्रमणमा परेको पनि स्वीकारेका छन् । केही समय अघि फिर्केको अनुगमनको क्रममा झाडी सफा गर्दा सेफ्टी ट्यांकी नै फिर्केमा मिसाइएको पाइएको र सम्बन्धित व्यक्तिलाई १५ दिने सूचना दिएर बन्द गर्न लगाएको पनि उनले सुनाए । ‘पहिलो चरणमा हामी खोला घर छु्ट्याउँछौं । कति छन्, त्यो पत्ता लगाएर जान्छौं । मापदण्ड पनि निर्धारण गर्नुपर्नेछ,’ मेयरले भने, ‘मापदण्ड क्लियर गर्ने काम अँधेरीकुनासम्म हुन्छ । त्यहाँ सरकारी, अदालत, प्रहरी वा व्यक्ति जसले अतिक्रमण गरेको भए पनि हामी रोकिने छैनौं ।’

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->