सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

चार्टर्ड विमानले नै अगस्टबाट पोखरादेखि अन्तर्राष्ट्रिय उडान गर्ने

चार्टर्ड विमानले नै अगस्टबाट पोखरादेखि अन्तर्राष्ट्रिय उडान गर्ने


  • Dhorpatan News
  • साउन ६ २०८०, शनिबार

पोखरा/ पोखरा गत महिनाको ८ र ९ गते चिनियाँ पर्व ‘ड्रागन बोट फेस्टिभल’ सम्पन्न भयो । चीनबाहिर दक्षिण एसियामा नै पहिलोपटक भएको यो पर्वका लागि चीनबाट नै खेलाडी देखि बोट समेत ल्याइएको छ । खेलाडीहरु बोकेर असार ६ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दु सहरबाट सिचुवान एयरलाइन्सको विमान पोखरामा अवतरण ग¥यो ।

चार्टर्ड नै सही, सञ्चालनमा आएको ६ महिनापछि पोखरा विमानस्थलमा अवतरण गर्ने पहिलो र एकमात्र अन्तर्राष्ट्रिय विमान सिचुवान नै बन्यो ।
खेलाडी छाडेर काठमाण्डौ गएको यो विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने नियमित उडान गर्छ । यही विमानले नै पोखरादेखि चीनमा सिधा उडान भर्ने प्रतिबद्धता जनाएको छ ।

‘अहिले यात्रु कम रहेको भन्दै आगामी अगस्टबाट सिचुवानले नियमित उडान गर्छु भनेको छ । अगस्टबाट पर्यटकीय गतिविधि बढ्ने र त्यसपछि उडान नियमित गर्ने प्रतिबद्धता जनाएको हो,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशकुमार अधिकारीले भने ।

सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न विमान कम्पनीहरुले इच्छा देखाएका छन । चिनियाँ लगानीमा बनेको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न पनि चिनियाँ कम्पनीले नै चासो दिएका हुन । चीनबाट नेपालमा उडान गर्दै आइरहेका चिनियाँ एयरलाइन्स कम्पनीहरूले पोखराबाट पनि उडान भर्ने तयारी गरेका छन ।

सिचुवान, एयर चाइनालगायत कम्पनीले अहिले विमानस्थलबाट नियमित उडानका लागि चासो देखाएको उनले बताए ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानको लागि चाइनिज एयरलाइन्स कम्पनीहरू सिचुवान, एयर चाइनाले चासो राखिरहेका छन्,’, अधिकारीले भने, ‘उनीहरूको आकाशबाट पोखरा उडान गर्ने विषयमा चासो देखिएका छन् ।’

यसअघि, पोखराबाट कतार एयरवेजले अन्तर्राष्ट्रिय उडान गर्न ५/६ पटक पत्राचार गर्दा पनि सम्बन्धित निकायले जवाफ नदिएको नेपालका लागि कतारी राजदूतले बताएका थिए ।
तर, त्यो कुरा सत्य नभएको विमानस्थल सञ्चालन गर्दै आएको क्यानका अधिकारीहरू बताउँछन् । त्यसबाहेक अन्य कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि कुनै पनि कम्पनीले चासो नदिएको सचिव अधिकारीले बताए ।

अन्य विदेशी कम्पनीले भने पोखराबाट उडानको लागि चासो देखाएका छैनन् ।
२०७३ वैशाख १ मा शिलान्यास गरिएको विमानस्थल करिब सात वर्षपछि सञ्चालनमा आएको हो । सन् २०२३ को जनवरी १ तारिखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थलको तामझामका साथ उट्घाटन गरेका थिए । विमानस्थल सञ्चालनमा आएको ६ महिना पुगिसक्दा पनि अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले भने अनौपचारिक रुपमा धेरैले चासो दिएको तर औपचारिक रुपमा नियमित उडानको लागि ठोस प्रस्ताव कतैबाट नआएको बताए ।

‘सिचुवानले अनौपचारिक रुपमा विन्टर सेडुलबाट उडान गर्ने भनेको हो । तर, सिचुवानले चार्टर उडानको रिपोर्ट हालसम्म पेस गरेको छैन,’ भुलले भने, ‘एयर चाइना, एयर अरेबिया, जजिराले पनि पोखरामा भिजिट गरेको छ । तर, औपचारिक रुपमा उडानको लागि कुनै पनि कम्पनीले अप्लाइ गरेको छैनन् ।’
पोखरा विमानस्थल हाल आन्तरिक उडानमै सीमित भएको छ । अन्तर्राष्ट्रिय उडान नहुँदा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्रै सीमित भएको हो ।
पोखराबाट अन्तरप्रदेशीय उडान पनि नियमित हुन सकेको छैन । तीन कम्पनीले अन्तरप्रदेशीय उडान गरे पनि हाल बुद्ध एयरले मात्र नियमति रुपमा उडान गर्दै आइरहेको विमानस्थल प्रमुख गौतमले बताए ।

हाल बुद्ध एयरले पोखरालाई ‘दोस्रो हब’ बनाएर पोखराबाट भैरहवा, चितवन र नेपालगञ्ज उडान गर्दै आइरहेको छ । यसअघि, बुद्धले पोरखाबाट चन्द्रगढी, विराटनगर, भरतपुर, धनगढी, जनकपुर पनि उडान सुरु गरेका थियो । तर, यात्रु कम हुँदा उक्त क्षेत्रको पोखराबाट उडान रोकेको हो । छिट्टै पोखराबाट उक्त क्षेत्रमा उडान गर्ने तयारी गरेको बुद्ध एयरले जनाएको छ ।

यसअघि, गुण एयर र यती एयरलाइन्सले पनि अन्तरप्रदेशीय उडान सुरु गरेका थिए । तर, गुण एयर वित्तीय संकटमा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्द लगाएको थियो ।

यस्तै, यती एयरलाइन्सले भने उडान सुरु गरेको तर पछि आफै रोकेको विमानस्थलका प्रमुख विक्रमराज गौतमले बताए ।
चीनको एक्जिम बैंकबाट २३ अर्ब ऋण लिएर विमानस्थल निर्माण गरिएको हो । एक्जिम बैंकले ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->