पर्वत/ गण्डकी प्रदेशमा हालसम्म ७५ प्रतिशत रोपाइँ पूरा भएको छ ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार असार १५ गतेसम्म १८ प्रतिशत मात्रै रोपार्इं भएको भए पनि वर्षाको क्रम बढेपछि असार १५ यता रोपाईं बढेको हो ।
अहिलेसम्म सबैभन्दा बढी कास्की र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सबैभन्दा बढी ९० प्रतिशत रोपाईं भएको छ । यस वर्ष कास्कीमा १७ हजार दुई सय ५३ हेक्टर क्षेत्रफलमा रोपाईं हुने अनुमान गरिएकोमा १५ हजार पाँच सय २७ हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ । यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ हजार आठ १६ हेक्टर क्षेत्रफलमा रोपाईं हुने अनुमान गरिएकोमा १६ हजार नौ सय ३४ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ ।
गत वर्ष ११ हजार दुई सय ६६ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको गोरखामा अहिलेसम्म छ हजार सात सय ५९ हेक्टर अर्थात् ६० प्रतिशत खेतमा रोपाईं भएको छ । लमजुङमा १३ हजार आठ सय तीन हेक्टर क्षेत्रफलमा रोपाईं हुनेमा नौ हजार तीन सय एक हेक्टर अर्थात् ६५ प्रतिशत क्षेत्रफलमा रोपाईं भएको छ । तनहुँमा छ हजार दुई सय १७ हेक्टर अर्थात् ७३ प्रतिशत खेतमा रोपाईं पूरा भएको छ । तनहुँमा आठ हजार पाँच सय १७ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिएको छ ।
यस्तै पर्वतमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाईं पूरा भएको छ । सात हजार सात सय ८४ हेक्टर क्षेत्रफलमा रोपाईं हुने गरेकोमा अहिलेसम्म पाँच हजार ५९ हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ । स्याङ्जा र म्याग्दीमा पनि ६५ प्रतिशत क्षेत्रफलमा रोपाईं भएको छ । स्याङ्जामा १५ हजार एक सय ४७ हेक्टरमध्ये नौ हजार आठ सय ४५ तथा म्याग्दीको तीन हजार आठ सय ८४ मध्ये दुई हजार पाँच सय २४ हेक्टर क्षेत्रफलमा रोपाईं भएको महानिर्देशक रेग्मीले बताए ।
आसपासका जिल्लामा रोपाईं कम भएको भए पनि बागलुङ जिल्लामा भने ८० प्रतिशत रोपाईं पूरा भएको छ । पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिएको उक्त जिल्लामा चार हजार सात सय छ हेक्टर खेतमा रोपार्इं भएको छ ।
निर्देशनालयका अनुसार ११ जिल्लाहरू रहेको गण्डकी प्रदेशका नौ वटा जिल्लाहरूमा मात्रै धान खेती हुने गरेको छ । हिमाल पारीको जिल्लाका रूपमा चिनिने मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन । प्रदेशमा उत्पादनयोग्य भूमि ४ लाख ७९ हजार ६ सय १७ हेक्टर रहेको भए पनि गत वर्ष १ लाख ४ हजार ६ सय २३ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यो वर्ष ९७ हजार ८ सय ५१ हेक्टर क्षेत्रफलमा धान रोप्ने अनुमान छ ।
गण्डकीमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आँपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यु.एस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठोबूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठोबूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायतका जातका धान लगाउने गरिएको छ ।
गोरखाको छेपेटार, भुसुन्डेफाँट, पालुङटार, ज्यादुखोला, आरुघाट, घ्यालचोक, घ्याम्पे लमजुङको हर्राबोट धमिलीकुवा, सातविसे, स्याउली, भोर्लेटार, करापुटार, सोतीपसल, मझुवाफाँट, उदीपुर, तनहुँको भानु, घिरिङ, ब्यास, म्याग्दे, भिमाद, बन्दीपुर कास्कीको मकैखोला, हाडीखोला, ठूलीबेसी, टाकान्जा, पामे, आर्वा, लेखनाथ, लाहाचोक, घाचोक, आङबाङ, झोवाङ, सेरा, सेराचौर, सल्यानलगायतका ठाउँ धान उत्पादनका मुख्य ठाउँहरू हुन् ।
यस्तै, पर्वतको फलेवास नगरपालिका, पैयुँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिका स्याङ्जाको चापाकोट नगरपालिका, पुतलीबजार नगरपालिका, आँधीखोला गाउँपालिका, ल्याङल्याङ नगरपालिका, वालिङ नगरपालिका म्याग्दीको भगवती, पिप्ले, घतान, पिपलबोट, रणवाङ, छिसवाङ, घार, ताकम, बरंजा, सिमलचौर, धारापानी, सिम बागलुङको जैमिनी, बागलुङ, बरेङ, गल्कोट, बडिगार्ड र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र बुलिङटार गाउँपालिकामा धानको उत्पादन धेरै हुने गरेको छ ।
विविध कारणले ४÷५ प्रतिशत खेत हरेक वर्षजसो बाँझो रहने गरेको छ । गण्डकीमा करिब ३ लाख मेट्रिक टन धान फल्ने गरेको छ । प्रदेशमा चामलका लागि बाहिरी जिल्लाकै भर भए पनि पछिल्लो समय धान खेतीमा किसान आकर्षित भइरहेको रेग्मी बताउँछन् ।





